नुवाकोटको गाईजात्राको ऐतिहासिक महत्व

  • त्रिशूली प्रवाह
  • २१ भाद्र २०८०, बिहीबार १४:४२
  • रिना खनाल

भाद्रकृष्ण द्वितीया अर्थात् गाईजात्राको दिन भदौ १४ गते शुक्रबार । हरेक वर्ष मृतात्माको सम्झनामा यो दिन गाईजात्रा देशैभर मनाइन्छ । नेपाल एकीकरणको साक्षीको रूपमा रहेको नुवाकोट, नुवाकोटको पनि इन्द्रचोक र दरबार क्षेत्र रहेको पुरातात्विक स्थानको सानोचोक, चर्कोे घामका बीचमा मानिसको भिडभाडले जात्राको महत्व उजागर गरिरहेको थियो । उपत्यकाका स्थानसँग मिल्दोजुल्दो नाम रहेको नुवाकोटमा इन्द्रचोक, असनबजार नयाँबजार, भुटोल बजारलगायत अनगिन्ती स्थान र देवीदेवताको मठमन्दिर रहेका छन् । टुँडिखेल वरपरका डबली, खाली स्थान र घरका कौसी तथा बरन्डामा गाईजात्रा हर्षोल्लासका साथ मनाउनेहरू भरिभराउ थिए । ‘पक्कुम डुम पकन-कडुम छ्या, पक्कुम डुम पकन-कडुम छ्या’ बाजासँगै ‘यो लाखेको रातो गाला कल्ले म्वाइँ खाला’ बाँसुरीको धुनमा रमाइरहेका भिडतर्फ भन्दा सबैको ध्यान भने लाखे नाचमा केन्द्रित थियो । स्थानीयको सहभागितामा जात्राको माहोल र रौनक उत्तिकै देखिन्थ्यो ।

लाखेसँगै नाच्ने भक्कु जसको चर्तीकला दर्शक तथा लाखेलाई हैरान (ठट्यौली) पार्नु अर्को रमाइलो पक्ष हो । हातमा क्यामेरा र मोबाइल बोक्दै लाखेनाचको वरपर फोटो तथा भिडियोमा कैद गर्न व्यस्त समूह पनि रहेका छन् । त कहीँ ख्याली बनेका युवा समाजका कुरीति, कुसंस्कार तथा राज्यमा देखिएका विसङ्गति विकृतिलगायतका विरुद्धमा व्यङ्ग्यात्मक शैलीमा सबैलाई रोचक बनाएर जनचेतना छर्दै थिए । नुवाकोट दरबार आसपासमा रहेका नेवार बस्तीभित्र वर्षभरि नै विभिन्न चाडपर्व तथा जात्रा हुने गर्दछ । धर्म, संस्कार र संस्कृतिमा धनी नेवारहरूको बस्तीमा जात्रा नहुने त कुरै भएन । नुवाकोटको इन्द्रचोकमा हुने गाईजात्रा पर्वको चर्चा-परिचर्चा बेग्लै ढंगले हुने गर्दछ । गाईजात्राको दिन देवी भैरवीको परिसर (स्थानीय मृतक परिवारको घर) बाट बुढी गाई र दिवंगत आफन्तको सम्झनामा एक-एक गाई ख्याली तथा जोगीलाई निकालिन्छ । त्यसपछि गाईजात्रा सुरु हुन्छ । मृतात्मालाई शान्ति मिलोस्, स्वर्गमा वास होस् अर्थात् उसले गरेका पाप नष्ट भई जाऊन् भन्ने मान्यताका साथ पूजा गरी पहेँलो वस्त्रमा सजिएका विभिन्न रूप धारण गरेका समूह गाईसँगै बजार परिक्रमा गराइन्छ । उनीहरूलाई बजार परिक्रमा गराउँदा दिवंगतको सम्झनामा निकालिने हरेक घरपरिवारले मिठाई तथा फलफूल र द्रव्य दान गर्ने परम्परा रहेको छ । उनीहरूको साथमा भैरवी भजन मण्डलीको पनि आफ्नै तालमा भजनकीर्तन गर्दै सहभागी हुन्छन् । राजा प्रताप मल्लले आफ्नो पुत्रवियोगमा रहेकी रानीलाई सारा प्रजाले पनि यस्तै शोक व्यहोर्नुपरेको देखाउन हरेक मृतकको घरबाट गाई निकाल्नु भन्ने आदेश रहेकाले यो जात्रा प्रचलनमा आएको किंवदन्ती रहेको पाइन्छ ।

