भोक र रोगसँग लड्दै छन् चेपाङ बालबालिका

  • त्रिशूली प्रवाह
  • ४ जेष्ठ २०८०, बिहीबार ११:५८
  • राजेन्द्र बस्नेत

जिरवाङ (धादिङ), ढोका नभएको सानो घर । चोटा नछापेको जस्तापाता लगाएको घर । अन्नको नाममा २५ माना चामल, भाँडावर्तनमा कालो कसौँडी, केही थान थाल, सानो कन्ती, जम्मुकोकको पाँचवटा बोतल, दुईवटा ब्ल्याङकेट र केही थान म्याट । यी सामान कुरेर एक ६४ वर्षीया अपाङ्ग ज्येष्ठ नागरिक महिला बस्छिन् । ती महिला हुन् ६४ वर्षीया सानुमाया चेपाङ । उनी तीन वर्ष अघिदेखि प्यारालाइसिस भएर थलिएकी छिन् । उनको स्याहार-सुसारमा खटिएकी छिन् उनकी बुहारी कल्पना । कल्पना आफैँमा रोगी देखिन्छिन् । १६ वर्षमा विवाह गरेकी कल्पनाले २८ वर्ष उमेर हुँदासम्म पाँचपटक सुत्केरी भई ६ वटा सन्तानलाई जन्म दिइन् ।

पछिल्लोपटक आठ महिनाअघि कल्पनाले जुम्ल्याहा छोराछोरी पाइन् । सुत्केरी भएको आठ दिनदेखि उनी बिरामी परिन् । उनी बिरामी भएर एक महिना थलिइन्, सुत्केरी अवस्थामै बिरामी भएकाले स्याहार पुगेन । दूध आउँदैन, जुम्ल्याहा बच्चालाई स्याहार गर्न सकिनन् । मिठो-मसिनो नखाएपछि दूध आएन, जुम्ल्याहा बच्चा कुपोषणको चपेटामा छन् । कल्पनालाई जुम्ल्याहालाई कसरी सुपोषित बनाउने चिन्ता छ । यत्तिकैमा कल्पनाले थपिन्, ‘परिवार नियोजनको अस्थायी साधन संगिनी सुई लगाउने गरेकी थिएँ । एकपटक छुटेको थियो । जुम्ल्याहा बच्चा भयो । आठ महिनामा छोराछोरी चार-चार केजीका छन् । घरमा खाने अन्न छैन । अरू दुई छोरा, एक छोरी पनि छन् । सासूको हातखुट्टा चल्दैन । दिसापिसाब सोर्नुपर्छ । घरमा अरू महिला छैनन् । ६१ वर्षीय ससुरा ज्याला गर्न एकै ठाउँमा बस्छन् । बुढा (जीवन) पनि ज्याला गर्न टाढाटाढासम्म जान्छन्, उतै बस्छन् । जेठो छोरा विपन भूत लागेर म¥यो । माइलो साजन आठ वर्ष, छोरी आयुषा ६ वर्ष र साहिँलो छोरा आयुष चार वर्षका भए । उनीहरूलाई खुवाउने अन्न पनि छैन । पढ्न पठाउन कापी, कलम र लुगा पनि छैन ।’ खानेपानी पनि पुग्ने गरी छैन । खेती लगाएर पनि ६ महिनालाई खान मुस्किल पर्ने कल्पनाले बताइन् ।

