नुवाकोट र रसुवाका पालिकाले भोलि बजेट ल्याउने

  • त्रिशूली प्रवाह
  • ९ असार २०७९, बिहीबार १३:०६

धादिङ नीलकण्ठको सवा अर्बको बजेट सार्वजनिक

धादिङबेँसी, धादिङ जिल्लाको १३ वटा पालिकामध्ये सदरमुकाममा रहेको नीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष ०७९÷८० का लागि एक अर्ब २२ करोड ९१ लाख २३ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । जिल्लाको १३ वटा पालिकामध्ये बजेट सार्वजनिक गर्ने नीलकण्ठ नगरपालिका पहिलो पालिका बनेको छ ।
मंगलबार नगरसभामा उपप्रमुख दीपक विश्वकर्माले चालू खर्चतर्फ ७६ करोड ७९ लाख ६ हजार तथा पुँजीगत खर्चतर्फ ४६ करोड १२ लाख १७ हजार विनियोजन गरेको जानकारी दिए । नगरसभाले आगामी आर्थिक वर्षका लागि कृषि, स्थानीय उत्पादन, उद्योग वाणिज्य, संस्कृति तथा पर्यटन, सहकारी, सामाजिक विकास, स्वास्थ्य, शिक्षा, युवा तथा खेलकुद, खानेपानी तथा सरसफाइ, लैङ्गिक समानता तथा सामाजिक
समावेशीकरण, पूर्वाधार विकास, वन वातावरण तथा विपत् व्यवस्थापन, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रलगायतका शीर्षकमा बजेट विनियोजन गरेको छ । कृषिमा सीप, प्रविधि र पुँजीसहितको आत्मनिर्भर, किसानका लागि स्थानीय सरकार भन्ने मूल मर्मका साथ पाँच करोड २९ लाख बजेट विनियोजन गरिएको छ । कृषि क्षेत्रलाई यान्त्रिकीकरण तथा विकाससहित उत्पादनमा आधारित अनुदानको कार्यक्रम ल्याइएको उपमेयर विश्वकर्माले बताए । समग्र उद्योग तथा लघु विकासका लागि एक करोड ४७ लाख, संस्कृति तथा पर्यटन प्रवद्र्धनका लागि एक करोड ३० लाख, समग्र सहकारी विकास कार्यक्रमका लागि ३० लाख, स्वास्थ्य क्षेत्रमा सात करोड ६४ लाख, शिक्षा क्षेत्रको समग्र विकासका लागि सङ्घीय सरकार र प्रदेश सरकारबाट प्राप्त कार्यक्रममा नगरपालिकाले पाँच करोड ५० लाख थप गरी ३९ करोड ४३ लाख विनियोजन गरेको छ ।
दक्ष प्राविधिक जनशक्ति उत्पादनका लागि नगरपालिकामा बहुप्राविधिक शिक्षालय स्थापनाका लागि एक करोड ५० लाख विनियोजन गरिएको छ । दलित तथा विपन्न बालबालिकाको उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्न २५ लाख रकम विनियोजन गरेको नगर उपप्रमुख विश्वकर्माले बताए । युवा तथा खेलकुदका लागि २५ लाख, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणअन्तर्गत वर्ग उत्थानका लागि ५६ लाख, दलित समुदाय उत्थान कार्यक्रमका लागि २६ लाख, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएकाका लागि २४ लाख विनियोजन गरेको छ । पूर्वाधार विकासअन्तर्गत सबै वडामा कालोपत्रे सडक पु¥याउन ३० करोड ३७ लाख, सडक मर्मतसम्भार कोष सुरुका लागि ६० लाख, थोपल खोला करिडोरका लागि एक करोड, नवप्रवद्र्धनात्मक साझेदारी कोषमार्फत दुई करोड १५ लाख, नगर चक्रपथ स्तरोन्नति तथा सुदृढीकरणका लागि एक करोड, सडक पुल भवन तथा सिँचाइका लागि २० करोड ९६ लाख, अन्य सरकार तथा संस्थासँग समपूरक कार्यक्रम सञ्चालनका लागि चार करोड ६८ लाख, कार्यालयको पूर्वाधार दुई करोडसमेत पूर्वाधार विकासतर्फ २७ करोड ६४ लाख विनियोजन गरेको उपप्रमुख विश्वकर्माले बताए ।
नीलकण्ठ नगरपालिकालाई देशकै नमुना पूर्वाधारयुक्त पर्यटकीय सहरको रूपमा विकास गर्ने दीर्घकालीन सोचले अघि बढाइएको मेयर भीमप्रसाद ढुङ्गानाले बताए । ‘एउटा विधामा उत्कृष्ट भएर पुग्दैन, सबै विधामा नीलकण्ठ नगर उत्कृष्ट बनाउने योजनामा छौँ,’ उनले भने । सबै वडामा कालोपत्रे गर्ने, एक वडा एक गौरवको योजना सञ्चालन गर्ने, फोहोर व्यवस्थापन गर्ने, ४६ करोडको खानेपानी आयोजना पूरा गरी तिर्खामुक्त नगर बनाउने ढुङ्गानाले बताए ।

