सीप विकास तालिम लिएका ४७ प्रतिशत रोजगार

  • त्रिशूली प्रवाह
  • २१ भाद्र २०८०, बिहीबार १२:३७
  • राजेन्द्र बस्नेत

गजुरी (धादिङबेँसी), बागमती प्रदेशस्तरीय व्यावसायिक तथा सीप विकास केन्द्र गजुरी स्थापना भएको १४ वर्षमा करिब १० हजारजनालाई विभिन्न विषयका रोजगारमूलक तालिम दिएको छ । केन्द्रले प्रदान गरेको विभिन्न ३५ विधामा तालिम हासिल गर्नेमा ६३ प्रतिशत महिला र ३७ प्रतिशत पुरुष रहेका छन् । तालिम हासिल गरेकामध्ये ४७ प्रतिशत रोजगार तथा उद्यममा सक्रिय रहेको व्यावसायिक तथा सीप विकास केन्द्रका प्रमुख पुरुषोत्तम पाण्डेले दाबी गरेका छन् ।

आर्थिक वर्ष ०६६/६७ मा व्यावसायिक तथा सीप विकास केन्द्र स्थापना भएपश्चात् सीप सिकेर रोजगार तथा उद्यम गर्नेको सङ्ख्या ह्वात्तै बढेको छ । रोजगार तथा उद्यम गर्नेले पनि लगानी र सीपअनुसार कमाइमा सन्तुष्टि प्राप्त गरेका छन् । आ.व. ०७९/८० मा विभिन्न किसिमका तालिम लिएर रोजगार तथा उद्यममा संलग्नमध्ये तीन सयजनामा सर्वेक्षण गरेकामा तीमध्ये ९५ जनाले मासिक २० हजारसम्म र एक सय ४६ जनाले मासिक ३० हजारसम्म कमाइ हुने गरेको बताएका छन् । ४० जनाले मासिक ५० हजारसम्म र १९ जनाले एक लाखसम्म कमाइ हुने गरेको आफूले सीप सिकेर राम्रो गरेको स्वरोजगार तथा उद्यमी बन्न सहयोग पुगेको प्रतिक्रिया दिएको केन्द्र प्रमुख पाण्डेले बताए । केन्द्र स्थापनाको १४ वर्षमा नौ हजार सात सय २३ जना महिला र पुरुषलाई विभिन्न किसिमका तालिम कार्य क्षेत्रभित्रका विभिन्न स्थानमा पुगेर दिएको थियो । तालिम लिएकामध्ये ४७.५० प्रतिशत रोजगार तथा उद्यम गर्दै छन् भन्ने प्रारम्भिक अनुमान छ । ६ हजार एक सय ५९ जना महिला र तीन हजार पाँच सय ६४ जना पुरुषले तालिम लिएका छन् । डे«स मेकर तथा टेलरिङ तालिम दुई पुरुषसहित एक हजार पाँच सय २६ जनाले र कम्प्युटर अप्रेटर तालिम दुई सय ७९ पुरुषसहित एक हजार तीन सय पाँचजनाले लिएका छन् । यसैगरी आधारभूत ब्युटिसियन तालिम नौ सय ९५ जना, प्लम्बिङ तालिम चार सय १४ जनाले, मोबाइल मर्मत तालिम २९ जना महिलासहित चार सय ४० जनाले र बिल्डिङ इलेक्ट्रिसियन तालिम ७३ जना महिलासहित सात सय ८५ जनाले लिएको केन्द्रको तथ्याङ्क छ ।