जीवनले जीवन कहानी सुनाउँदै भने, ‘२६ वर्षको हुँदा १६ वर्षकी कल्पनासँग विवाह गरेँ । अहिले उनी २८ वर्षकी भइन् । ६ वटा बच्चा जन्मिए । आफूले प्राथमिक तह मात्र पढेको बताउँदै अहिले ज्याला गरेर परिवार पाल्न धौधौ परेको छ । कृषि काम गरेको बिहानदेखि बेलुकासम्म खान दिएर ६ सय रुपैयाँ कमाउँछु । निर्माणको काम गर्दा दैनिक नौ सय पाउँछ । सधैँ काम हुँदैन । जुम्ल्याहा छोराछोरी कुपोषणले ग्रस्त छन् । कसरी उपचार गर्ने, के खुवाउने अन्योलमा छु ।’ श्रीमती पहिलोपटक सुत्केरी हुँदा ६ वटा कुखुरा खुवाएको सम्झिँदै भने, ‘जुम्ल्याहा बच्चा पाएको पाला खुवाउन सकिनँ । श्रीमती एक महिना थला परिन् । भाग्यले बाँचिन् । अहिले खुवाउनुपर्ने थियो, खुवाउन पैसा छैन ।’ ‘चारपटकसम्म सुत्केरी हुँदा आमाको दूधले पुगेको थियो, तर यसपटक बिरामी भई उसलाई नै बचाउन मुस्किल प¥यो, रगत दिएर बचाएको । त्यही पनि भने जति रगत दिन सकिएन,’ उनले भने, ‘बच्चालाई बिहान आधा माना, बेलुका आधा माना भैँसीको दूध किनेर खुवाइरहेको छु ।’ आठ महिनामा बच्चा चार-चार केजी मात्र छन् । सबैजना कुपोषण भएको बताउने गरेको जीवनले सुनाए । घरासयी सामान न्यून पनि छैन । न सुत्ने ठाउँ पुग्छ न त ओढ्ने-ओछ्याउने नै छ । अन्नपात मात्र होइन पकाउने भाँडा नै छैन । विकल्प नभएको खानेपानी राख्न भाँडा पनि कोक, स्प्राइटका बोतल छन् । बेनीघाट-रोराङ गाउँपालिका-८ जिरवाङका कल्पना र जीवनको परिवार साँच्चै गरिबीको चपेटामा परेको छ । यो परिवारले एकसाथ भोक र रोगसँग लड्दै छ । यस गाउँपलिकामा ३८ प्रतिशत चेपाङको बसोवास रहेको छ । अधिकांश चेपाङ परिवारको अवस्था उस्तै छ ।

जिरवाङका पाँच वर्षमुनिकाको बालबालिकाको सङ्ख्या दुई सय आठ रहेको छ । शीघ्र कुपोषण भएका बालबालिकाको सङ्ख्या ५०, मध्य कुपोषण भएको बालबालिकाको सङ्ख्या ७५ र सामान्य कुपोषण भएको बालबालिकाको सङ्ख्या दुई सय ५० को हाराहारीमा रहेको बेनीघाट–रोराङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख शंकरबाबु ढुवाडीले बताए । पालिकाबाट कुषोषण भएका बालबालिकालाई लिटो पिठोको दिइरहेकोसमेत उनले बताए । पालिकाको जनसङ्ख्याको ३८ प्रतिशत चेपाङ समुदायको रहेको छ । उनले भने, ‘चेपाङ समुदायमा गरिबी, अशिक्षा, सचेतनामा कमीले गर्दा बहुविवाह, बालविवाह गर्नेको सङ्ख्या धेरै छ, उनीहरू जन्मान्तरलाई ध्यान दिँदैनन्, त्यसैले बालबालिकाको सङ्ख्या धेरै हुन्छ ।’ स्वास्थ्य शाखा प्रमुख ढुवाडीले भने, ‘जब खानेपानी र खाद्यान्न अभाव बढ्दै जान्छ कुपोषण हुने सङ्ख्या थपिँदै जान्छ, कुपोषण अवस्था सुधार गर्न पोषण सुधार केन्द्र सञ्चालनको अन्तिम तयारी पालिकाले गरिरहेको छ ।’ अहिले गाउँपालिकासँग समन्वय गरेर पोषण सुधारमा शान्ति नेपाल, हिमालय हेल्थ केयर, सुआहाराले पोषण सुधारका लागि काम गरिरहेका छन् ।