स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई पदबहाली भएसँगै बजेट निर्माणको चटारो थपिएको छ । अधिकांश स्थानीय तहमा नयाँ अनुहार आएका कारण बजेट निर्माण प्रक्रियामा केही जटिलता थपिएको छ । अघिल्लो कार्यकालको पाँच वर्षमा बजेट निर्माण र कार्यान्वयनको अनुभव बटुलिसकेका नवनिर्वाचित जनप्रतिनिधिले भने पुराना अधुरा योजना निर्माणमा बढी ध्यान दिन थालेका छन् । तर, नयाँ अनुहारले भने नयाँ कामको थालनीका लागि बजेट निर्माण गर्नेतर्फ ध्यान दिएका छन् । विगतका जनप्रतिनिधिले थालेका विकास आयोजनामा बजेट विनियोजनमा नयाँ आएका जनप्रतिनिधिले रुचि देखाएका छैनन् । पुरानै योजनालाई प्राथमिकता दिँदा जस आफूले लिन नपाउने भएका कारणले पनि नयाँ जनप्रतिनिधि पुराना योजना पूरा गर्नभन्दा नयाँ योजना ल्याउन तल्लीन देखिन्छन् ।

देशभरिका सात सय ५३ स्थानीय तहमध्ये सात सय ५२ स्थानीय तहमा भएको निर्वाचनबाट ७१ जना पुराना पालिका प्रमुख निर्वाचित भएका छन् भने बाँकी सबै पालिकामा नयाँ जनप्रतिनिधि निर्वाचित भएका छन् । विद्यमान कानुनअनुसार सङ्घीय सरकारले जेठ १५ गते र प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गरिसकेका छन् । बजेट प्रस्तुत गर्ने अब पालो स्थानीय तहको रहेको छ । स्थानीय तहले असार १० गतेभित्र आ-आफ्नो सभामा बजेट पेस गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । नुवाकोटको विदुर नगरपालिका, बेलकोटगढी नगरपालिकासहित १२ वटा पालिका कानुनले तोकिएअनुसारको बजेट निर्माण प्रक्रियामा जुटिरहेका छन् । पालिकाले विद्यमान कानुनले तोकेअनुसार बजेट निर्माणको चरण पार गर्दै भोलि शुक्रबार बजेट ल्याउने तयारीमा अहरोत्र खटिरहेका छन् । नुवाकोटको बेलकोटगढी, विदुर नगरपालिकासहित तारकेश्वर, किस्पाङ, ककनी, शिवपुरी, दुप्चेश्वर, तादीमा नयाँ जनप्रतिनिधि निर्वाचित भएका छन् भने लिखु, सूर्यगढी, म्यागङ, पञ्चकन्या गाउँपालिकाका प्रमुख पदमा दोहोरिएर निर्वाचित भएका छन् । दोहोरिएर निर्वाचित भएका पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ (रमेश)ले बजेट निर्माणमा खासै समस्या नभएको, सरोकारवाला पक्षसँग चरणबद्ध छलफलबाट प्राप्त सुझावलाई समावेश गरेर कानुनले तोकेकै समयभित्र बजेट सार्वजनिक गर्ने बताए । उनले भने, ‘अघिल्लो कार्यकालको केही महत्वपूर्ण योजना पूरा गर्नुपर्नेछ । अघिल्लोपटकको अनुभवलाई यसपटक पूरै सदुपयोग गर्ने योजना बनाएको छु ।’ नुवाकोट जिल्लाको सूर्यगढी गाउँपालिकामा प्रमुख, उपप्रमुख पुरानै भएकाले आगामी वर्षका लागि बजेट निर्माणमा समस्या नपरेको जनप्रतिनिधिले बताएका छन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले डेढ साताअघि नै सबै स्थानीय तहका प्रमुख-उपप्रमुखलाई बागमती प्रदेश सरकारले तालिम प्रदान गरेर असार १० गतेभित्र आ–आफ्नो सभामा आगामी वर्षको नीति, कार्यक्रम र बजेट पेस गर्न आग्रह गरिसकेको छ । मन्त्रालयले दिएको सीमाभित्रै नगरसभामा बजेट ल्याउने गरी विषयगत समितिले काम गरिरहेको विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटीले जानकारी दिइन् । विदुर नगरपालिकामा काङ्ग्रेसको मेयर र पाँच वडाध्यक्ष, नेकपा माओवादी केन्द्रको उपमेयरसहित तीन वडाध्यक्ष र नेकपा एमालेको पाँच वडाध्यक्षसहित नगरपालिकाको बोर्ड सदस्य आठजना रहेको छ । तीनवटा दल नमिली विदुर नगरपालिकामा बजेट, नीति तथा कार्यक्रम निर्माण र पारित हुने अवस्था रहेको छैन । तीन दलकै जनप्रतिनिधिको सहमतिमा बजेट ल्याउने तयारी गरिरहेको जानकारी वडा नं. १ का वडाध्यक्ष लेनिन रञ्जितले दिए ।

