कृषि उत्पादन र प्रवद्र्धनमा गल्छीको जोड

  • त्रिशूली प्रवाह
  • १७ भाद्र २०७९, शुक्रबार ११:०८
  • राजेन्द्र बस्नेत

बैरेनी, मुलुक सङ्घीय संरचनामा गएपछि दोस्रो कार्यकालका लागि भएको स्थानीय तह सदस्य निर्वाचन ०७९ वैशाख ३० मा सम्पन्न भयो । उक्त निर्वाचनबाट केदारनाथ खतिवडा गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् । उनले जनप्रतिनिधिको रूपमा कार्यभार सम्हालिरहेका छन् । धादिङ जिल्लाको पूर्वी दक्षिणी क्षेत्रमा पर्ने गल्छी गाउँपालिका सङ्घीय राजधानी काठमाडांै प्रवेश गर्ने पृथ्वी राजमार्गमा पर्दछ । नेपाल सरकारले बनाउने १० नयाँ सहर गल्छी यसै पालिकामा पर्दछ । गल्छी नाम आफैँमा ऐतिहासिक रहेको छ । महेश खोला साबिक बग्ने अवस्थाबाट गल्छी कोटेर त्रिशूली नदीमा मिसाएपछि गल्छी नामाकरण भएको हो । राज्य पुनर्संरचना हुँदा यस पालिकाको नाम गल्छी नै राखियो । कृषि कर्मलाई व्यवसायमा रूपान्तरण गर्ने र कृषि व्यवसाय प्रवद्र्धन गर्न उत्पादन तथा बिक्रीमा अनुदान दिने तयारी गरिरहेको गाउँपालिका अध्यक्ष खतिवडाले बताए ।

आठवटा वडा रहेको गाउँपालिकाको ७५ प्रतिशत परिवारको कर्म तथा पेसा-व्यवसाय, जीविकोपार्जनको आधार जे भने पनि कृषि नै हो । तैपनि कृषि क्षेत्र उपेक्षामा परेको छ । सङ्घीय सरकारले बाली लगाउने बेलामा मल दिन सकेको छैन । गुणस्तरीय बिउ दिन सकेको छैन । कृषि अनुदान पनि कृषि कर्म गर्नेले भन्दा कागजको खेती गर्ने गैरकिसानले पाइरहेका छन् । अनुदान लिएर पनि गर्छु भनेको काम गर्दैनन् । हामीले दिने अनुदान पनि त्यसकै सेरोफेरोबाट टाढा पु¥याउन कठिन नै होला । त्यसकारण उत्पादन संस्थागत बिक्री गर्ने व्यवस्था मिलाउने र प्रतिकिलोका हिसाबले उत्पादनको बिक्री वा ढुवानीमा अनुदान दिने सोच अघि सारेको उपाध्यक्ष भाइकाजी तिवारीले बताए । त्यसो गर्दा तरकारी तथा फलफूल, किसान, खाद्यान्न उत्पादक, मासु उत्पादक र दुध उत्पादक कोही छुट्दैनन् । त्यसकारण पालिकाको पहिलो प्राथमिकता क्षेत्र कृषि (बाली तथा पशुपक्षी) हो । मासुजन्य उत्पादनका लागि बाख्रापालनलाई व्यावसायिक बनाउन कार्यक्रम सुरु भइसकेको छ । सिँचाइका लागि अलि चुनौती छ । प्रविधिको अधिकतम प्रयोग गर्नुपर्नेछ । बजारीकरणको अवस्था अहिले संस्थागत नभई व्यापारीले आफूखुसी गरिरहेका छन् । बजारीकरणलाई संस्थागत बनाउन सहकारी तथा सरकारी तथा उत्पादकको सेयर रहने गरी कम्पनीमार्फत बजारीकरण गर्नुपर्नेछ । पृथ्वी राजमार्ग गाउँपालिकाको केन्द्र पर्दछ । त्रिशूली उत्तरलाई पनि पुल निर्माण भइरहेको छ । दक्षिणी भागको लेक भेगमा बर्खे आलुखेती गराउने र कोल्ड स्टोर राख्ने व्यवस्था मिलाउने सोचमा अध्यक्ष र उपाध्यक्ष रहेका छन् ।

