‘एक घर एक धारो’ निर्माणको शिलान्यास

  • त्रिशूली प्रवाह
  • २५ जेष्ठ २०८०, बिहीबार ११:३९

धादिङ, खानेपानीको चरम अभाव रहेको धुनीबेँसी नगरपालिका-७ गुर्धम गाउँमा ‘एक घर एक धारो’ निर्माण गर्ने गरी खानेपानी योजना निर्माण गर्न पँधेरा खोलामा शिलान्यास भएको छ । शुक्रबार एक कार्यक्रमबीच नगरप्रमुख बालकृष्ण आचार्यले पँधेरा खोला गुर्धम लिफ्ट खानेपानी योजनाको मुहानमा निर्माण गरिने पानी सङ्कलन ट्याङ्की निर्माणस्थलमा पूजाविधि गरी शिलान्यास गरेका थिए ।

शिलान्यास गर्नुपूर्व नगरप्रमुख आचार्यले आफू पहिलो कार्यकालका लागि निर्वाचित हुँदा गुर्धमका मानिस एकतर्फ र अर्कोतर्फ समस्या राख्दा बराबरै रहेको बताए । ‘विकास गर्नका लागि चाहिने सडक निर्माण सुरु ग¥यौँ । खानेपानी योजना, विद्युतीकरण, सामुदायिक भवन निर्माण, पुल निर्माणका काम ग¥यौँ । दोस्रो चरणमा ती कामलाई पूरा गर्दै छौँ । अब ‘एक घर एक धारो’मार्फत तपाईंहरूलाई पानी दिन्छौँ । खाद्य अधिकार सिकाउने संस्था फियान नेपालले तपाईंहरूलाई कर्तव्य पनि सिकाएकाले धेरै विकासको योजना पाउन सक्नुभएको छ । फियान नेपालले सहजीकरण गरेअनुसार तपाईंहरू सक्रिय हुनुभयो । आफ्ना सवाल लिएर नगरपालिका आउनुभयो । नगरपालिकाले ती माग क्रमशः पूरा गर्दै गएको छ । अब तपाईंहरूलाई उद्यममार्फत आय-आर्जनमा जोड्छौँ । समूहमा छलफल गरेर योजना तयार गर्नुहोस्,’ प्रमुख आचार्यले भने । उपप्रमुख सुरज उप्रेतीले विकासमा जनचासो भए मात्र छिटो र धेरै हुने भएकाले जनताले राखेको चासोमा नगरपालिकाले योजना निर्माण गरेर काम गर्ने बताए । ‘खानेपानी आउँछ । तपार्इंहरूको समय बचत हुन्छ । पानी बोक्ने समय आय-आर्जनसँग जोड्नुस् । यसैमा तपाईंहरूको आर्थिक प्रगति हुनेछ,’ उनले भने ।

गुर्धम गाउँमा खानेपानी योजना निर्माणधीन छ । चालू आ.व.मा ६१ लाखको काम हुँदै छ । गत आ.व.मा ४० लाखले एक लाख लिटरको दुईवटा ट्याङ्की निर्माण गरिएको छ । सबै घरमा पानीसहितको धारो पु¥याउने गरी काम भइरहेको छ । ६० लाख रुपैयाँमा विद्युतीकरणको काम भइरहेको छ । गत वर्ष दुई लाख रुपैयाँको लागतमा सामुदायिक भवन निर्माण भएको छ । चालू आ.व.मा रिम्स नेपाल र धुनीबेँसी नगरपालिकाको साझेदारीमा १४ लाख खर्चेर तरकारी सङ्कलन केन्द्र निर्माण गरी समुदायलाई हस्तान्तरण गरिएको छ । चालू आ.व.मा दुई लाख ५० हजारमा मन्दिर संरक्षण गरिएको छ । तीन लाख ८० हजारमा दुईवटा पोखरी संरक्षणको काम सुरु भएको छ । यी सबै काम गर्न फियान नेपालले हाम्रो क्षमता अभिवृद्धि गरी सहजीकरण गरी हामीलाई अधिकार र कर्तव्यबोध गराएकाले सम्भव भएको गुर्धम खाद्य अधिकार प्रभावित समूहका संयोजक नरेन्द्र तामाङले बताए । यसअघि नै ०७६ सालदेखि मोटरबाटो निर्माण भई गाउँमा मोटर पुगेको छ । गुर्धम र लिखु गाउँ जोड्न दुई सय ९१ मिटर लामो झोलुङ्गे पुल निर्माण गर्न टेन्डर भई निर्माण कम्पनी छनोट भइसकेको छ । गुर्धम गाउँ बर्खे आलु पकेट क्षेत्र घोषणा भएको छ । ‘दुई समूहमार्फत काम गरिरहेका छौँ । अब हामी गाउँमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गर्न लागिपरेका छौँ । साथै, पर्यटन प्रवद्र्धनमार्फत रोजगारी सिर्जना र आय-आर्जन गर्न होमस्टे बनाउन नगरपालिकामा निवेदन पेस गरेका छौँ,’ संयोजक तामाङले बताए । गुर्धम गाउँका मानिसले हाल पालो बसेर पानी लिनुपर्ने भएकाले राति ११ बजेसम्म र बिहान तीन बजेदेखि धारोमा पालो बस्नुपर्ने अवस्था छ । यसरी पालो बस्दा एक परिवारले दैनिक चार जर्किन (८० लिटर) पानी पाउँदै आएका छन् । त्यही पानीबाट नुहाइधुवाइ, सरसफाइ, खाना बनाउन, पिउन र वस्तुभाउलाई खुवाउन पु¥याउनुपर्ने बाध्यता रहेको छ । स्थानीयवासी घर-घरमा धारोमार्फत पानीको तीव्र प्रतीक्षामा छन् ।