धादिङमा ५६ प्रतिशत मतदान मतदाताको उत्साहमा कमी

  • त्रिशूली प्रवाह
  • ८ मंसिर २०७९, बिहीबार ११:५५
  • राजेन्द्र बस्नेत

धादिङवेंशी, मंसिर ४ गते आईतबार सम्पन्न प्रदेश तथा प्रतिनिधीसभा सदस्यको दोश्रो आम निर्वाचनमा धादिङ जिल्लाका मतदातामा उत्साह देखिंएन ।

गत बैंशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा भन्दा प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्नेको संख्या कम रहेको छ । दुई प्रतिनिधीसभा र चार प्रदेशसभा रहेको यस जिल्लामा प्रत्यक्षतर्फ प्रतिनिधीसभामा २८ तथा प्रदेशसभामा ३८ जना र समानुपातिकतर्फ प्रतिनिधीसभामा १७ जना र प्रदेशसभातर्फ ३७ जना गरी १ सय १० जना उम्मेदवार चुनावी मैदानमा भएपनि उत्साहजनक मत नखसेको निर्वाचन कार्यालय धादिङले जानकारी दिएको छ । प्रारम्भिक जानकारीअनुसार जिल्लामा कूल मतदातामध्ये ५६ प्रतिशत मात्र मत खसेको छ । सोमबारदेखि मतगणना जारी रहेको छ । एक हप्ताभित्र मतगणनाको अन्तिम नतिजा आउने गरी गणना जारी रहेको छ । धादिङमा पनि सत्ता गठबन्धनरत नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीको बाम लोकतान्त्रिक गठबन्धन रहेको छ ।

जिल्लामा १ लाख ३० हजार ५ सय ९४ महिला, १ लाख ३५ हजार ४ सय १ पुरुष र १ तेश्रोलिङ्गी गरी २ लाख ६५ हजार ९ सय ९६ मतदाता रहेकोमा ७० हजार १ सय ६३ महिला र ७८ हजार ६ सय ७६ पुरुष मतदाताले मतदान गरेका छन् । प्रारम्भिक जानकारीअनुसार प्रतिनिधीसभा क्षेत्र नं.१ को प्रदेशसभा क्षेत्र नं.१ को धुनीवेंशी नगरपालिकामा १५ हजार ६ सय ८९ (६१ प्रतिशत), थाक्रे गाउँपालिकामा १६ हजार ४ सय १८ (६१ प्रतिशत) र १२ हजार ८ सय ८३ (६३ प्रतिशत) गरी ४४ हजार ९ सय ९० (६१.६६ प्रतिशत) खसेको छ । त्यसैगरी, प्रतिनिधीसभा क्षेत्र नं.१ को प्रदेशसभा क्षेत्र नं.२ को गजुरी गाउँपालिकामा १० हजार ८ सय ५४ (५९ प्रतिशत), बेनीघाट–रोराङ गाउँपालिकामा १३ हजार २ सय ३१ (६४ प्रतिशत) र सिद्धलेक गाउँपालिकामा १२ हजार ५१ (६० प्रतिशत) गरी ३६ हजार १ सय ३६ (६१ प्रतिशत) मत खसेको छ ।

त्यसैगरी, प्रतिनिधीसभा क्षेत्र नं.२ को प्रदेशसभा क्षेत्र नं.१ मा नेत्रावती गाउँपालिकामा ५ हजार १ सय २९ (४४ प्रतिशत), ज्वालामुखी गाउँपालिकामा १२ हजार ३ सय ३७ (५७ प्रतिशत) र नीलकण्ठ नगरपालिका वडा नं.१० र ११ बाहेक २० हजार ४ सय ५६ (५५ प्रतिशत) गरी ३७ हजार ९ सय २२ (५२ प्रतिशत) खसेको छ । त्यसैगरी, प्रतिनिधीसभा क्षेत्र नं.२ को प्रदेशसभा क्षेत्र नं.२ को नीलकण्ठ नगरपालिका वडा नं.१० र ११ मा २८ सय ३८ (४६ प्रतिशत), त्रिपुरासुन्दरी गाँउपालिकामा ८७ सय २५ (४३ प्रतिशत), गंगा-जमुना गाउँपालिकामा ८५ सय २५ (४७ प्रतिशत) खनियाँबास गाउँपालिकामा ४८ सय ३६ (५० प्रतिशत) र रुबिभ्याली गाउँपालिकामा ४७ सय ५५ (५३ प्रतिशत) गरी २९ हजार ६ सय ९७ (४८ प्रतिशत) खसेको छ ।

सम्पन्न चुनावमा पनि सिद्धान्त विपरित गठबन्धन गरेको, टाढा-टाढाबाट मतदाता ल्याउने, लाने र खाने ब्यवस्था नगरेको कारण स्थानीय चुनावमा जति मतदाता, नेता/कार्यकर्तामा उत्साह नदेखिंदा मतदान गर्नेको संख्या घटेको सामाजिक अभियान्ता धुव्रबहादुर थापाले बताए । मतदाता उत्साहजनकरूपमा मतदान गर्न सहभागी नहुँदा कम मत खसेको छ ।