धादिङमा गठबन्धन र एमालेबीच प्रतिस्पर्धा क्षेत्र नम्बर १ मा पाण्डे र त्रिपाठी, क्षेत्र नम्बर २ मा अधिकारी र लोहनी

  • त्रिशूली प्रवाह
  • १७ कार्तिक २०७९, बिहीबार १४:१३
  • राजेन्द्र बस्नेत

धादिङबेँसी, प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन नजिकिँदै गर्दा धादिङमा दल तथा स्वतन्त्र उम्मेदवारले चुनावी प्रचार-प्रसारलाई तीव्रता दिएका छन् । धादिङका दुई प्रतिनिधिसभा क्षेत्र र चार प्रदेश सभा क्षेत्रमा गठबन्धन र एमाले उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । दुवै क्षेत्रमा मुख्य दलबाट पुरानै उम्मेदवार छन्, तर यसपटकको समीकरण नयाँ भएकाले प्रतिस्पर्धा निकै रोचक हुने देखिन्छ । काङ्ग्रेस, माओवादी, एकीकृत समाजवादी र नेपाल समाजवादीको गठबन्धनलाई टक्कर दिन धादिङमा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग तालमेल गरेको छ ।

धादिङ १ मा यसअघिका सहकर्मी प्रतिस्पर्धी बनेका छन् । गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार राजेन्द्रप्रसाद पाण्डे र एमालेबाट भूमि त्रिपाठी प्रतिस्पर्धामा छन् । एकीकृत समाजवादीका उपाध्यक्ष एवम् बागमती प्रदेशका मुख्यमन्त्री पाण्डे चुनावी प्रचारका लागि तिहारअघिदेखि नै धादिङमा व्यस्त छन् । पाण्डे ०४३ देखि धादिङको संसदीय राजनीतिमा सक्रिय रहिरहेका छन् । एमालेबाट उम्मेदवार भई ०४८, ०५१, ०५६, ०७० र ०७४ मा उनले चुनाव जितेका थिए । ०४३ का जनपक्षीय उम्मेदवार पाण्डेले ०६४ को संविधानसभा निर्वाचनमा भने हार व्यहोर्नुपरेको थियो । तर, ०७४ को निर्वाचनमा पाण्डे प्रदेश सभा (क) बाट विजयी भएका थिए ।

यस क्षेत्रबाट ०७४ मा एमालेका भूमि त्रिपाठी निकटतम प्रतिस्पर्धीभन्दा दोब्बर मत ल्याएर विजयी भएका थिए । एमाले विभाजनपछि ०७९ को निर्वाचनमा पाण्डे र त्रिपाठी यो क्षेत्रमा आमने-सामने भएका छन् । यही क्षेत्रबाट पाण्डे र त्रिपाठीसँग धादिङका पुराना कम्युनिस्ट नेता उत्तमराज शर्मा कँडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन् । यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट हिमेश पन्त, जनता समाजवादी पार्टीबाट नोरमान तामाङ, जनसमाजवादी पार्टीबाट पुष्कर सेढाईं, मङ्गोल नेसनल अर्गनाइजेसनबाट सुमन तामाङ, नेपाल मजदुर किसान पार्टीबाट विश्वअम्मर महर्जन पनि उम्मेदवार छन् । यीबाहेक अन्य ६ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । धादिङ २ मा सत्तागठबन्धनबाट काङ्ग्रेसका सभापति रामनाथ अधिकारी र एमालेबाट निवर्तमान सांसद खेमप्रसाद लोहनी प्रत्याशी रहेका छन् ।

विगतमा तीनवटा निर्वाचन क्षेत्र रहेको धादिङमा ०७४ को निर्वाचनदेखि दुईवटा कायम भएको थियो । सङ्घीयतापछिको पहिलो संसदीय निर्वाचन ०७४ मा क्षेत्र नम्बर २ बाट एमालेका लोहनी विजयी भएका थिए । उनले ३६ हजार दुई सय ५६ र काङ्ग्रेसका दिलमान पाख्रिनले ३५ हजार ६ सय १६ मत प्राप्त गरेका थिए । तत्कालीन अवस्थामा माओवादी केन्द्रको साथ पाएका लोहनीले ६ सय ४० मतले जित हात पारेका थिए । धादिङमा रहेका कुल एक सय चारवटा वडामध्ये ५१ वटा क्षेत्र नम्बर २ मा पर्छन् । स्थानीय तहको निर्वाचनमा अधिकांश वडामा दलहरू एक्ला-एक्लै निर्वाचन लडेका थिए । एमालेले ५१ वटै वडा, काङ्ग्रेसले ४३ वडा र माओवादीले ३४ वटा वडामा उम्मेदवार उठाएको थियो । एकीकृत समाजवादीले २४ वटा वडा, राप्रपाले ४६ वटा वडा र जनता समाजवादी पार्टीले १३ वटा वडामा उम्मेदवार उठाएको थियो ।