धादिङमा एमाले र गठबन्धनबीच प्रतिस्पर्धा

  • त्रिशूली प्रवाह
  • १५ बैशाख २०७९, बिहीबार १२:०३

धादिङ, धादिङ जिल्लामा नेकपा (एमाले) र सत्तारूढ गठबन्धनको उम्मेदवारी परेको छ । जिल्लाका दुई नगरपालिका र ११ गाउँपालिकामा नेपाली काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले गठबन्धन गरेर संयुक्त उम्मेदवार उठाएका छन् । एमालेले भने एक्लै उम्मेदवारी दिएको छ ।

गठबन्धनमा रहेको काङ्ग्रेसले आठ पालिकामा प्रमुख र चार पालिकामा उपप्रमुख, नेकपा माओवादी केन्द्रले तीन पालिकामा प्रमुख र पाँच पालिकामा उपप्रमुख, समाजवादीले दुई पालिकामा प्रमुख र चार पालिकामा उपप्रमुखमा उम्मेदवारी दर्ता गरेका छन् । काङ्ग्रेसले प्रमुख पद पाएको नीलकण्ठ नगरपालिकामा भीमप्रसाद ढुङ्गाना, खनियाँवास गाउँपालिकाको अध्यक्षमा रणबहादुर तामाङलाई उम्मेदवार बनाएको छ । गंगा-जमुनामा भक्तबहादुर लामा, नेत्रावती डबजोङमा मेघनाथ रिजाल, त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्षमा राजु उप्रेती, ज्वालामुखी गाउँपालिका अध्यक्षमा यमनाथ दनै, सिद्धलेक गाउँपालिका अध्यक्षमा परशुराम खतिवडा, थाक्रे गाउँपालिका अध्यक्षमा रामप्रसाद बिडारीलाई काङ्ग्रेसले उम्मेदवार बनाएको छ । माओवादी केन्द्रले अध्यक्ष पद पाएको रुविभ्याली गाउँपालिकामा रामसिंह तामाङ, बेनीघाट रोराङमा कृष्णबहादुर थपलिया र गजुरीमा गणेशलाल श्रेष्ठले मनोनयन दर्ता गरेका छन् । भागबन्डामा माओवादीले उपप्रमुख पद पाएको नीलकण्ठ नगरपालिकामा दीपक विश्वकर्मा, नेत्रावती डबजोङमा उर्मिला गुरुङ तामाङ, त्रिपुरासुन्दरीमा देवराज धरेल, खनियाँवासमा सेतेमान तामाङ र थाक्रेमा यन्त्रबहादुर थापाले मनोनयन दर्ता गराएका छन् ।

यस्तै, गठबन्धन गर्दा भागबन्डामा नपरेका पालिकामा पनि काङ्ग्रेस, माओवादी र समाजवादीले उम्मेदवारी दर्ता गराएका छन् । वडा तहसम्म नै तालमेल गर्ने भनेर पालिकाको भागबन्डा मिलाइए पनि मनोनयन दर्ता गर्ने बेलासम्म वडा तहमा सहमति नजुटेपछि सबै पदमा उम्मेदवारी दिइएको माओवादी धादिङका अध्यक्ष मनराज भण्डारीले बताए । ‘अहिलेलाई मनोनयन दर्ता गरेका छौँ, पछि वडा तहको सहमति भयो भने मनोनयन फिर्ता लिएर पनि निर्वाचनमा सहभागी हुन सक्छौँ,’ अध्यक्ष भण्डारीले त्रिशूली प्रवाह साप्ताहिकलाई मंगलबार भने । गठबन्धनकै तर्फबाट समाजवादीले धुनीबेँसी नगरपालिकाको प्रमुखमा बालकृष्ण आचार्य र गल्छी गाउँपालिकाको अध्यक्षमा कृष्णहरि श्रेष्ठलाई उम्मेदवार बनाएको छ । समाजवादीले गठबन्धनमा उपाध्यक्ष भागमा परेको ज्वालामुखी गाउँपालिकामा धर्मबहादुर अर्याल, बेनीघाट-रोराङ गाउँपालिकामा टापबहादुर श्रेष्ठ, सिद्धलेक गाउँपालिकामा सबिता अर्याल र गंगा-जमुना गाउँपालिकामा नारायण कार्कीलाई उम्मेदवार बनाएको छ ।

