धादिङमा अघोषित लोडसेडिङ

  • त्रिशूली प्रवाह
  • २३ असार २०७९, बिहीबार १५:२७

धादिङवेंशी, सरकारले भारतलाई अर्बौंको विद्युत् बिक्री गरेको समाचार बाहिर आईरहेको भएपनि धादिङ जिल्लाबासीले भने अघोषित लोडसेडिङ बेहोरीरहेका छन् । जिल्लाका अधिकांश स्थानमा अहिले विद्युत्मा नियमितता छैन । छिनमै बिजुली बल्छ छिनमै काटिन्छ । दिनको आधा समय त उपभोक्ताले बिजुली प्रयोग गर्नै पाउँदैनन् ।

अनियमित तरिकाले बिजुली काटिंदा सदरमुकाम र आसपासका ब्यवसायी बढी मारमा परेका छन् । कपडा उद्योग, होटल ब्यवसाय र पोल्ट्री ब्यवसायी समस्यामा छन् । ‘उखरमौलो गर्मी छ, फ्रिज चलाउन नपाए पकाउने तयारीमा राखिएको सबै सामान बिग्रिएर जान्छ’ होटल ब्यवसायी मुना गोतामे भन्छिन्–‘विद्युत् प्राधिकरणको असावधानीले दैनिक घाटा ब्यहोर्नुपरेको छ ।’ महिनांैदेखि प्रायः सबै शनिबार सूचना नै जारी गरेर प्राधिकरण दिनभरी विद्युत् नआउने जानकारी गराउने गरेको छ । त्यसले पनि उपभोक्ता दिक्क भईसकेका छन् । नेपाल विद्युत् प्राधिकरण धादिङ वितरण केन्द्रले गत शनिबार विद्युत् आपूर्ति बन्द हुने सम्बन्धी जारी गरेको सूचना आफ्नो फेसबुक वालमा पोष्ट गर्दै पत्रकार मनिष दुवाडी ब्यङ्ग्यात्मक शैलीमा लेख्छन् – ‘धादिङमा अब यसरी पढ्दा सजिलो हुने भो ! आईतबार, सोमबार, मंगलबार, बुधबार, बिहिबार अनि ‘विद्युत् प्राधिकरणबार !’ सोलार, इन्भर्टर, लाईटलगायतका सामान बिक्रेताको सेटिङमा प्राविधकरणले अनेकन बहाना बनाउँदै विद्युत् कटौती गरेको टिप्पणी पनि सामाजिक सञ्जालमा छरपष्ट आईरहेका छन् । कमेन्टमा सुदर्शन दुवाडी लेख्छन् – ‘रोजीरोटीको पनि त कुरा छ, ब्यवसायीले इन्भर्टर र लाईट बेच्नुप¥यो अनि कर्मचारीले पनि माथिको निर्देशन मान्नैप¥यो ।’

हिउँदमा समेत नियमित रहेको विद्युत् बर्खा लागेदेखि झनै अनियमित बनेको हो दिनमा दजनौं पटक बत्ती गइरहने समस्याले गर्दा आमनागरिकले त हैरानी खेपेकै छन् । सरकारी काम पनि अस्त-ब्यस्त बन्ने गरेको छ । दिनमै दशौं पटकसम्म विद्युत् आउने जाने हुँदा ब्यवसायी बढी मारमा परेका छन् । धादिङवेंशीमा सञ्चालित सम्राट लेडिज टेलरमा बिजुली नहुँदा थन्किएको सिलाई मेसिन र सानो सोलार बत्ति बालेर खुट्टाको प्रयोगले कपडा सिलाउँदै गरेकी एक महिला । सरकारले प्राकृतिक इन्धनको खपत घटाउन विद्युतीय सामाग्री प्रयोगका लागि प्रोत्साहन गरिरहेको छ । तर पटक–पटक भईरहने अघोसित लोडसेडिङले विद्युतीय मेसिन प्रयोग गर्ने ब्यवसायी झनै बढी समस्यामा छन् । बत्ति गईरहँदा दैनिक कामकाज पनि प्रभावित बन्ने गरेको धादिङवेंशीका युवा ब्यवसायी काजी श्रेष्ठ बताउँछन् । श्रेष्ठले धादिङवेंशीमा टेलरिङ ब्यवसाय चलाउँछन् । ‘कपडा सिलाउन आउने ग्राहकलाई छिटो सुविधा दिन भनेर विद्युतीय मेसिन जडान गरियो, विद्युत् आउने र जाने ठेगान नहुँदा उल्टै काममा ढिलासुस्ती हुने गरेको छ’, टेलर ब्यवसायी श्रेष्ठ भन्छन्-‘कि दैनिक समय तोकेरै लोडसेडिङ गराईयोस् नत्र विद्युत् आपूर्ति नियमित हुनुपर्छ ।’

