+
Search

ताजा अपडेट +

पपुलर +

स्वयम्भू महाचैत्यको पुनर्निर्माण सुरु बुद्धको मूर्ति र चैत्यको प्राणप्रतिष्ठा सम्पन्न

स्वयम्भू महाचैत्यको पुनर्निर्माण सुरु बुद्धको मूर्ति र चैत्यको प्राणप्रतिष्ठा सम्पन्न
त्रिशूली प्रवाह
३ साल अगाडी

विदुर, नुवाकोटको विदुर नगरपालिका–२ को अशोकबाटिकानजिकै रहेको ऐतिहासिक तथा धार्मिकस्थल स्वयम्भू महाचैत्यको पुनर्निर्माण गरी प्रतिस्थापन गर्ने कार्य थालनी भएको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

ऐतिहासिक तथा धार्मिकस्थल स्वयम्भू महाचैत्यको ऐतिहासिक पक्षबारे एकमत नभए पनि यो बौद्ध विहार नेपालमा रहेका विहारमध्येकै सबैभन्दा पुरानो हो । पुरातात्विक महत्व बोकेको यो क्षेत्रका पहिलेका चैत्य, बुद्धको प्रतिमा नष्ट भएर गएको थियो । अलपत्र परेको ऐतिहासिक तथा धार्मिकस्थलमा स्वयम्भू महाचैत्य पुनर्निर्माण गरी प्रतिस्थापन गर्ने कार्यको थालनी सुरु भएको छ । नुवाकोट जिल्लाकै सबैभन्दा पुरानो ऐतिहासिक, पुरातात्विक र धार्मिक निर्माणाधीन स्वयम्भू महाचैत्य क्षेत्रभित्र एक सय आठवटा चैत्य बनाउने योजनाअनुसार शनिबार विदुर नगरपालिका– २, नुवाकोटको अशोकबाटिकामा बुद्धको मूर्ति र चारवटा चैत्य (चवाहाल)को प्राणप्रतिष्ठा गरिएको विदुर नगरपालिका–२ का अध्यक्ष दीपक कायस्थले बताए । स्वयम्भू महाचैत्य पुनर्निर्माण अभियानका संयोजक गौतममान सिंहले शुक्रबार र शनिबार दुई दिन विधिपूर्वक नेवारी परम्पराअनुसार गुभाजूद्वारा पूजाआजा गरी चारवटा मूर्तिमा प्राणप्रतिष्ठा गरिएको बताए । अभियन्ता सिंहले महाचैत्य पुनर्निर्माण चार चरणमा गरिने र पहिलो चरणमा टुँडिखेलदेखि स्वयम्भू चैत्यसम्म ढुङ्गेसिँढी निर्माण गर्ने र सिँढीको दायाँबायाँ बुद्ध धर्मसँग सम्बन्धित चिभा, चैत्य, मूर्ति आदि निर्माण गर्ने, दोस्रो चरणमा सम्पूर्ण पाँच रोपनी जग्गालाई पूर्ण रूपमा ऐतिहासिक झलक आउने गरी ढुङ्गे पर्खाल निर्माण गर्ने, तेस्रो चरणमा स्वयम्भू महाचैत्यको निर्माण गर्ने र चौथो चरणमा सर्वसाधारण र सङ्घसंस्थालाई बौद्ध धर्मको प्रचार–प्रसार र ध्यान–साधना गर्न महास्तुपा, विहार, चैत्य, चिवा, बुद्धका मूर्ति निर्माण गर्ने कार्ययोजना रहेको बताए । स्वयम्भू महाचैत्यको गुरुयोजना विदुर नगरपालिकाले बनाइदिएको छ । उक्त गुरुयोजनाअनुसार निर्माणकार्य अगाडि बढिरहेको अभियन्ता सिंहले त्रिशूली प्रवाह साप्ताहिकलाई जानकारी दिए ।

प्राणप्रतिष्ठा कार्यक्रममा विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले जिल्लामा पर्यटन क्षेत्रको विकासमा महाचैत्य निर्माणले महत्वपूर्ण भूमिका खेल्ने बताए । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले महाचैत्यको स्थापनाले नुवाकोटलाई बौद्ध धर्ममा आस्था राख्नेको केन्द्र बन्ने विश्वास व्यक्त गरे । करिब १४ सय वर्षअघि लिच्छविकालीन समयमा निर्माण गरिएको उक्त विहार जीर्ण भएर अस्तित्व नै सकिन लागेकाले गत वर्ष पुरातत्व विभागले उत्खननसमेत गरेको थियो । बुद्धको मूर्तिलाई प्राणप्रतिष्ठाअघि महामण्डल अशोकबाटिकादेखि दरबार क्षेत्र हुँदै भैरवी मन्दिरसम्म बाजागाजासहित परिक्रमा गराइएको थियो । मेयर श्रेष्ठले बुद्धको मूर्ति बोकेर गरिएको परिक्रमामा जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, नेपाली सेना, प्रहरी र स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो । सो कार्यक्रममा सहभागी हुन काठमाडौं, ललितपुरका बुद्ध धर्ममा आस्था राख्ने विभिन्न सङ्घसंस्थाका सहयोगी ६ वटा मिनीबसमा आएका थिए । स्वयम्भू महाचैत्यको पुनर्निर्माणमा जिल्लावासीभन्दा काठमाडौं, ललितपुर र भक्तपुरदेखि विदेशमा रहेका बुद्धप्रति आस्था राख्नेहरूको सक्रियता रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह