- नारायण नेपाल
नुवाकोट जिल्लाको पर्यटकीय सम्भावना भएको चिर्केश्वर (चिम्टेश्वर) गाउँको यात्रामा थिएँ, एकजना बाले सोध्नुभयो, ‘ए बाबु यो हाम्रो लेकका महादेउ कसरी भए चिम्टेश्वर ?’ म अचम्ममा परेँ उहाँको जिज्ञासाले । अनि खोज्न थालेँ, इतिहासको त्यो पाटो । उहाँको जिज्ञासा मेटाउन मैले इतिहासको पाटोलाई केलाउने प्रयास गरेको छु । यस क्षेत्रको विकास र उन्नतिमा लागेको दाबी गर्ने विभिन्न राजनीतिक दलका नेता, सङ्घ र प्रदेशका सांसद/पूर्वमन्त्री, पत्रकार, अध्येता, नागरिक समाजलगायतद्वारा जबर्जस्त स्थापित धारणा र केही उडन्ते गफका किस्सा र सवाल हेरौँ :
एक : महादेवले चिम्टा बिर्सिएर गएकाले चिम्टेश्वर नाम रह्यो । अब सवाल रह्यो, यदि त्यसो हो भने त्यो चिम्टा भेट्टाउने को हो ? कस्तो छ ? कहाँ छ ? फोटो छ ? वा परीक्षण गरियो त ? भन्दा छैन ।
दुई : उक्त मन्दिरको नाममा गुठी छ त ? पूजा कसरी कुन विधिमा चलिरहेको छ ? त्यो पनि छैन ।
तीन : त्यहाँको गढी पृथ्वीनाराण शाहले बनाएको र त्यहाँ आराधना गरेर नुवाकोट आक्रमण गरेको । अब सवाल त्यसो हो भने त्यो इतिहासको लिखत छ त ? कहीँ–कतै शिलालेख छ त ? यो पनि छैन । अनि बेवारिसे इतिहासको महिमा र पौरख पृथ्वीनारायणको काँधमा दिने ? यो क्षेत्रमा आदिम कालदेखि लिच्छवि, खस, मल्लको प्रभाव थियो । उनीहरूले आफ्ना लागि केही गरे कि गरेनन् होला ?
चार : यहाँको बारेमा वेद, पुराण र पौराणिक शास्त्रमा केही उल्लेख छ ? भए कुन अध्याय, कतिऔँ श्लोक, कति पेज ? त्यो पनि छैन ।
पाँच : २२ मिटरको पहाडमा ५० मिटर अग्लो टावर साढे दुई करोड खर्च गरेर बनाउनुपूर्व १६ जिल्ला र टावर चढेर हेरे २१ जिल्ला देखिन्छ रे ।
नामकरण र धार्मिक पक्ष : यो क्षेत्रको के होला त खास नाम भन्ने नै सबैको चासोको विषय हो । हरेक स्थानको नामकरणको विभिन्न कारण प्रचलनमा रहेका पाइन्छन् । स्थानीय तामाङ, नेवार तथा प्राचीन संस्कृत भाषामा जनबोली तथा पेटबोलीको आधारमा स्थानको नामकरण भएको पाइन्छ । चिम्टेश्वर नामकरण महादेवले चिम्टा भुलेको स्थान भएर रहेको भन्ने धारणा रहेको छ स्थानीयमा । तर, महादेवले बोकेर हिँडेको चिम्टा हो कि त्रिशूल ? स्कन्द पुराणको हिमवत् खण्डमा उल्लेख भएअनुसार महादेवले बेतको लठ्ठी टेकेर काँधमा त्रिशूल राखेर हिँडेका थिए । उसो भए महादेवले बोकेको त्यो त्रिशूल कसरी चिम्टा भयो ? वा महादेवलाई चिम्टा बोकाइदिएर यो जङ्गलमा ल्याउने पण्डित को–को हुन् ? अनि यो त चिम्टेश्वर होइन यो त्रिशूलेश्वर पो हुनुपर्ने होला, शब्द विग्रहको हिसाबले हेर्ने होे भने चिर्केश्वर शब्दको अर्थ हो । चिर्के अर्थात् चिरिक–चिरिक पारेर टेक्ने, चिरिक्क पारेर टेक्ने, चरक्क परेको भन्ने हुुन्छ । यहाँको शिवलिङ्ग चर्केको छ । अर्को शब्दार्थ हुन्छ चीर भनेको लिङ्गो गाडेर ध्वजा फहराउने वा बौद्ध भिक्षु वा योगी र मुनीहरूले लगाउने लुगालाई बुझाउँछ । यो मल्लकालपूर्वको उपत्यका राज्य र पश्चिम राज्यको सीमा क्षेत्रको रूपमा लिन सकिन्छ ।