बेलकोटगढी नगरपालिका र तारकेश्वर गाउँपालिकाका जनप्रतिनिधि कानुनले तोकेअनुसारको बजेट निर्माण प्रक्रियामा सक्रिय भइरहेका छन् । तारकेश्वर गाउँपालिकाका प्रमुख शिव अधिकारीले बजेट बनाउने कुरा आमनागरिकका मागसँग जोडिने भएकोले बजेट निर्माणको प्रक्रिया ज्यादै महत्वपूर्ण र गाह्रो काम भएको बताए । उनले भने, ‘बजेट निर्माणका लागि सम्बन्धित विषयविज्ञसँग छलफल गर्ने, वडा तहबाट आएका योजनालाई छनोट गर्ने काम गरिरहेका छौँ ।’ नुवाकोटको सूर्यगढी, तारकेश्वर, बेलकोटगढी र लिखु पालिकाले प्रमुख प्रशासकीय भवन निर्माण गर्न पहिलो कार्यकालका जनप्रतिनिधिले सकेनन् । यी चारवटा पालिकाले आगामी वर्षको बजेटमा प्रमुख प्रशासकीय भवनसहित वडा कार्यालयको भवन निर्माणलाई प्राथमिकतामा राख्ने गरी बजेट तयारी गरिरहेको लिखु गाउँपालिकाको अध्यक्ष ध्रुव श्रेष्ठले बताए । भौतिक पूर्वाधारका साथ-साथै कृषिलाई पहिलो प्राथमिकतामा राखेको उनले बताए । जिल्लाको कृषि उत्पादनको प्रमुख क्षेत्र लिखु पालिकामा रहेको छ । पालिकाले कृषिलाई पहिलो भूउपयोग नियमावली, २०७९ को अवधारणामा रही कृषि प्रोफाइलिङमा आधारित कृषि सुदृढीकरण कार्यक्रमलाई मूलभूत कृषि योजनाको रूपमा प्रस्ताव गरी कृषिगत जमिनको संरक्षण र उपभोगलाई प्रोत्साहन गरिने नीति लिएको अध्यक्ष श्रेष्ठले बताए । भू-उपयोग नीति निर्माण गरी जग्गाको वर्गीकरणका साथै कृषि उत्पादनको पकेट क्षेत्र निर्धारण गर्ने गरी बजेट बनाउन छलफल गरिएकोसमेत उनले बताए ।

