नेपाल एकीकरणदेखिको मौलो बलि पूजा कायमै

  • त्रिशूली प्रवाह
  • २८ मंसिर २०८०, बिहीबार १२:५७
  • सुनील श्रेष्ठ

बेलकोटगढी, नेपाल एकीकरणको क्रममा नुवाकोटको बेलकोटगढीमा सुरु भएको मौलोमा बलि चढाउने प्रथाले अझै निरन्तरता पाइरहेको छ । जिल्लाको साबिकको बेलकोट गाविस–१ हाल बेलकोटगढी नगरपालिका–१० मा रहेको ऐतिहासिक महत्वको मौलोको बलि चढाउने प्रथा अझै कायमै छ । नेपाल एकीकरण गर्ने तत्कालीन श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियानको क्रममा नुवाकोटपछि बेलकोटगढी विजयी गरेका थिए ।

पृथ्वीनारायण शाहको नेतृत्वमा सेनानायक कालु पाँडेद्वारा बन्दी बनाइएका जयन्त रानालाई बीभत्स किसिमले हत्या गरी उक्त ठाउँमा बलि चढाउने प्रथा सुरु गरेको थियो । उक्त प्रथा अहिलेसम्म कायम रहेको छ । उनकै सम्झनामा मौलो स्थापना गरी पूजाआजाका साथै बलि चढाउने प्रचलन सुरु भएको स्थानीयले बताउँदै आएका छन् । मौलो गाडी बलि चढाउने चलन नभएसम्म कोट गणना हुँदैन । तत्कालीन समयमा आठ मिटर चौडाइ, झण्डै २० मिटर लम्बाइ तथा १२–१५ फिट गहिराइ ओगटेको यो पोखरीको बीचभागमा मौलोसमेत गाडिएको स्थानीयको भनाइ छ । मौलोको गजुरमा भने बुट्टा कुँदिएको र देवी–देवताको मूर्ति पनि कुँदिएको पाइन्थ्यो । विगतमा उक्त पोखरी छेउछाउ ठूला रूखले ढाकिएको थियो । त्यसमा पनि केही रूख पोखरीतर्फ नै निहुरिएका देखिन्थ्यो भनेर स्थानीयले भन्दै आएका छन् । त्यसलाई मानिस देउती बज्यैलाई दर्शन गरेको सम्झन्थे ।

विजयादशमीमा सोही काठको मौलोमा नियमित बलि चढाइन्छ । दसैँको आठौँ दिन अष्टमी वा कालरात्रिको दिन चामलको रेखी हाली देवदेवीको चित्र कोरी विधिपूजा गरी बलि दिने काम अहिलेसम्म भइरहेको छ । अहिले पनि दसैँको अष्टमी र नवमीको दिन एक–एकवटा राँगोको बलि चढाइन्छ । मौलोसँगै रहेको निरञ्जना देवीको मन्दिरमा रहेको अग्निकुण्डमा चरुहोम हवन गरिसकेपछि राँगो, बोका, कुखुरा, कुभिन्डो र घिरौँलाको बलि दिने प्रचलन कायमै छ । पुरातत्व विभाग र स्थानीय पालिकाले बलिका लागि नौवटा बोका र दुईवटा राँगोका लागि पूजा व्यवस्थापन खर्च उपलब्ध गराउँदै आएको छ । विगतमा काटिएका वा बलि चढाइएका राँगा, बोका, सफा गर्न नभ्याएका कारण कोतघरको दायाँ छेउमा रहिरहने, तर त्यसै रातको १२ बजेतिर एउटा बाघ देखापर्ने र काटेको राँगाको गर्धनबाट दुई केजीजति मासु लैजाने गरेको किंवदन्ती रहेको छ । जयन्त रानामगरको बीभत्स हत्या गरेकाले उनको आत्मा राति आउने गरेको भनाइ रहिआएको छ । उनको हत्या गरेको वर्षको दसैँदेखि मन्दिरको कोतघरमा जमरा राख्ने प्रचलन सुरु भएको र अहिलेसम्म पनि गाउँभरका सबैले संयुक्त जमरा राख्दै आएको मन्दिरका उपासे मानबहादुर रानामगरले बताए । अहिले पनि उक्त देवी मन्दिरको वरपरका बासिन्दाले दसैँको जमरा आफ्नो घरमा राख्दैनन् । तर, केही वर्षदेखि स्थानीयले पनि आफ्नो घरमा दसैँमा जमरा राख्न सुरु गरेका छन् । नुवाकोटको नाम नौवटा कोट जोडेर नवकोट हुँदै नुवाकोट भएको हो । नुवाकोटको नाममा अहिले जिल्लाको नामकरण गरिएको छ भने बेलकोटगढीको नाममा विगतमा बेलकोट गाउँ पञ्चायत, गाउँ विकास समिति हुँदै हाल नगरपालिका नामकरण भएको छ । जिल्लामा नौवटा कोट रहेका छन् । नौ कोटमध्येको बेलकोटगढी कोट ऐतिहासिक र वैभव रहेको कोट हो ।

ऐतिहासिक बेलकोटगढी क्षेत्रमा झण्डै निरञ्जना देवी गुठीको नाममा १३ सय रोपनी जग्गा रहेको भए पनि हाल गुठी रैकरमा नामसारी भएकाले देवीको नाममा रहेको जग्गा घटिरहेको छ । निरञ्जना देवीको नाममा रहेको जग्गा स्थानीयले अतिक्रमण गरिरहेको गुनासो आएपछि बेलकोटगढी नगरपालिकाले नापी कार्यालयमार्फत पुनः नापजाँच गर्न लागेको जानकारी पाएको स्थानीय समाजसेवी भगवान रानामगरले बताए । ऐतिहासिक महत्वको गढीमा अहिले नगरपालिका र पुरातत्व विभागले स्थानीयसँग समन्वय गरेर गढी र मन्दिरको संरक्षणमा काम गरिरहेको छ । ऐतिहासिक तथा धार्मिक महत्वको उक्त क्षेत्रमा जाने पक्की सडक भए पनि प्रचार–प्रसार नहुँदा आन्तरिक र बाह्य पर्यटकको आवत–जावत सङ्ख्यात्मक रूपले बढ्न सकेको छैन । यो क्षेत्र सदरमुकाम विदुरबाट करिब १५ किलोमिटरको दूरीमा रहे पनि प्रचार–प्रसार हुन नसक्दा ओझेलमा परेको छ ।