समाजवादीले गठबन्धनका तर्फबाट उपाध्यक्षको उम्मेदवार बनाएका चारैजना नयाँ अनुहार हुन् । प्रदेशस्तरीय पाँचदलीय गठबन्धनको निर्णयबमोजिम नै नगरपालिकाको मेयर, उपमेयर र गाउँपालिका अध्यक्ष-उपाध्यक्षको टुङ्गो लगाएर त्यहीअनुसार मनोनयन दर्ता गराइएको काङ्ग्रेसका जिल्ला सभापति रामनाथ अधिकारीले बताए । नेकपा (एमाले)ले नीलकण्ठ नगरपालिकाको मेयरमा गंगादेवी श्रेष्ठ र उपमेयरमा फन्द्रा तामाङलाई उम्मेदवार बनाएको छ । एमालेले धुनीबेँसी नगरपालिकाको मेयरमा रामराजा पाण्डे र उपमेयरमा मन्दिरा श्रेष्ठ, अध्यक्ष र उपाध्यक्षमा क्रमशः थाक्रेमा कृष्ण पन्त र अम्बिका रूपाखेती, गल्छीमा केदार खतिवडा र राधा तिमल्सिना, गजुरीमा राजेन्द्रविक्रम बस्नेत र अम्बिका खतिवडा, बेनीघाट-रोराङमा देवप्रकाश त्रिपाठी र हिरादेवी रेग्मी, सिद्धलेकमा प्रेमनाथ सिलवाल र कमला शर्मालाई उम्मेदवार बनाएको छ । त्यस्तै, ज्वालामुखीमा अध्यक्षमा हरिराम लोहनी र उपाध्यक्षमा चन्द्रकुमारी अधिकारी, त्रिपुरासुन्दरीमा अध्यक्षमा उमेश थापा र उपाध्यक्षमा संगीता कुमाल, नेत्रावती डबजोङमा अध्यक्षमा सुवर्ण रिमाल र उपाध्यक्षमा बिनाकुमारी मम्बा, गंगा–जमुनामा अध्यक्षमा भक्तबहादुर लामिछाने र उपाध्यक्षमा एन्जिला तामाङ, खनियाँवासमा अध्यक्षमा इमन तामाङ र उपाध्यक्षमा खुर्पीकुमारी तामाङ तथा रुविभ्यालीमा अध्यक्षमा प्रेम तामाङ र उपाध्यक्षमा मञ्जु तामाङलाई उम्मेदवार बनाएको छ ।

एमालेको पकड मानिएको जिल्लाको रूपमा परिचित धादिङमा यसअघि भएको स्थानीय तह निर्वाचनमा एमाले एक्लैले जिल्ला समन्वय समिति जितेको थियो । एमालेले एक्लैले ६ पालिका अध्यक्ष-प्रमुख र उपाध्यक्ष-उपप्रमुख दुई नगरपालिकामा मेयर र एक नगरपालिकामा उपमेयर जितेको थियो । यसैगरी, काङ्ग्रेसले एक पालिकामा अध्यक्ष-उपाध्यक्ष, दुई पालिकामा मेयर, दुई पालिकामा उपाध्यक्ष जितेको थियो । त्यसैगरी, माओवादी केन्द्रले एक पालिकामा अध्यक्ष र एक पालिकामा उपाध्यक्ष जितेको थियो । राप्रपाले एक पालिका अध्यक्ष र उपाध्यक्ष जितेको थियो । अहिले एमाले विभाजन भई एकीकृत भई एकीकृत समाजवादी बनेको छ । जिल्लामा एकछत्र राज गरेको एमालेलाई पुरानो साख जोगाउन चुनौती देखिन्छ ।