थापा परिवार वसन्ती दरबारमा १२ पुस्तादेखि पूजा गर्दै

  • त्रिशूली प्रवाह
  • २८ मंसिर २०८०, बिहीबार १३:१४

ककनी (नुवाकोट), नुवाकोटको ऐतिहासिक एवम् पर्यटकीय स्थल ककनी काठमाडौंबाट २५ किलोमिटरको दूरीमा रहेको हिमशृङ्खलाको दृश्यावलोकनका लागि महत्वपूर्ण क्षेत्र हो । यो क्षेत्र काठमाडौंवासीको पिकनिक आउने क्षेत्र पनि हो । यहाँ नेपालको इतिहाससँग जोडिएको वसन्ती दरबार पनि रहेको छ ।

ककनी गाउँपालिका-५ मा रहेको वसन्ती दरबार ०७२ को भूकम्पले ध्वस्त भएपछि पुरातत्व विभागले पाँच वर्ष लगाएर पुनर्निर्माण सम्पन्न गरेको थियो । १२ पुस्तादेखि वसन्ती दरबारमा आफ्नो पूजापाठ गराउँदै आएका भीमसेन थापाका परिवारले दरबार पुनर्निर्माण भएपछि पनि पूजापाठलाई निरन्तरता दिइरहेका छन् । ककनी पौवा गुठीका गुठियारले आफ्नो सनातन धार्मिक कार्यलाई निरन्तरता दिँदै गत बिहीबार गुठीयार शशिविक्रम थापाले धार्मिक अनुष्ठान गरी लाख दीप प्रज्वलन गरेका थिए । उनका पुर्खा कर्नेल रणवीरसिंह थापाले वि.संं. १८८८ सालमा तत्कालीन सरकारबाट लालमोहर पाई उक्त ककनी पौवा गुठीको नाममा जग्गासहित दरबार निर्माण गराएका थिए । रणवीरसिंह प्रधानमन्त्री भीमसेन थापाका भाइ हुन् । थापा परिवारले यहाँ १२ पुस्तादेखि वसन्ती दरबारमा आफ्नो पूजापाठ गराउँदै आएको बताए । ‘पुर्खादेखि हामीले यहाँ पूजा गर्दै आएका छौँ,’ उनले भने, ‘अहिले हाम्रो १२ पुस्ता भयो । यसपटक भने लाख बत्ती बालेका छौँ ।’ पुरातत्व विभागको दुई करोड २० लाख रुपैयाँ बजेट र ककनी गाउँपालिकाको सहजीकरण तथा समन्वयमा उक्त दरबार पुनर्निर्माण भएको हो । उक्त दरबार धर्म÷एसपी÷वर्षा जेभीले निर्माणको ठेक्का लिई निर्माण गराएका थिए । गाह्रोमा तेलिया इँटा र माटो प्रयोग गरिएको छ भने भित्तामा चुना र सुर्की प्रयोग भएको छ । बुट्टेदार काष्ठकलाका थाम, झ्याल र निदाल अग्राखको हालिएको छ । ०७२ साल वैैशाख १२ गतेको भूकम्पले दरबारको पूर्वी भाग चर्किएको र त्यसपछिको वर्षात्ले गाह्रो लडेर छानाबाट पानी चुहिँदा केही वर्ष अस्तित्वविहीन अवस्थामा रहेको थियो ।

दरबारअगाडि धुपीका रूख र गणेश मन्दिर छ । तीनतले दरबारमा आधा दर्जन कोठा छन् । दरबार झिँगटीले छाइएको छ । वरिपरि बनेका ठूला होटेलले दरबारको सुन्दरतालाई छेकेको छ । यो दरबार समुद्री सतहदेखि एक हजार पाँच सय मिटर उचाइमा रहेको छ । दरबार काठमाडौंको उत्तरपश्चिम २९ किलोमिटर दूरीमा पर्छ । यही नजिक डाँडाबाट गणेश, गौरीशंकर, लाङटाङ, मनास्लु, साङजेन, अन्नपूर्ण, दोर्जे ल्हाक्पा, छेरकोरीलगायत दर्जन हिमालको दृश्यावलोकन गर्न सकिन्छ । यो दरबार राणाशासन आउनुपूर्व काजी गगनसिंह (भण्डारी) खवासले आफ्नी प्रेमिका वसन्तीलाई राख्न र गृष्मकालीन मौसममा बस्ने गरेको इतिहासमा उल्लेख छ । गगनसिंहको कोतपर्वमा हत्या भएपछि उक्त दरबार जंगबहादुर राणाले कब्जा गरेका हुन् भन्ने बताउने इतिहासकार पनि रहेका छन् । काजी गगनसिंह (भण्डारी) खवासले आफ्नी प्रेमिका वसन्तीलाई राख्न र गृष्मकालीन मौसममा बस्ने गरेको भने पनि ‘अब यस्तो कहिल्यै नहोस्’ नामक पुस्तकमा वि.सं. १९०३ भदौ ३१ गते राति १० बजे आवासको माथिल्लो तल्लाको पूजाकोठा पुजा गरिहेका अवस्थामा काजी गगनसिंह मारिएको उल्लेख छ । उनी रानी राज्यलक्ष्मीको विश्वासपात्र थिए । उनको हत्या गर्ने पात्रको खोजी गर्दा कोतपर्व हुन गएको थियो । यो दरबार थापाको नाममा रहेको केही समय काजी गगनसिंहले प्रयोग गरेको र कोतपर्वपछि थापाबाट राणाहरूले यो वसन्ती दरबार खोसेका थिए ।