काङ्ग्रेस र एमाले पार्टी त्यागेर स्वतन्त्र उम्मेदवार

  • त्रिशूली प्रवाह
  • ३ कार्तिक २०७९, बिहीबार १३:०६
  • राजेन्द्र बस्नेत

गजुरी (धादिङ), आगामी मङ्सिर ४ मा हुन गइरहेको प्रदेश सभा र प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता सम्पन्न भई असोज २६ गते १३ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय निर्वाचन कार्यतालिकामा रहेको थियो । आफूलाई टिकट दिन्छु भनेर अर्को व्यक्तिलाई वा अर्को समूहलाई टिकट दिएका कारण, गठबन्धनले अर्को पार्टीका नेतालाई उम्मेदवार बनाएका कारण र आफू पनि उम्मेदवार हुन सक्षम छु भनेर एमालेका नेता नेत्रराज पौडेल र काङ्गे्रस नेतृ देवी पाण्डेले उम्मेदवारी फिर्ता लिएनन् । धेरैको अपेक्षा थियो -आवेगमा कार्यकर्ता खुसी पार्न उम्मेदवारी दिएको हुन फिर्ता लिन्छन् । तर, एमालेका पौडेल र काङ्ग्रेस नेतृ पाण्डेले आफूहरूले उम्मेदवारी फिर्ता नलिँदा पार्टीले साधारण सदस्यबाट हटाउँछ, हामी मतदाताको मनमा अटाउँछौँ भन्दै उम्मेदवारी फिर्ता लिएनन् । लिए त उनीहरूले चुनाव चिह्न । त्यो पनि मतदाताले दैनिक रूपमा प्रयोग गर्ने भौतिक वस्तु । धादिङ प्रतिनिधिसभा १ प्रेशसभा (क) बाट उम्मेदवार बनेका पौडेलले बिजुलीको चिम र धादिङ प्रतिनिधिसभा २ प्रदेश सभा (ख) बाट उम्मेदवार बनेकी पाण्डेले पानीको धारो । पार्टी सदस्यभन्दा स्वाभिमान ठूलो भएकाले उम्मेदवारी फिर्ता नलिई चुनाव चिह्न लिएर चुनावी प्रचार-प्रसारमा जुटेको पौडेल र पाण्डेले बताए ।

लोकतन्त्र सिद्धान्तमा मात्र भयो व्यवहारमा देखिएन : पाण्डे
त्रिपुरासुन्दरी गाउँपालिकाकी पूर्वउपाध्यक्ष एवम् गाउँपालिका राष्ट्रिय महासङ्घ केन्द्रीय सचिव देवीकुमारी पाण्डे बुर्लाकोटी धादिङ प्रतिनिधिसभा २ (ख) बाट बागमती प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी बनेकी छिन् । म २०५१ म नेपाली काङ्ग्रेसको सदस्यता लिएर ०५४ सालमा क्रियाशील सदस्य लिएर पार्टीमा कुनै न कुनै भूमिकामा सक्रिय रहँदै आएकीे थिएँ । अहिले पनि उम्मेदवारी दर्ता गराउनुअघिसम्म महासमिति सदस्य थिएँ । नेपाल शिक्षक युनियन, नेपाल शिक्षक सङ्घमा रहेर काम गरेँ । पार्टीले कामको मूल्याङ्कन गरेर स्थानीय तहमा एकपटक उम्मेदवार बनायो जितेँ पनि । तर, पार्टीले लोकतन्त्र सिद्धान्तमा पढायोे । लोकतन्त्र व्यवहारमा भेटिएन वा देखिएन । त्यसकारण स्वतन्त्र उम्मेदवार बन्न पुगेँ । मेरो उम्मेदवारी नेपाली काङ्ग्रेसलाई चुनौती पनि हो । म स्वतन्त्र भएर उम्मेदवार भएपछि नेपाली काङ्ग्रेस पार्टीले मलाई कारबाही गर्नुको कुनै अर्थ छैन । नेपाली काङ्ग्रेस पार्टी एकजना व्यक्तिलाई के मन लाग्छ त्यसैगरी चल्ने पार्टी भयो । त्यसैमा केही नेता हो मा है मिलाएर दगुर्न थाले । त्यो प्रवृत्ति मलाई मन परेन र स्वतन्त्र भएर उम्मेदवारी दिएँ । पार्टीमा पारदर्शिता, निष्ठा, इमानदारी, आन्तरिक लोकतन्त्र सबै दिवंगत भएका नेतासँगै सती गयोजस्तो लाग्यो । सरकार चलाउन एक दलसँग बहुमत नहुँदा अर्कोसँग मिलेर सरकार बनाउनु कानुनी मान्यता हो । तर, आवधिक चुनावमा नै गठबन्धन गरेर जाने कुराले पार्टीलाई होस् या देशको हित गर्दैन । चुनावमै गठबन्धन गर्ने हो भने किन पार्टी फरक बनाउने ? पार्टी नै एउटै बनाए भइगो नि । मेरो उम्मेदवारी पार्टीभित्र आन्तरिक लोकतन्त्र प्रवद्र्धन होस् भनेर हो । सबै क्षेत्रबाट विद्रोह नगरेसम्म मुख्य नेतृत्व सुध्रिँदैन । मुख्य नेतृत्व नसुध्रेसम्म देशको उन्नति हुन सक्दैन । अब कस्तो नेतृत्व छनोट गर्ने भन्ने कुरा भगवान्रूपी मतदाताको जिम्मेवारी हो – पाण्डेले भनिन् ।

