तामाका गाग्री–खड्कुँलाको माग घट्दो

  • त्रिशूली प्रवाह
  • २ भाद्र २०७९, बिहीबार १६:०२
  • राजेन्द्र बस्नेत

धादिङबेँसी, पछिल्लो समय स्टिल, सिल्भर र प्लास्टिकका सामानको प्रयोग बढेकाले तामाका भाँडावर्तनको माग घट्दै गएको छ । पहिला गाउँघरमा तामाका ग्रागी-खड्कुँला हुनेलाई समाजमा सम्पन्नतासँग जोडेर हेरिन्थ्यो । मानिस हरेक वर्षजसो तामाका ग्रागी-खड्कुँला, घ्याम्पो किन्ने गर्थे । पछिल्लो समय भो-भतेरमा पनि तामाका भाँडावर्तन देखिँदैनन् । देखिन्छन् त सिल्भरका डेक्ची, बाटा, बाल्टी, स्टिलका जग, थाल ।
पहिले-पहिले छोरीको विवाहमा आफन्तले तामाको गाग्री र खड्कुँला दाइजो दिन प्रतिस्पर्धा हुन्थ्यो । एक्लैले दुवै नसके एउटा गड्धुवा हाल्ने चलन थियो । यस्तो चलनले गाग्री, खड्कुँला बनाउनेको व्यवसायलाई पनि सहयोग पुग्थ्यो ।

पछिल्लो समय विवाहमा गाग्री-खड्कुँलाको सट्टा नगद दिने चलनले गाग्री-खड्कुँला बनाउने, तामाको कच्चा सामान व्यापार गर्ने र तयारी गाग्री-खड्कुँला व्यापार गर्नेको व्यापार निकै खुम्चिएको तामाका भाडावर्तन बनाउँदै आएका पे्रमबहादुर विश्वकर्माले बताए । अझ कोराना नेपालमा आएपछि त विवाह नै कुन बेला हुन्छ थाहा नै हुन्न । कैयौँको छोरीको विवाह गाग्री-खड्कुँलाबिनै भएको सुन्नमा आउँछ । अहिले त दुलहीको बाउले मात्र तामाका गाग्री-खड्कुँला, घ्याम्पो किन्छन् । मावलीले समेत नगद दिन थालिसकेका छन् । यस्तो चलनले गाग्री-खड्कुँला बनाउने कालिगढको पेसा-व्यवसाय दिन प्रतिदिन खस्कँदै गएको छ । अहिले महँगी पनि बढेको छ । एउटा ग्रागीको मूल्य पाँच हजार रुपैपाँदेखि माथि पर्छ । विवाहमा गड्धुवा हाल्न नगद दिँदा सस्तो हुने भएर होला केही वर्षदेखि गाग्री-खड्कुँलाको माग घट्दै गएको छ भन्छन् विश्वकर्मा । ‘अहिलेसम्म त काम गरेर परिवार चलाउन सकिएको छ । पहिला अरूलाई समेत रोजगारी दिंदै आएको थिएँ । मागअनुसारको सामान बनाउन गाह्रो हुन्थ्यो । अहिले तीन-चारजनाले तयार गरेको सामान बजारमा बिक्री गर्न गाह्रो हुन्छ,’ उनी भन्छन् ।

‘माग र अर्डरअनुसारको गाग्री-खड्कुँलालगायतका पूजामा आवश्यक हुने सामान बनाउँदै आएको छु । गाग्री बनाएको प्रतिकेजी ज्याला दुई सय पचास लिन्छु । पाटनका व्यापारीको कच्चा सामान ल्याएर सामान तयारी गरेर दिन्छु । कसैले कच्चा सामान ल्याइदिए बनाएर पनि दिन्छु । अर्डर गरेर यस्तो सामान चाहियो भन्नेलाई पनि सामान बनाएर दिँदै आएको छु । अहिले दुई-तीन जनाले काम गर्छन् । उनीहरूलाई पनि पूरै समय काम दिन सकिँदैन । साहुले सामान दिन्छ । तोकिएको समयमा तयारी सामान दिन कति जना लाग्छ हिसाब गरेर काम लगाउँदै आएको छु,’ विश्वकर्माले भने । विगत १२ वर्षदेखि तामाका गाग्री बनाउँदै आएका रमेश सुनुवार भन्छन्, ‘सामान बिक्री भए त ज्याला दैनिक एक हजारभन्दा बढी कमाउन सकिन्छ । १० केजी काम ग¥यो भने एक हजार तीन सय ज्याला हुन्छ । तर, सामान धेरै बिक्री नहुने भएकाले सधैँ काम पाउन मुस्किल हुन्छ ।’ ‘हामीले खाएर प्रतिकिलोको एक सय ३० ज्याला पाउँछौँ । महिनाभरि काम गर्न खाएर ३० हजारसम्म कमाइ हुन्छ । बलको कामभन्दा पनि सीपको काम हो । बुट्टा निकाल्नुपर्छ । एकाग्र भएर काम गर्नुपर्छ,’ वीरबहादुर विश्वकर्माले सुनाए । ‘आफूसँग गाग्री, खड्कुँला, दियो, तालीलगायतका सामान बनाउने सीप छ । त्यही सीपमा अडेर जीविकोपार्जन चलेको छ । खान दुःख छैन,’ रामशरण विश्वकर्माले बताए ।

तामाका भाँडा उद्योग सञ्चालन गर्दै आएका प्रेमले काम गर्नेलाई खाने–बस्ने सुविधा दिएर गाग्री बनाएको प्रतिकेजी एक सय ३० रुपैयाँ दिँदै आएका छन् । उनले वर्षमा दुई हजार पाँच सयको हाराहारीमा गाग्री तयारी गर्दै आएका छन् । अहिले तामाको मूल्य बढेको छ । प्रतिकेजी कच्चा तामाको प्रतिकेजी एक हजार ६ सयभन्दा माथि पर्छ । गाग्री बनाउँदा तामा काट्नुपर्छ, केही ग्राम घट्छ । तामालाई पोल्न कोइला र गोल महङ्गो छ, एक ढ्वाङको ८० रुपैयाँ पर्छ । तैपनि गरिआएको पेसाप्रति प्रेम खुशी छन् । उनको गल्छी गाउँपालिका-७ को मच्छेडी खोलामा उद्योग सञ्चालनमा रहेको छ ।