तादी गाउँपालिकाले जनताको सुझावका आधारमा बजेट ल्याउने भएको छ । बजेटलाई जनमुखी बनाउन सरोकारवाला पक्षसँग छलफल गरिसकेको छ । जनस्तरबाट आएका सुझावलाई मुख्य आधार बनाएर बजेट विनियोजन गर्ने गाउँपालिकाको भनाइ छ । जनताको इच्छा, आकाङ्क्षा र आवश्यकतालाई समेटेर कार्यक्रम सञ्चालन गर्ने लक्ष्यका साथ सबै वर्ग, क्षेत्र र समुदायको सुझाव सङ्कलन गरेर योजनाको बाँडफाँड गर्ने गाउँपालिकाले जनाएको छ । वडा कार्यालयले टोलस्तरमा योजनाको छनोट गरिरहेको भए पनि गाउँपालिकाले क्रियाशील राजनीतिक दल, शिक्षक, कर्मचारी, उद्योगी, व्यवसायी, बुद्धिजीवी विभिन्न क्षेत्रका अगुवासँग चरण-चरणमा छलफल तथा परामर्श लिएर यस वर्षको कार्यक्रम सञ्चालन गरिने गाउँपालिका अध्यक्ष सन्तमान तामाङले जानकारी दिए । साथै, गाउँपालिकाको बृहत्तर विकासका लागि यहाँका सबै क्षेत्रको गहन रूपमा अध्यापन गरेर नमुनायोग्य काम गर्ने उद्देश्य रहेको अध्यक्ष तामाङको भनाइ छ । अध्यक्ष तामाङले भने, ‘अहिले हामी कसरी हाम्रो कामलाई अझ जनमुखी बनाउन सकिन्छ भन्ने कोणबाट काम गरिरहेका छौँ । निर्वाचनमा म एउटा पार्टीको उम्मेदवारका रूपमा उभिए पनि जितेर आएपछि म साझा मान्छे हो । सबै पक्षको भावना समेटेर लैजाने गरी योजना सञ्चालन गर्ने तयारीमा छौँ । यहाँका सबै पक्षसँग छलफल गरिसकेका छौँ । उनीहरूको सल्लाह, सुझाव र उत्प्रेरणाअनुसार योजना अघि बढ्छन् ।’

जनताले आफूलाई दोस्रोपटक पनि सेवा गर्ने अवसर दिएकाले जनताका इच्छाविपरीत कुनै पनि काम नगर्ने म्यागङ गाउँपालिकाका अध्यक्ष आशा तामाङले प्रतिबद्धता व्यक्त गरे । भूगोल र माटो सुहाउँदो योजनाको सञ्चालन गरेर नमुना गाउँपालिका बनाउने अभिभारा आफ्नो काँधमा रहेको उनको भनाइ छ । म्यागङ समृद्ध बनाउने अभिभारा जनताले मेरो काँधमा सुम्पिएका छन् । मैले उनीहरूको भावना कसरी समेट्न सकिन्छ भन्नेमा गाउँपालिकाको पूर्ण रूपमा ध्यान गएको छ । यहाँको स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, सडक विस्तार, भौतिक निर्माणलगायतका काम तीव्र गतिमा भइरहेका छन्अ – ध्यक्ष तामाङले भने ।

त्यसैगरी, रसुवाका पाँचवटै पालिका कानुनले तोकेकै समावधिमा बजेट ल्याउने तयारीमा जुटिरहेका छन् । तथ्यमा आधारित योजना तर्जुमाको सिद्धान्तलाई आत्मासात् गर्दै पालिकाले आफ्नो क्षेत्रमा पर्ने भूगोल, समाज र अर्थतन्त्रलाई सूक्ष्म पहिचान र दस्ताबेजीकरण गर्ने, बृहत् वडागत प्रोफाइलिङको थालनी गर्ने उत्तरगया गाउँपालिकाको अध्यक्ष माधव अर्यालले बताए । पालिकाभित्रको जनताको जीवनस्तर उकास्न कृषि, पशुपालन जडीबुटी, पर्यटन र फलफूल खेतीको विस्तारमा सङ्घीय र प्रदेश केन्द्रीय बजेट समावेश गर्ने गरी बजेट बनाइरहेको उनले बताए ।