गत असार ३० गते गथांमुग : (गठेमङ्गल) देखि नुवाकोट दरबारपरिसर जात्रामय बनिरहेको थियो । यहाँका नेवार समुदाय लाखेनाच जात्रामा एक हप्ता व्यस्त रहन्छन् । यसरी नाचिने नाच प्रायः देवीदेवतासँग जोडिएका हुन्छन् । सङ्घीय राजधानी काठमाडौं उपत्यका र नुवाकोटको चाडपर्व, रीतिरिवाज, धर्म, संस्कृतिमा समानता रहेको पाइन्छ । त्यसैकारण काठमाडौंमा हुने प्रायः देवीदेवताको जात्रा नुवाकोटको इन्द्रचोकमा हुँदै आएको छ । यहँका जात्रा गर्ने नेवार समुदाय बसाइँ सर्दै गएको कारण बाँकी रहेका नेवार समुदायलाई अन्य जात र समुदायले साथ र सहयोग दिँदै आइरहेका छन् । स्थानीय जानकारका अनुसार गोर्खाका राजा पृथ्वीनारायण शाहले राज्य विस्तार गर्ने क्रममा उपत्यका कब्जा गर्दा त्यहाँका नेवार समुदाय धेरैले उपत्यका छाडेका थिए रे । उपत्यका छाडेका नेवार समुदाय व्यापारको सिलसिलामा उपत्यकाबाहिर छरिन पुगेका थिए । नुवाकोटमा पनि काठमाडौंबाट नेवार समुदाय व्यापार, व्यवसायको सिलसिलामा बसाइँ सरी आएका इतिहासमा उल्लेख छ । त्यसैले विभिन्न परम्परागत संस्कृति उपत्यकाभन्दा खास नुवाकोटमा भिन्न छैनन् । उपत्यकामा जस्तै नुवाकोट दरबार परिसरमा पनि असन, इन्द्रचोक, नयाँबजार, भुटोल बजार जस्ता स्थानमा समानता रहेका छन् । मूलतः काठमाडांै उपत्यकाका लाखेनाचको मात्र बढी चर्चा हुने कारणले अन्य जिल्लामा नाचिने लाखेनाच ओझेलमा परेको पाइन्छ । बसाइँसराईका कारण नेवार समुदायले आफ्नो बस्ती विकास गर्दा संस्कृतिको रूपमा लाखेनाच उपत्यकाबाहिर पनि नचाउन थालेको र यो नाच अन्य जाति र समुदायमा पनि बिस्तारै लोकप्रिय हुँदै गएको स्थानीय संस्कृति तथा ऐतिहासिक पक्षको खोज अनुसन्धानमा सक्रिय रामलाल श्रेष्ठले बताए ।

लाखेनाचको इतिहास कोट्याउँदा कुनै लिखित प्रमाण त छैनन् । तर, नेपालमा लाखेनाच गुणकामदेवले चलाएको मानिन्छ । नेवार समुदायमा बढी प्रचलनमा रहेको लाखेनाच वर्षौँदेखि चल्दै आएको मौलिक सांस्कृतिक र जातीय पहिचान झल्काउने नाच हो । लाखेनाचले नेवार समुदायको संस्कृतिको प्रतिनिधित्व गर्दछ । नुवाकोटका साक्षात् देवी भैरवीका पुजारी धामी हरिमानसिंह डङ्गोलका अनुसार नुवाकोटको एउटा सानो लाखे हो जसलाई नाट्यश्वरी (सरस्वतीको रूप) मानिन्छ । देवी (नाटेश्वरी) चढ्ने र एकदम सु-सम्पन्न तथा शक्तिशाली भएकोले यहाँको लाखेलाई तत्कालीन शासकले काठमाडौं निमन्त्रणा गरी उपत्यकाका लाखेसँग प्रतिस्पर्धा गराएका थिए । उक्त सानो लाखेले उपत्यकाको लाखेलाई परास्त गरेपछि ठूलो लाखेमा पद्धोन्नति एवम् बकसस्वरूप ठूलो लाखेको पद प्राप्त भएको किंवदन्ती पाइन्छ । उक्त समयमा ठूलो लाखेलाई तादी र त्रिशूली नदी नकटाउनु र कटाउनै परे सरकारको स्वीकृति लिनुपर्ने, सानो लाखे र ठूलो लाखे सँगै नचाउनु भन्ने आदेश रहेको द्वारे (सरकारको प्रतिनिधि) बताउँछन् ।

नुवाकोट दरबार क्षेत्रमा यस नाचको जगेर्ना गर्न नुवाकोट दरबार लाखेनाच संरक्षण समितिमार्फत विभिन्न मेला तथा पर्वमा आयोजना गरिने स्थानमा आफ्नो नाच प्रदर्शन गर्ने गरेको छ । दरबार परिसरमा हरेक पूजाआजा तथा जात्रा गुठीमार्फत गरिने परम्परा रहेको छ । धार्मिक एवम् सांस्कृतिक महत्व बोकेको अन्य स्थानमा नचाउने लाखेभन्दा फरक यो नाच अचेल बिस्तारै हराउँदै गएको छ । यहाँ लाखे नचाउँदा ठूलो लाखे धामी (देवी भैरवीका पुजारी)को घरबाट र सानो लाखे द्वारेको घरबाट निकालिने परम्परा विगतदेखि नै रहिरहेको छ । ०७२ को भूकम्पले द्वारेको निवास चर्किएकाले हाल लाखे एकै स्थानबाट मात्र निकालिने गरेको द्वारे महेन्द्रकुमार शाहीले बताए । द्वारेका अनुसार पहिले/पहिले लाखे बन्ने व्यक्ति नेवार मात्र हुन्थे, अहिले अन्य जातका पनि बन्ने गरेको बताउँछन् । लाखेलाई कंशको रूपमा लिने भएकोले लाखे बन्दा लगाउने मुकुट राक्षसको रूपमा मानिन्छ । ठूलाठूला आँखा, दाह्रा निस्केको रूप जुन झट्ट देख्दा एकदमै डरलाग्दो हुन्छ । लाखेले लगाउने चोलो, जामा र घंगलामा निकै आकर्षक देखिन्छ ।

नुवाकोटको लाखेलाई तान्त्रिक विधिमा नचाउने भएकाले अन्यत्र स्थानको भन्दा फरक आकर्षण रहेको पाइन्छ । देवी नाट्येश्वरी चढेर कामेको लाखे । कृष्ण जन्माष्टमीभन्दा केही दिनअघि स्थानीय समुदायले नाट्येश्वरी मन्दिर परिसरमा विशेष साइतमा कालो बोका बलि दिएर पूजा गर्छन् । पूजा सकिएपछि गुठियारका केही व्यक्ति (लाखे नाच्न जान्ने)ले ‘सी’ खाने परम्परा छ । ‘सी’ खाइसकेपछि ती व्यक्तिमा नाट्येश्वरी चढ्ने विश्वास छ । ती व्यक्ति पालैपालो काम्न थाल्छन् । त्यस्तो बेला उनीहरूलाई समात्न हम्मे-हम्मे पर्छ । चार-पाँचजनाले समातेर उनीहरूलाई लाखेको पहिरन पहिराइन्छ । जुन समय लाखेका सेवक तथा अन्य सहयोगीका लागि कष्टकरको क्षण हुन्छ । केही समय बाजाको तालमा नचाएपछि बिस्तारै काम्न छाड्छन् । कृष्ण जन्माष्टमीको रात कृष्ण जन्मेपछि लाखे मर्छ । कतिपय लेखमा नुवाकोटबाट उपत्यका गएका ठकुरी राजाले लाखे भित्र्याएका भन्ने पनि पाइन्छ । नेपालकै अन्य समुदाय र पर्यटकका लागि लाखेनाच नौलो र रोचक मानिन्छ । बाजाको तालमा स्थानीय तथा राष्ट्रिय लोकधुनमा बाँसुरी बजाएर लाखे नचाउँदा दर्शक रमाउने गर्दछन् । दरबार परिसरमा यो नाच तान्त्रिक विधिमार्फत अनुष्ठान गरिने भएकाले अझै विशेष मानिन्छ । यो जात्राको बीचमा टाकटुके जात्रा, विवाह जात्रा, सिपाही जात्रा, रोपाइँ जात्रा मनाइन्छ । गाईजात्राको भोलिपल्ट सिपाही जात्रा (सरकारी जात्रा) मनाइन्थ्यो । हाल यो जात्रा लोप हुने अवस्थामा छ । नुवाकोटकै नेवार समुदायमा पनि स्थानअनुरूप लाखेनाच फरक-फरक तरिकाले नचाइने गरिन्छ । त्रिशूली, बट्टार, ढिकुरे, खरानीटार, आप्रह, गँगटे, देवीघाट, कोलनी, विदुर, रानीपौवा, बेत्रावतीलगायतका नेवार बस्ती रहेको बजारमा फरक–फरक तरिकाले नाच्ने गरेको पाइन्छ । यस्ता संस्कृतिको बेलैमा पहिचान गरी जगेर्ना गर्नु हामी सबैको दायित्व हो ।