नुवाकोट दरबार क्षेत्रका ऐतिहासिक तथा पुरातात्विक सम्पदा पुनर्निर्माणमा जनप्रतिनिधि र नागरिक समाजको दबाब

  • त्रिशूली प्रवाह
  • १९ पुष २०८०, बिहीबार ११:४८

विदुर, २०७२ को भूकम्पले क्षति पु¥याएको नुवाकोट दरबार क्षेत्रका ऐतिहासिक तथा पुरातात्विक सम्पदाको आठ वर्ष बितिसक्दा पनि पुनर्निर्माण सुरु नभएपछि नुवाकोटका जनप्रतिनिधि र नुवाकोट दरबार क्षेत्रका नागरिक समाजले सरोकारवाला निकायलाई दबाब दिँदै आन्दोलन गर्ने बताएका छन् । भूकम्पबाट क्षति भएको नुवाकोटको विदुर नगरपालिका-२ मा रहेको नेपाल एकीकरणको साक्षी सम्पदा पुनर्निर्माण गर्ने जिम्मा चीन सरकारले लिएको थियो । नेपाल सरकारसँग सम्झौता गरेर निर्माणको जिम्मा पाएको चीन सरकारको प्राविधिक टोली पटक–पटक आवत–जावत गरे पनि हालसम्म पुनर्निर्माणको कार्य सुरु नगरेपछि स्थानीय जनप्रतिनिधि र नागरिक समाज आन्दोलित बनेका छन् ।

भूकम्पले ध्वस्त बनाएको नुवाकोटको साततले दरबारसहित यस क्षेत्रका धार्मिक, सांस्कृतिक तथा पुरातात्विक आठवटा संरचनाको जिम्मेवारी पाएको चिनियाँ टोलीले वर्षात्, घाम, हावा, पानीबाट थप क्षति नहोस् भनेर टेको र छाना राखेर छाडेको पनि चार वर्ष भइसकेको स्थानीय सामाजिक अभियन्ता रामलाल श्रेष्ठले बताए । ०७२ को भूकम्पले गोरखादेखि काठमाडौं हुँदै दोलखासम्म ठूलो धनजनको क्षति भएको थियो । भूकम्पले भत्काएका भौतिक पूर्वाधार पुनर्निर्माण गर्ने उद्देश्यले गठन भएको पुनर्निर्माण प्राधिकरणसमेत घोषित उद्देश्य पूरा नगरी विघटन भइसकेको छ । त्यतिबेला भूकम्पले ध्वस्त बनाएका गोरखाको दरबार, वसन्तपुर दरबार र वरिपरिका भवन, सिंहदरबारलगायत पाटन दरबार क्षेत्रका भवन, भक्तपुर दरबार क्षेत्रभित्रका दरबार सबैजसो पुनर्निर्माण सम्पन्न भइसकेका छन् । काठमाडौं उपत्यकाभित्रका सबै ऐतिहासिक तथा पुरातात्विक महत्वका मठमन्दिरदेखि दरबार क्षेत्रभित्रका सबै दरबारको पुनर्निर्माण सम्पन्न भइसक्दा पनि नुवाकोटको महत्वपूर्ण सम्पदा आठ वर्षसम्म पनि पुनर्निर्माण सुरु नहुँदा थप क्षति भई खण्डहरमा परिणत हुँदै गएको अभियन्ता श्रेष्ठले त्रिशूली प्रवाह साप्ताहिकलाई बताए । बारम्बार गइरहने भूकम्प र परकम्पका साना–ठूला धक्काले पनि नुवाकोट दरबार क्षेत्रका सम्पदा चिराचिरा पर्दै सानोभन्दा सानो भूकम्प तथा परकम्पले समेत ढल्ने अवस्थामा पुगिसकेकाले पुनर्निर्माणका लागि अब जिल्लाका नागरिक आन्दोलित हुनुपर्ने उनको धारणा रहेको छ ।

नुवाकोट दरबार क्षेत्रभित्रका आठवटा ठूला–साना ऐतिहासिक तथा पुरातात्विक महत्वका भौतिक संरचनाको तत्काल पुनर्निर्माण नथाल्ने हो भने सानोभन्दा सानो भूकम्पको परकम्पले पनि पूरै संरचना ढली जनधनको क्षति हुन सक्ने परिस्थितिलाई ध्यानमा राखी तत्काल पुनर्निर्माणका लागि आवश्यक पहलकदमीका लागि सोमबार नुवाकोट दरबार क्षेत्रका नागरिक समाजले नुवाकोटका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रसँगसँगै बट्टार, विदुर, त्रिशूली र नुवाकोट दरबार क्षेत्रका नागरिकको हस्ताक्षरसमेत बुझाएको स्थानीय समाजसेवी कुवेरलाल श्रेष्ठले जानकारी दिए । ऐतिहासिक तथा पुरातात्विक सम्पदा जोगाउन र पुनर्निर्माण गर्न नागरिक समाजले काठमाडौंको हनुमानढोका, असन, इन्द्रचोक, भद्रकाली क्षेत्रमा प्लेकार्डसहित काठमाडौंमा बस्ने नुवाकोटवासीलाई सरकार र अन्य सरोकारवालालाई दबाब दिने गरी कार्यक्रम तय गर्न लागेको छ ।

