११० जना उम्मेदवारमध्ये ११ जना सांसद

  • त्रिशूली प्रवाह
  • १४ पुष २०७९, बिहीबार १३:१२
  • राजेन्द्र बस्नेत

गजुरी, सङ्घीय संविधान जारी भएपछिको दोस्रो कार्यकालका लागि प्रतिनिधिसभा र प्रदेश सभाका मङ्सिर ४ गते सम्पन्न निर्वाचनामा धादिङ जिल्लाबाट प्रत्यक्षतर्फ ६६ जना र समानुपातिकतर्फ ५४ जना गरी एक सय १० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका थिए । निर्वाचनमा रहेका उम्मेदवारमध्ये १० प्रतिशत अर्थात् ११ जना सांसद बनेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश सभा निर्वाचन बहिष्कार गरी अप्रत्याशी मत प्राप्त गरेपछि परम्परागत दलका नेताहरूको चुनावी आकलन सोचेजस्तो हुन सकेन ।

धादिङको प्रतिनिधिसभा १ बाट सत्तागठबन्धनबाट बागमती प्रदेश सरकारका मुख्यमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे विजय हुँदा एमाले राप्रापा गठबन्धनका उम्मेदवार एमाले जिल्ला अध्यक्ष भूमिप्रसाद त्रिपाठी पराजित भए । प्रतिनिधिसभा २ मा सत्तागठबन्धनका उम्मेदवार एवम् नेपाली काङ्ग्र्रेसका जिल्ला सभापति रामनाथ अधिकारी विजय हुँदा एमाले राप्रपा गठबन्धनका उम्मेदवार एवम् एमालेका केन्द्रीय सदस्य खेमप्रसाद लोहनी पराजित भए । प्रतिनिधिसभा १ को प्रदेश सभा १ मा मधुकुमार श्रेष्ठ र प्रदेश सभा २ मा बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री एवम् माओवादी केन्द्रका पोलिटब्युरो सदस्य शालिकराम जमरकट्टेल विजय भए । प्रतिनिधिसभा २ को प्रदेश सभा १ गोविन्द लम्साल र प्रदेश सभा २ मा डम्बरबहादुर तामाङ विजय भए ।

धादिङबाट प्रतिनिधिसभा सदस्यका लागि विभिन्न दलले १७ जना र प्रदेश सभा सदस्यका लागि विभिन्न दलले ३७ जनाको नामावली बन्दसूचीमा रहेको थियो । राप्रपाको समानुपातिक सूचीमा रहेका बुद्धिमान तामाङ र विना लामा प्रतिनिधिसभा सदस्य बनेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकको सूचीमा रहेको डालप्रसाद अर्याललाई प्रतिनिधिसभा सदस्य बनाएको छ । यसैगरी नेपाली काङ्ग्रेसले शिवराज अधिकारीलाई बागमती प्रदेश सभा सदस्य र नेकपा एकीकृत समाजवादीले मायादेवी शर्मालाई बागमती प्रदेश सभा सदस्य बनाएको छ । संसद्मा दोस्रो ठूला दल बनेको नेकपा एमाले धादिङबाट बागमती प्रदेश र प्रतिनिधिसभा सदस्यमा प्रतिनिधित्व रहेको छैन ।

समानुपातिकतर्फ एमालेले प्रतिनिधिसभामा ४१ हजार ८८ र बागमती प्रदेश सभामा ४५ हजार चार सय ५१ मत पाएको थियो । नेपाली काङ्ग्रेसले प्रतिनिधिसभामा ३७ हजार पाँच सय २४ र बागमती प्रदेश सभामा ३८ हजार सात सय ८९ मत पाएको थियो । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभामा २७ हजार दुई सय ८८ र बागमती प्रदेश सभामा २९ हजार चार मत पाएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभामा १५ हजार सात सय ५५ मत पाएको थियो । नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभामा आठ हजार चार सय २९ र बागमती प्रदेश सभामा ११ हजार तीन सय ८८ मत प्राप्त गरेको थियो ।