नेपालमै पहिलोपटक मानवनिर्मित हिउँको पिरामिड

  • त्रिशूली प्रवाह
  • २४ फाल्गुन २०८०, बिहीबार १२:०८
  • सरस्वती न्यौपाने

धुन्चे, रसुवाको आमाछोदिङ्मो गाउँपालिका–३ गत्लाङनजिकैको गोठेन खर्कमा नेपालमै पहिलोपटक स्थानीय संस्था ल्याकोस रसुवासँग सहकार्य गरेर रिसोर्स हिमालयले परीक्षणस्वरूप मानवनिर्मित हिउँको पिरामिड निर्माण गरेको छ ।

गत्लाङ गाउँबाट मोटरबाटोबाट करिब १३ किलोमिटरको दूरी तय गरेपछि मानवनिर्मित हिउँको पिरामिड पुगिन्छ । उक्त पिरामिड काठमाडौंबाट गत्लाङसम्म एक सय ५७ किलोमिटर दूरीमा रहेको छ । जलवायु परिवर्तनका कारण हिमाली भेगमा असर परेको रिसोर्स हिमालयका अनुसन्धानकर्ता कमल अधिकारीले बताए । पानीको मुहान सुक्दै जाने अवस्था रहेकाले यसरी पानी जम्मा गरी बनाइएको बरफ पछिका लागि प्रयोग गर्न सकिने भएकाले वन्यजन्तु र खर्कमा चर्ने जनावर र मानिसले नै खान मिल्ने र प्रयोग गर्न सकिन्छ । उनले भने, ‘धेरै खर्च पनि लाग्दैन, यो पिरामिड पर्यटकीय प्रोडक्ट बनेको छ । यस्तो पिरामिड नेपालको अन्य ठाउँमा पनि अभ्यास गर्न सकिन्छ ।’ रिसोर्स हिमालयले पहिलोपटक परीक्षणस्वरूप हिउँको पिरामिड बनाई सफल भएपछि गाउँलेमा खुसी छाएको छ । जनवरीबाट बनाइएको हिउँको पिरामिड हेर्न वरपरका आन्तरिक पर्यटक आउने गरेको वडाध्यक्ष सुरेन्द्र तामाङ बताए । तामाङ सांस्कृतिक सम्पदाका कारण यो पदमार्गलाई पर्यटकले रुचाएका छन् ।

नेपालको पर्यटन बजारमा तामाङ पदमार्गको रूपमा चर्चा हुँदै गर्दा नयाँ ढङ्गबाट अघि बढाउन लागेको आमाछोदिङ्मो गाउँपालिकाकी उपप्रमुख चण्डिका तामाङले बताइन् । उनले भनिन्, ‘भुइँचालोले गत्लाङका परम्परागत घर भत्काइदिएपछि अहिले नयाँ संरचनास्वरूप रङ्गी–चङ्गी गाउँभएको छ । पहिलेकै संरचना बनाउन लागिपरेका छौँ ।’ तामाङ सम्पदामार्गको पदयात्रामा पर्ने सबैभन्दा ठूलो बस्ती रहेको गाउँ हो – गत्लाङ । ‘यहाँ करिब पाँच सय ५० घरधुरी रहेका छन् । हामीले कालै छानामा रूपान्तरण गर्न बागमती प्रदेश सरकारलगायत अन्य सहयोगी सरोकारवालाको समेत ध्यानाकर्षण गराएका छौँ,’ उनले भनिन्, ‘चलेको पदमार्ग स्याफ्रुबेँसी बजारबाट सुरु भई गत्लाङ, चिलिमे, तातोपानी, नागथली, तरुचे भ्यु पोइन्ट थुमन, टिमुरे, वृद्धिम हुँदै स्याफ्रु पुगेर सकिन्छ । यस क्षेत्रका प्रमुख आकर्षण घलेदरबार, पार्वतीकुण्ड, ज्यार्सातेन्जोभ्यु पोइन्ट, लालीगुराँस, चराचुरुङ्गी, सर्प आकृतिको गुफा, गत्लाङको एक सय आठ माने रहेका छन् । खानेकुरामा कालो मुसुरो, आलु र सिमी रहेको छ भने अर्को महत्वपूर्ण भ्यु हिउँको पिरामिडले थप आकर्षणको रूपमा रौनकता छाएको ल्याकोसका अध्यक्ष सन्तोष घलेले बताए ।