रेडियोले कहिले हँसाउँछ कहिले रुवाउँछ : तामाङ

  • त्रिशूली प्रवाह
  • ५ श्रावण २०७९, बिहीबार १३:०५
  • राजेन्द्र बस्नेत

धादिङ (गुर्धुम), बिहान गोरु चराएर, खाना खाएर, जङ्गलमा घाँस काट्न गएँ र घाँस ल्याएँ । अहिले घाँस बिसाएर थकाइ मेटाउँदै छु । रेडियोले कहिले हँसाएर थकाइ बिर्साइदिन्छ । कहिले थकाइ मेटाउनुको साटो रुवाइदिन्छ । म रेडियो बन्द गर्नेबित्तिकै निदाइहाल्छु । ननिदाएको बेलामा सधैँ रेडियो सुन्छु । मेलापात, वनजङ्गल, आफन्ती भेट्न जाँदा पनि रेडियो साथमै लान्छु । मेरो नजिकको साथी नै रेडियो हो । वनजङ्गलबाट निस्केका घाँसीले दिनभर गरेका काम बेलिविस्तार सुनाउँदै रेडियोको ब्यान्ड घुमाउन थालेँ । उनी हुन्धु-निबेँसी नगरपालिका-७ गुर्धुमका ६३ वर्षीय कृष्णबहादुर तामाङ ।

इन्डियन आर्मी काकाले पहिलोपटक गाउँमा रेडियो ल्याएका थिए । त्यो रेडियोमा मान्छे बोलेको सुनेर आश्चार्यचकित परे र उनले पनि मनमनै आफू पनि कमाउन सक्ने भएपछि रेडियो किन्ने सुर बनाएका रहेछन् । उनले बाल्यावस्थामै ठूलाका साथ लागेर काठमााडौं काम गर्न गएको कहानी सुनाए । काम गर्न जानुको एउटै लक्ष्य रेडियो किन्ने रहेको बताए । काठमाडांै र पाटनमा काम गरे जुन बेला पाँच रुपैयाँ ज्याला पाएको सुनाए । कसैले खान पनि दिन्थे । ज्याला गरेर कमाएको पैसाले रेडियो किनेको हुँ । रेडियो किनेर घर आउँदा म आफैँमा खुसी थिएँ । तर, घरमा बाआमाले गाली गर्नुभयो । गाली नगर्नु पनि किन ? घरमा खाने चिज हुन्नथ्यो । म कमाउन गएको पैसा नलिई आएँ । रेडियो किन्न धेरै दुःख गरेको छु । ०२८ सालमा दुई सय २५ रुपैयाँमा रेडियो किनेको हुँ । त्यति बेला मसलालाई कति पथ्र्यो मैले भुलेँ । लामो समय भयो । काठमाडौं पाँच वर्ष ज्याला गरेँ । काँकडभिट्टा, धरान, जनकपुरमा पनि काम गरेको सुनाए । पछि विवाह गरेपछि पनि रेडियो बजिरहन्थ्यो । निदाउन लागेपछि मात्र रेडियो बन्द गर्थेँ । बुढीले गाली गर्थिन् । झिँदो मान्थिन् । पछिपछि भएपछि त उनी आफैँ बन्द गर्थिन् । अहिले पनि बुढीले गाली गर्छिन् । पहिलो कमाइले नौबिसे बजारमा घडेरी किनेको भए अहिले करोडको मालिक हुने रहेछु । तैपनि पश्चाताप छैन । रेडियो नै मेरो साथी हो । १०-१२ वटाभन्दा बढी रेडियो किनेँ । मसला त कति हो कति । अहिलेको यो रेडियो सात सय रुपैयाँमा किनेको हुँ । अहिले एक जोडी मसलाको असी रुपैयाँ पर्छ ।

मेलापात जाँदा रेडियो बजिरहन्थ्यो । त्यहीँ सुरमा काम गर्नेहरू चुपचाप काम गरिरहन्थे । रमाइलो पो हुन्छ । पहिले त रेडियो नेपाल मात्र आउँथ्यो । त्यसपछि कान्तिपुर एफएम आयो । रेडियो सगरमाथा । अहिले त कति हो कति सबैको नामै आउँदैन । उतापट्टि दामन एफएम, तल धार्केमा कृषि रेडियो । त्यही रेडियो राजमार्ग । रेडियो सुनेर चुनावमा भोट कसरी कस्ता उम्मेदवारलाई दिनेदेखि कहिले भोट खसाउनेसम्म भन्छ । अहिले रेडियोमा समाचार, कार्यक्रम लोकगीत, फोन कार्यक्रम, कथा आउँछन् । कहिले रमाउँछु । कहिले दुःखका घटना आउँछ अनि रुन्छु । फेरि रमाइलो कार्यक्रम आउँछ फेरि हाँस्छु । यसरी नै ५०-५१ वर्ष बित्यो । अब एक-दुईवटा रेडियो किन्न पाइएला-हाँस्दै भने । अहिले त मोबाइल फोनमा पनि रेडियो हुँदोरहेछ । गाउँका केटाकेटी पनि गीत बजाउँदै हिँड्छन्उ-नले सुनाए । आजभोलि कृष्णबहादुरलाई गाउँलेले रेडियोबाजे भनेर सम्बोधन गर्दारहेछन् । गाउँलेको सम्बोधनले मख्ख पर्छन् कृष्णबहादुर ।

(घाँसको भारी बिसाएर रेडियो सुन्दै रेडियोबाजे (कृष्णबहादुर तामाङ)
एनले विगत ५०-५१ वर्षदेखि रेडियो सुन्दै आएका छन् ।)