केही वर्ष अघि १८ घण्टासम्म लोडसेडिङ भएर बिजुली उपभोक्ता हैरान हुन्थें । प्राधिरणले पूर्वसूचना दिएर दैनिक विद्युत् केटौती गरेका कारण उपभोक्ता वैकल्पिक जोहो पनि गरेर बस्थें । अहिले देशमा लोडसेडिङ गर्नुपर्ने अवस्था छैन । तर दिनमै दशपटक विद्युत् आउने जाने भईरहँदा काममा ठूलो क्षति ब्यहोर्नुपरेको धादिङवेंशीमै गार्मेन्ट चलाईरहेका महिला ब्यवसायी कल्पना अधिकारीको भनाई छ । ‘प्रायः सबै विद्युतीय मेसिन छन्, खुट्टाले मात्रै चलाउने मेसिन छैनन्, कालिगढ पनि अध्यारोमा बसेर खुट्टाले चलाउने मेसिन चलाउन मान्दैनन्, विद्युत् अनियमित हुँदा ब्यवसाय नै धरापमा पर्ने अवस्था आउन लाग्यो’ उनले भनिन् । विद्युत् प्राधिकरणले पनि लोडसेडिङको समय तालिका जारी गर्नुपरेको छैन । बरु बर्खायाममा बढी भएको बिजुली भारत निकासी हुन थालेको छ । यसले अर्थतन्त्रका थोरै भएपनि टेवा पुगेको छ । देशका लागि खुशीकै कुरा हो । तर झ्याप्प-झ्याप्प गईरहने बिजुलीका कारण आम उपभोक्ता मर्कामा छन् । नियमनकारी निकाय प्राधिकरणले भने बर्खा समय भएकाले अहिले विजुली गईरहने समस्या भएको हलुका जवाफ दिने गरेको छ । टाढाबाट बिजुली आपूर्ती गर्नुपर्ने र बिच-बिचमा आउने समस्याले गर्दा बिजुली जाने आउने भईरहने विद्युत् प्राधिकरण धादिङ वितरण केन्द्रका प्रमुख माधव न्यौपाले बताए ।

ट्रान्समिटर पड्किने, जल्ने, हावाहुरीका कारण तार चुँडिने, बाढी पहिरोले पोल ढाल्ने र न्युन भोल्टेजको बिजुली आउनेलगायतका समस्या रहेको प्राधिकरण नै स्वीकार छ । न्यौपाने भन्छन्–‘विगत वर्षको तुलनामा हावाहुरी र चट्याङ बढी भएकोले विद्युत् आपूर्तिमा समस्या भएको हो ।’ इन्धनको मूल्य बढेकाले बिजुलीको प्रयोग बढाउन सुझाव दिँदै आएको सरकार सामु प्राधिकरणले दिने गरेको यस्ता झिनामसिना जवाफ उपभोक्तालाई पाच्य छैनन् । राईस कुकरमा खाना बसाउन नभ्याउँदै काटिएको बिजुली कुनबेला आउने हो पत्तो छैन । ‘बत्ति गएपछि प्राधिकरणको फोन प्रायः लाग्दैन, ‘लागिहाले पनि त्रिशूलीबाटै गएको हो कुन बेला आउँछ थाहा भएन’ भन्ने जवाफ आउछ’, नीलकण्ठ ८ का श्याम श्रेष्ठ भन्छन्–‘राईस कुकरमा भिजाएको चामल फेरी झिकेर अर्काेमा पकउने की भोकै हिँड्ने ?’ बत्ति गईरहँदा खानेकुरा फ्याक्नुपर्ने र राती सुत्नसम्म नसकिएको उपभोक्ताको गुनासो छ । लोडसेडिङ अन्त्य भएपनि अझै पनि उपभोक्ताले भरपर्दो बिजुली प्रयोग गर्न सकेका छैनन् ।