अपराध न्यूनीकरण गर्न शिक्षक-प्रहरी प्रतिनिधि

  • त्रिशूली प्रवाह
  • २१ मंसिर २०८०, बिहीबार १२:०९
  • राजेन्द्र बस्नेत

धादिङबेँसी, स्कुलमा पढ्दै गरेका बालबालिका वर्तमान र भविष्यमा समेत आपराधिक गतिविधिमा नलागून् भन्ने उद्देश्यले अपराध न्यूनीकरणका कक्षा सञ्चालन गर्न शिक्षकलाई प्रहरीका प्रतिनिधिको रूपमा नियुक्ति गर्न धादिङमा सुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय धादिङले नीलकण्ठ नगरपालिकाभित्रका सामाजिक विषय अध्यापन गराउने शिक्षकलाई प्रहरी–शिक्षक प्रशिक्षण कार्यक्रममा सहभागी गराएको छ ।

गत शुक्रबार जिल्ला प्रहरी कार्यालय धादिङबेँसीमा प्रशिक्षण कार्यक्रममा सहभागी प्रशिक्षकलाई अपराध न्यूनीकरण तथा दण्ड-जरिवानासहितको पावर प्वाइन्ट शिक्षण सामग्रीसहित प्रदान गरेर सुरु भएको छ । पावर प्वाइन्टमा तयार पारी पेनड्राइभमा, एउटा डायरी कार्यक्रमको टिपोट गर्नका लागि शिक्षक प्रहरीलाई प्रदान गरिएको धादिङ प्रहरी कार्यालय प्रमुख एवम् प्रहरी उपरीक्षक गौतम मिश्रले बताए । प्रहरी–समुदाय साझेदारी अभियानअन्तर्गत नीलकण्ठ नगरपालिकाको सहयोगमा जिल्ला प्रहरी कार्यालय धादिङले आयोजनामा गरेको शिक्षक–प्रहरी प्रशिक्षण कार्यक्रम जिल्लामै पहिलोपटक आयोजना गरिएको हो । प्रशिक्षणमा नीलकण्ठ नगरपालिकाभित्रका ३० वटा माध्यमिक विद्यालयका सामाजिक विषय अध्यापन गराउने शिक्षकको सहभागिता रहेको प्रहरी उपरीक्षक मिश्रले बताए । प्रहरीले विभिन्न ठाउँमा जनचेतनामूलक कार्यक्रम गर्दै आए पनि पर्याप्त नभएकाले विभिन्न प्रकारका अपराध न्यूनीकरण गर्न विद्यालयमा अनुकूल समयमा प्रशिक्षण दिने उद्देश्यले प्रहरी–शिक्षक प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको उनले बताए । शिक्षकले पनि प्रहरीजस्तै गरी आ–आफ्नो विद्यालयमा हरेक हप्ता विभिन्न विधामा विद्यार्थीलाई कक्षा सञ्चालन गरी विद्युतीय अपराध, लागुऔषध दुव्र्यसन, ट्राफिक सचेतना, घरेलु हिंसा, मानव बेचबिखन, आत्महत्या न्यूनीकरण, घरेलु तथा लैङ्गिक हिंसालगायतका विभिन्न विषयमा कानुनी ज्ञानसम्बन्धी जनचेतनामूलक विषयमा अध्यापनमार्फत जनचेतना जगाई समाजबाट हुने अपराध नियन्त्रण गर्ने उद्देश्यले प्रहरी–शिक्षक प्रशिक्षण कार्यक्रम आयोजना गरिएको मिश्रले बताए ।

प्रशिक्षण कार्यक्रममा धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरे, सहायक जिल्ला प्रमुख अधिकारी हुमनाथ पराजुली, नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीलगायतको उपस्थिति रहेको थियो । प्रशिक्षकमा सहभागी भएका सामाजिक शिक्षकलाई नियुक्ति तथा प्रशंसापत्र प्रदान गरिएको छ । यसअघि प्रहरी आफैँले प्रहरी–समुदाय साझेदारी अभियानअन्तर्गत विद्युतीय अपराध, लागुऔषध दुव्र्यसन, ट्राफिक सचेतना, घरेलु हिंसा, मानव बेचबिखन, आत्महत्या न्यूनीकरण, घरेलु तथा लैङ्गिक हिंसालगायतका विभिन्न विषयमा कानुनी ज्ञानसम्बन्धी जनचेतनामूलक विषयमा अध्यापनमार्फत जनचेतनाका कार्यक्रम गर्दै आएको छ ।