व्यावसायिक तथा सीप विकास केन्द्रबाट इलेक्ट्रिसियन र प्लम्बिङको तालिम लिएका गल्छी गाउँपालिका–७ का ईश्वर अधिकारी हाल सर्वोच्च अदालमा करार सेवामा कार्यरत छन् । अधिकारी सर्वोच्च अदालतमा इलेक्ट्रिसियन र प्लम्बिङकै काम गरिरहेका छन् । आफूले लिएको तालिम र गरेको काममा सन्तुष्ट छन् । केन्द्रबाटै तालिम लिएर गजुरी बजारमा मोबाइल पसल तथा मर्मत गर्दै आएका राजेश पाठक पनि तालिमले निकै उत्साह बढाएको बताउँछन् । उनले एडभान्स तालिम गरेका थिए, तर प्रमाणपत्र थिएन । केन्द्रमा आधारभूत तालिम लिएपछि आफूमा मनोबल थपिएको उनी बताउँछन् । उनी भन्छन्, ‘लगानी र बजारअनुसारको उद्यमी बनेको छु । यसैमा खुसी छु ।’ थाक्रे गाउँपालिका–११ का नरेन्द्र थापा प्लम्बिङ तालिमपश्चात् रोजगार मिलेको बताउँछन् । १४ वर्षअघि तालिम लिएका थापाले केही वर्ष अरूको साथमा अनुभव लिए । अहिले उनी अरूलाई साथमा लिएर काम गरिरहेका छन् । ‘भूकम्पपश्चात् कामले नै मलाई खोजिरहेको हुन्थ्यो । अहिले काम ठीकै छ,’ उनले भने । सबै युवालाई सीपमूलक तालिम दिनुपर्ने थापा बताउँछन् । काठमाडौं कीर्तिपुर–७ चोभार भाजुगलकी प्रमिला सुनामले परम्परागत रूपमा गर्दै आएको कामलाई सीपमा परिणत गरेकी छिन् । उनको तालिम लिनुको उद्देश्य भनेको प्रमाणपत्र लिने र महिला लघुउद्यम कर्जा लिएर आफूले गर्दै आएको कामलाई प्रमाणपत्र देखाएर सिलाइ गर्ने थियो । तालिम लिएपछि प्रमाणपत्र बोकेर बैंक गइन्, तर बैंकले बिनाधितो दिने भनेको सहुलियत अहिलेसम्म नदिएको उनको भनाइ छ । ‘बैंकले ऋण दिए आफ्नै पसल खोल्ने धोको छ,’ उनी भन्छिन् । उनी अहिले अरूको कपडा ज्यालामा सिउँदै आएकी छिन् ।

केन्द्रबाट ब्युटिसियन तालिम लिएर गजुरी बजारमा ब्युटिपार्लर सञ्चालन गर्दै आएकी गंगा श्रेष्ठ पनि आफूले तालिम ढिलो लिएकोमा पश्चाताप गर्दै छिन् । ‘पहिल्यै तालिम लिन पाएको भए अहिले सेवा किन्ने आफूको सङ्ख्या निकै हुन्थ्यो होला । मेरामा सीमित सेवा किन्ने छन् । तैपनि म सन्तुष्ट नै छु,’ उनी भन्छिन् । गजुरी गाउँपालिका–३ का वासु सुवेदीले बिल्डिङ इलेक्ट्रिसियन तालिम लिएपश्चात् आफू उद्यममा लागेको र अरूलाई रोजगारी दिएको बताउँछन् । आफूले बिल्डिङ इलेक्ट्रिसियन तालिमबाट हासिल गरेको आधारभूत जानकारी र सीपबाट काम गर्दै अहिले लेवल टु पास गरेको र हालसम्म पाँच सय घर तथा सरकारी भवनमा काम गरिसकेकोमा खुसी छन् । तालिम लिएका सबै रोजगार तथा उद्यमी बन्न नसक्नुमा तालिम लिने र सरकारी निकायको कमजोरी देखिन्छ । सीप सिकेर रोजगार गर्न चाहनेलाई सरकारले सरल रूपमा सस्तो ब्याजदरमा उसको सीप तथा तालिमको प्रमाणपत्रको आधारमा ऋण दिने वातावरण बनाउनुपर्छ । अर्को उद्यमलाई व्यवसायमा दर्ता गर्दा धेरै ठाउँमा कर तिर्ने प्रणालीलाई सुधार गरेर एकद्वार प्रणालीबाट थोरै कर तिर्ने बनाउनुपर्ने र बैंकमार्फत ऋण दिने व्यवस्था सरकारले मिलाउन नसक्ने हो भने बिउ पुँजी तथा औजार दिने व्यवस्था मिलाउनुपर्ने केन्द्र प्रमुख पाण्डेले बताए ।