नुवाकोटका जनप्रतिनिधिको टोलीले नुवाकोट दरबारको पुनर्निर्माणको जिम्मा लिने चीनलाई दबाब दिन शुक्रबार ध्यानाकर्षणपत्र चिनियाँ राजदूतावासमा बुझाएको छ । जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरीको नेतृत्वमा विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, उपमेयर प्रभा बोगटी, विदुर नगरपालिका-१ का अध्यक्ष लेनिन रञ्जित, वडा नं.–२ का अध्यक्ष दीपक कायस्थ, वडा नं.–३ का अध्यक्ष बद्री रिमाल, वडा नं.–४ का अध्यक्ष निलमबाबु ढुङ्गेलसहित सबै वडाका अध्यक्षको सहभागिता रहेको वडा नं.–७ का अध्यक्ष एवम् विदुर नगरपालिकाका प्रवक्ता रवीन्द्र नेपालले जानकारी दिए । जनप्रतिनिधिको टोलीले चिनियाँ राजदूतलाई भेट्न नपाए पनि कन्सुलर सिय युलाई ध्यानाकर्षणपत्र बुझाएर फर्केका छन् । उक्त दिन नुवाकोटका जनप्रतिनिधिको टोली प्रधानमन्त्री, अर्थमन्त्री, पराराष्ट्रमन्त्रीलगायत सरोकारवाला अन्य मन्त्रीलाई भेट्ने गरी गए पनि उक्त दिन ललितपुरको बालकुमारीमा भएको गोलीकाण्डमा दुईजनाले ज्यान गुमाएको कारण भेट्न सकेन । उक्त दिन दक्षिण कोरिया रोजगार अनुमति प्रणाली (इपिएस)मा सिप बिल्डिङका लागि परीक्षा दिएर उत्तीर्ण भएकामध्येका केही युवाको आन्दोलनको भिड उत्तेजित हुँदा सुरक्षाकर्मीले स्थिति नियन्त्रणका लागि गोली चलाउँदा दुई युवकको ज्यान गएको थियो । चिनियाँ कन्सुलरले नुवाकोटबाट आएका जनप्रतिनिधिको टोलीलाई कोभिडको कारण सबै काम ठप्प भएकाले केही ढिलाइ हुन पुगेको बताउँदै निर्माण कार्य छिट्टै सुरु गर्ने तयारी भइरहेको बताएका थिए । उनले जनप्रतिनिधिको टोलीलाई आश्वस्त पार्दै निर्माण काम सुचारू हुने आश्वासन दिएको सहभागी एक जनप्रतिनिधिले त्रिशूली प्रवाह सापताहिकलाई बताए ।

चीनले पुनर्निर्माणको जिम्मेवारी लिएको दरबारसहितको आठवटा संरचना पुनर्निर्माणको काम सुरु हुन सकेको छैन । सम्पदाको पुनर्निर्माण सुरु गर्ने भन्दै चीनका राजदूतसहित चिनियाँ प्राविधिक टोलीले पटक-पटक उक्त क्षेत्रको स्थलगत अवलोकन गर्ने काम मात्र गरिरहेका छन् । भूकम्पले क्षति पु¥याएको आठ वर्ष भइसक्दा पनि नुवाकोटको साततले दरबारसहित धार्मिक, सांस्कृतिक तथा पुरातात्विक आठवटा संरचनाको पुनर्निर्माणको जिम्मेवारी चीन सरकारले लिए पनि काम अघि बढ्न सकेको छैन । पुनर्निर्माणमा सहयोग पु¥याउने कार्यक्रमअन्तर्गत नेपाल र चीन सरकारबीच नुवाकोटको साततले दरबारसहित आसपासका आठवटा धार्मिक, पुरातात्विक र ऐतिहासिक महत्वका संरचनाको पुनर्निर्माण गर्ने सम्झौता भएको थियो । सोहीअनुसार नेपालको तर्फबाट पुरातत्व विभाग र चीन सरकारको तर्फबाट ‘चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज’बीच ४५ महिनाभित्रमा पुनर्निर्माण सम्पन्न गर्ने सम्झौता ०७६ जेठमा भएको थियो । उक्त अवधि पूरा भइसक्दासमेत दरबारसहितको संरचनाको पुनर्निर्माण तथा प्रबलीकरण अझै अन्योलको अवस्थामा रहेको छ । चीनले पुनर्निर्माणको जिम्मेवारी लिएको आठवटा संरचनामा साततले दरबारसहित तुलजा भवानीको मन्दिर, दरबारपरिसरको गारदघर, रंगमहल, विष्णु र नारायण मन्दिर, भैरवीदेवी मन्दिरपरिसरमा रहेको लामपाटी र सेतोपाटी (दरबार) रहेका छन् ।