०७८ को जनगणनाअनुसार २४ हजार दुई सय ६ जनसङ्ख्या रहेको गल्छी गाउँपालिकामा सडकको ट्रयाक खोल्ने काम लगभग पूरा भएको छ । अब सडकको नाली, ड्रेन, कल्भर्ट बनाएर बाह्रै महिना गाडी चल्ने बनाउन प्रत्येक पालिकालाई ५० लाखका दरले बजेट विनियोजन गरेका छौँ । सरकार तीन ठाउँमा बसेकाले बजेट धेरै आएको छ । बजेट खर्च गर्ने संयन्त्रमा जनशक्ति कम भएकाले प्रदेश र सङ्घबाट आएका सडकका योजनाको बजेट प्रभावकारी कसरी होला भन्ने चिन्तामा जनप्रतिनिधि रहेका छन् । खानेपानी तथा सरसफाइमा ‘एक घर एक धारा’ कार्यक्रममार्फत सबै घरमा खानेपानी सुविधा उपलब्ध गराउने र पूर्ण सरसफाइयुक्त गाउँपालिका पाँच वर्षभित्र बनाउने प्रतिबद्धता अध्यक्ष र उपाध्यक्षले गरेका छन् । विद्युतीकरण हुन बाँकी केही बस्तीमा आगामी आ.व.मा बत्ती पु¥याउने र काठेपोल विस्थापन गर्ने कार्यक्रमलाई पालिकाले प्राथमिकतामा राखेको छ । आफूहरूलाई गरिब भनेर भन्नेले पनि अङ्ग्रेजी माध्यम मन पराएर निजी विद्यालयमा बालबालिका पढाएका छन् । अब सरकारी विद्यालयमा पनि अङ्ग्रेजी माध्यममा पढाउन सुरु गर्ने सोचको साथ योजना बनाएको अध्यक्ष खतिवडाले बताए । खासगरी प्रधानाध्यापक तयार भइसकेका छैनन् । हामी अङ्ग्रेजी माध्यम सरकारी विद्यालयमा पनि गराउँछौँ । गाउँपालिकाले दिएको शिक्षक दरबन्दी र बालकक्षा सहयोगीलाई तलब बढाउन सकेका छैनौँ । विद्यार्थी–शिक्षक अनुपात छ, तर पनि सिकाइ उपलब्धि हुनुपर्नेजति छैन । सिकाइ उपलब्धि सुधार गर्न प्रयास गर्नेछौँ । सबै वडामा स्वास्थ्य संस्थामार्फत सेवा प्रभाव भइरहेको छ । १५ शय्याको अस्पताल, दुईवटा स्वास्थ्यचौकी र पाँचवटा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन भइरहेका छन् । वार्षिक ४० लाख औषधि खर्च हुँदै आएको छ । आधारभुत सेवा एक्सरे, ल्याब, भिडियो एक्सरे, इसिजीलगायतका सेवा सुचारु छन् । अझ सेवा र एमबिएस डाक्टर थप गर्न पालिकाले नीति तथा कार्यक्रममा ल्याएको छ ।

गाउँपालिकाका प्रशासनिक केन्द्र पहिले तोकेको स्थान अपायक भनेर अहिलेसम्म प्रशासनिक भवन बनाइएको छैन । अब सर्वपक्षीय छलफल गरेर सहमति जुटाएर प्रशासनिक केन्द्र तोकेर प्रशासनिक भवन बनाउन पहल गरिरहेको उपाध्यक्ष तिवारीले जानकारी दिए । दुई वर्षभित्रमा प्रशासनिक भवन निर्माण सक्ने योजना रहेकोसमेत उनले बताए । ६ वटा वडाको वडा प्रशासनिक भवन निर्माण भई सेवा प्रवाह गरिरहेको पालिकाले वडा नं. ४ र ६ को भवन बनाउन बाँकी छ । त्यो पनि छिट्टै बनाउने गरी लागेको र बालमैत्री स्थानीय शासन घोषणा गर्ने कार्यलाई विशेष प्राथमिकताका साथ लिएकोसमेत उनले बताए । बालमैत्री गाउँपालिका बनाउन आवश्यक सूचाङ्क पूरा गर्न आवश्यक काम सुरु भइसकेको छ । यी सबै काम चुस्त-दुरुस्त गर्न कर्मचारी परिचालन महत्वपूर्ण कार्य हो । त्यसकारण प्रशासनिक सचिवालय सुदृढीकरण, क्षमता विकास, नियमन र प्रोत्साहन गर्न आवश्यक छ । शिक्षक, स्वास्थ्यकर्मी, कृषि तथा पशु स्वास्थ्य प्राविधिक, इन्जिनियर, प्रशासनिक र सहयोगी कर्मचारीलाई सेवा प्रवाह र जिम्मेवारीप्रति प्रतिबद्ध बनाउनु पहिलो काम हो । सेवाग्राहीलाई सहज सेवा प्रवाह गर्न सेवा सहायता केन्द्र सञ्चालन गर्न पालिकाका अध्यक्ष तथा उपाध्यक्ष रातदिन नभनी खटिरहेका छन् ।