वन कार्यालयको परिसरमा सालकको सालिक

  • त्रिशूली प्रवाह
  • १२ पुष २०८०, बिहीबार १३:०८
  • राजेन्द्र बस्नेत

धादिङबेँसी, दुर्लभ वन्यजन्तको सूचीमा राखिएको सालकको संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । सालक संरक्षणका लागि सर्वसाधारणमा जनचेतना नहुने र सालकको खपेटाको अवैध बिक्रीका लागि चोरी–सिकारी धादिङमा बढ्दै गएको छ । सालकको महत्व बुझाउन डिभिजन वन कार्यालय धादिङले कार्यालयपरिसरमा सालकको सालिक निर्माण गरेर चेतनामूलक जानकारी गराउन थालेको छ ।

विश्वकै दुर्लभ वन्यजन्तु सालकको महत्व बुझाउन कार्यालयले भने कार्यालयपरिसरमा सालकको प्रतिमा स्थापना गरेको छ । सालकको संरक्षण गर्ने र यसको चोरी–पैठारी रोक्ने उद्देश्यले कार्यालयले सालकको देवलसहितको प्रतिमा स्थापना गरिएको डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णुप्रसाद आचार्यले बताए । कार्यालयले जिल्लाको १३ वटै स्थानीय सरकारसँग समन्वय गरेर हरेक पालिकामा सालकको प्रतिमा बनाउने अभियान सञ्चालन गर्ने योजना बनाएको छ । नेपालमा धादिङमा सबैभन्दा बढी सालक पाइने र सबैभन्दा बढी चोरी–पैठारी हुने जिल्ला हो । सालक संरक्षणका लागि १३ वटै पालिकामा कार्यालयले चेतनामूलक अभियान सञ्चालन गर्ने तयारी गरिरहेको छ । सालकको महत्व थाहा नभएर चोरी–पैठारी भएको भन्दै प्रमुख आचार्यले यसको महत्व बुझाउन सजिलो होस् भनेर प्रतिमा स्थापना गरिएको बताए । कार्यालयमा आउने सेवाग्राहीले सालकको प्रतिमा देखेर त्यसको महत्व बुझ्ने, हेर्ने, तस्बिर खिच्नेलगायतका क्रियाकलापले सालकको महत्व बुझ्ने प्रमुख आचार्यको विश्वास छ । धादिङमा भएको संरक्षित वन्यजन्तु सालकलाई जोगाउनु र जनतालाई जनचेतना अभिवृद्धि गर्ने दायित्व वन कार्यालयको भएकाले सालकको प्रचार, संरक्षण तथा प्रवद्र्धन गर्नलाई अभियानको रूपमा काम गर्छ भन्ने आशयले सालकको प्रतिमा स्थापना गरिएको आचार्यले बताए ।

संसारमै दुर्लभ मानिएका आठ प्रजातिका सालकमध्ये नेपालमा कालो सालक (चाइनिज प्याङ्गोलिन) र तामे सालक (इन्डियन प्याङ्गोलिन) पाइन्छ । नेपालमा पाइने स्तनधारीमध्ये कालो सालक आइयुसिएनको अति सङ्कटासन्न सूचीमा रहेको छ । विश्वबाट लोपोन्मुख अवस्थामा रहेको सालक धादिङमा पाइन्छ । त्यसैले अर्को पुस्ताले पनि सालक देख्न पाओस् भनेर यसको संरक्षणका लागि वन कार्यालयले काम गरिरहेको छ । पछिल्लो समय सालकको तस्करी बढ्न थालेको छ । जसले गर्दा सालक झन् जोखिममा परेको हो । तस्करीले मात्र होइन, साँघुरिँदै गएको वासस्थान, वन क्षेत्रको अतिक्रमण, यसको वासस्थानमा अत्यधिक मानवीय गतिविधि र वन क्षेत्रमा भौतिक पूर्वाधार निर्माण एवम् प्राकृतिक आहाराको कमी हुँदै जानुले सालक झन् लोपोन्मुख अवस्थामा पुगेको आचार्यले बताए । सालक नेपाल, भारत, चीनलगायतका दक्षिण एसियाली देशका साथै अफ्रिकन मुलुकका उष्ण भूभागमा पाइने लोपोन्मुख वन्यजन्तु हो । सालकको मुख्य आहारा धमिरा र कमिला हो । यसले ओसिलोे जमिन खोजी दुलो बनाएर धमिरा र कमिला खोजी आहारा खान्छ । यसको शरीर कडा खपेटाले ढाकिएको हुन्छ । आफू अप्ठ्यारोमा पर्नासाथ यो वन्यजन्तु भकुण्डोजस्तै डल्लो पर्छ र गुँडुल्किएर ज्यान बचाउँछ । दिनमा भन्दा पनि रातमा आहारा खोज्न निस्कने हुनाले सालकको चोरी–सिकार रातमा गरिन्छ । वन्यजन्तु विज्ञका अनुसार विश्वमा आठ जातिको सालक पाइन्छन् । तर, नेपालमा भने सङ्कटग्रस्त कालो र लोपोन्मुख तामे सालक मात्र पाइन्छ । यसको लम्बाइ ६० देखि ७० सेन्टिमिटरसम्म फैलिएको हुन्छ । एउटा वयस्क सालकको शरीरमा डेढ किलोसम्म खपटा हुन्छ ।