नेतृत्वको गलत प्रवृत्तिको विद्रोह गरेर मेरो उम्मेदवारी : पौडेल
नेपाल कम्युनिस्ट पार्टी धादिङका पूर्वअध्यक्ष नेकपा पार्टी विभाजनपश्चात् अध्यक्ष पद छाडेर निष्क्रिय बसेका थिए । प्रदेश कमिटीमा सदस्य बनाएका थिए । म बैठकमा समेत सहभागी भएको थिइनँ । जिल्ला तहका, प्रदेश तहका, केन्द्रीय पदाधिकारीले समेत तपाईं पार्टीमा सक्रिय हुनुप¥यो भनेर आग्रह गर्नुभयो । मैले उम्मेदवारीको काम सक्नुस् । निर्वाचनका बेलामा पार्टीको बफादार कार्यकर्ता भएर आउँछु भन्दा नेताहरूले चुनावमा उम्मेदवार हुन तयार भएर आउनु भने । तर, टिकट प्रदेश कमिटीले सिफारिस नगरेको व्यक्तिलाई दिएपछि मसँग विकल्प राजनीति आत्माहत्याबाहेक केही रहेन । ०३८ सालमा संस्थापक नेता राजेन्द्रप्रसाद पाण्डे र जगन्नाथ नेपालको राजनीति प्रशिक्षणबाट अनेरास्ववियुको राजनीति सुरु गरेको हुँ । ०३९ सालमा प्रारम्भिक कमिटी, ०४१ सालमा जिल्ला कोषाध्यक्ष हुँदै ०४३ सालमा तत्कालीन मालेको इलाका कमिटी सचिव भएँ । ०४७ सालमा पार्टी सदस्यता प्राप्त गरेँ । ०४८ सालमा एमाले जिल्ला कमिटी सदस्य भएँ । ०५४ सालमा जिल्ला विकास समिति सदस्य भएँ । निरन्तर पार्टी कमिटीमा काम गरिरहेँ । ०६५ सालमा राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य भएँ । एमाले र माओवादी केन्द्र एकीकरणपछि नेकपाको जिल्ला अध्यक्ष भएँ । उम्मेदवारी दर्ता गराउनुअघिसम्म नेकपा एमाले बागमती प्रदेश कमिटीको सदस्य थिएँ । म पार्टी नेतृत्वको गतिविधि मन नपरेर विश्राम लिएर बसेको थिएँ । पार्टीका जिल्ला, प्रदेश र केन्द्रीय कमिटीका पदाधिकारीले नै पार्टी सङ्कटमा परेको तपाईंलाई नै थाहा छ । तपाईं प्रदेश सभाको उम्मेदवार बन्ने गरी तयार हुन गरेको आग्रहलाई जबर्जस्त स्वीकार गरेर अघि बढ्नुअघि नरेश खतिवडा र रमेश आर्चायसँग समेत परामर्श गरेर अघि बढेको थिएँ । खतिवडाले तपाईं आउने हो भने म इच्छा जाहेर पनि गर्दिनँ भन्नुभयो । आचार्यले म पाए सङ्घमा हुने हो, प्रदेशमा तपाईं नै हो भने । अन्तिममा मलाई राजनीति आत्माहत्याको बाटोमा पु¥याउन केन्द्रीय पदाधिकारीसमेत लागे । मैले पार्टी कमिटीमा उम्मेदवारीमा नाम लेखाउनुअघि जगन्नाथ नेपालले टिकट पाउनुभएन भने पनि स्वतन्त्र उम्मेदवारको म प्रस्तावक बन्छु भन्नुभयो । पार्टी अध्यक्ष भूमिप्रसाद त्रिपाठीले तापाईंले टिकट नपाए म पनि टिकट फिर्ता गर्छु भन्नुभयो । म पूरा–पुर विश्वस्त भएर अघि बढेँ । अघि बढिसकेपछि नेता-कार्यकर्ता मतदातासम्म उम्मेदवार हुने चर्चा पुगिसकेकाले पार्टी नेतृत्वको गलत प्रवृत्तिको विद्रोह गरेर धादिङ प्रतिनिधिसभा १ प्रदेश सभा (क) बाट मेरो उम्मेदवारी भयो । बिजुलीको चिम चुनाव चिह्न लिएर चुनाव प्रचार–प्रसारमा लागेको छु । मतदाताको निर्णय अन्तिम निर्णय ठानेको छु -पौडेलले भने ।