तिल्केश्वर भन्नाले तरे वा सेतो चिह्न भएको रूपका लिने गरिन्छ । यो क्षेत्र पञ्चासेमा पर्छ भन्ने स्थानीय मान्यता रहेको छ । यसका अलावा यस क्षेत्रमा रहेका अन्य विभिन्न नामका महेश्वर रहेका छन् । जस्तै, कन्केश्वर, कोल्पुका महादेव, गौलीङेश्वर, तल्लो महादेवखर्क, जलेश्वर, कोल्पुकिनार, कुमरी पुछारका महादेव, अनन्तेश्वर, त्रिशूलीकिनार लामासोती बगरमा रहेको महादेव, भीमेश्वर महादेव फाँटमा रहेको मन्दिर आदि । आदिम समाज जब ढुङ्गे युगबाट पशुपालन युगमा प्रवेश गरेको थियो, त्यो समयको मानक आजको नामकरणलाई लिन सकिन्छ । जस्तै पशुका लागि आवश्यक खर्क वा चरन प्राथमिकतामा थिए, त्यसैले आरुखर्क, महादेवखर्क तल्लो र माथिल्लो, आरुखर्क, खनियाँखर्क, चिन्नेखर्क, डाँडाखर्क रहेका थिए । दुध चढाउने र दही मथेर मोही पार्दै धुप हाल्ने चलन छ जहाँ उही चिर्केश्वरलाई पुकार गर्ने गरिन्छ । स्कन्द पुराणको हिमवत् खण्ड कामाख्या कौशिकी गण्डकी प्रकरण ४५औँ अध्यायमा नीलकण्ठ उत्पत्तिबारे व्याख्या गरिएको छ, तर त्यहाँ यस क्षेत्रको कुनै प्रसङ्ग भेटिन्न । तर, हालको देवीघाट भैरवेश्वरमा झर्ने झर्झरावतीलाई देवदारू पर्वतबाट झरेको झरना भनी उल्लेख गरिएको छ । त्यो पर्वत तादी (सूर्यमती) नदीको दक्षिणतर्फको पर्वत हो । कतिपय विद्वान्ले चम्पकेश्वर भन्ने तर्क अगाडि सारेका छन्, तर त्यसमा सत्यता भेटिँदैन । चम्पकेश्वर ब्रह्म तीर्थ, बज्र पर्वत हालको चित्लाङमा पर्दछ ।
(वि.सं. १९५२–२०३१) का हजुरबुबाले चिर्केश्वर महादेव भन्नुहुन्थ्यो । तर, २००४ सालमा जन्मिएका माइलाबाले सिमलदीपका महादेव भन्दै धुपधुवार गर्ने गरेको देखेको सुनेको हो,’ अध्येता रामप्रसाद नेपालले भने । जतिबेला यो चिर्केश्वर क्षेत्रमा नापी सर्भे भएको थियो त्यतिबेला झिल्टुङ पञ्चायतमा १३ वर्ष वडाध्यक्ष तथा ६ महिना कार्यवाहक प्रधानपञ्चसमेत भएका ९२ वर्षीय प्रेमनाथ दाहाल नै वडाध्यक्ष थिए । त्यो स्थान चिर्केश्वर नै भएको उनको दाबी छ । जिल्ला पञ्चायतका पूर्वसभापति लुमणीप्रसाद गजुरेललाई पनि चिर्केश्वरलाई चिम्टेश्वर बनाइएको चित्त बुझेको छैन । उनी चिर्केश्वर नै हो, किन यसरी नाम बिगारियो भन्ने चिन्ता जाहेर गर्छन् । अब जिज्ञासा रह्यो, यो क्षेत्रको गुठी थियो वा थिएन ? त्यही नाममा गुठी खर्क थिए वा थिएनन् ? वा मासिएर गए ? खोजीको विषय छ । तर, न बाउबाजेले पाइला टेके, न त छोराबुहारीले जग्गा देखे । त्यस्ता दरबारियाको नाममा सिङ्गै गाउँ बिर्ता रहनुले दरबारिया शक्तिको आडमा गुठीमाथि अतिक्रमण गरी बिर्ता कायम गरेको अनुमान गर्न सकिन्छ । यस क्षेत्रको झिल्टुङ–५ का अधिकांश जग्गा राज्यलक्ष्मी शाहको बिर्ताको रूपमा रहेको छ । महेश खोला र त्रिशूली नदीबीचको यो उच्च पहाडी क्षेत्र हो । यो शिरको देवता हो । आस्थाको केन्द्र हो । महादेवफाँट र महादेवबेँसी दुवै नदी किनार यसका साक्षी छन् । शिव हाम्रो आदिम समाजको जग हुन् । उनी आदिम मानव थिए कि काल्पनिक भगवान् ? खोज–अनुसन्धानको विषय मानवशास्त्र र समाजशास्त्रको क्षेत्रमा रहेको पाइन्छ ।
भौगोलिक पक्ष : चिर्केश्वर महादेवस्थान नुवाकोट जिल्लाको साबिक बेलकोट, कुमरी, जिलिङ तथा दुईपिपल गाविसको सिमानामा पर्ने ऐतिहासिक, धार्मिक, पुरातात्विक एवम् पर्यटकीय महत्वको क्षेत्र हो । उक्त स्थानबाट गणेश, लाङटाङ, जुगल, दोर्जेलाक्पा आदि हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । यहाँबाट काठमाडौं उपत्यकाको तीनवटै सहर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, धादिङ, दोलखा, मकवानपुर, रसुवा, चितवन र गोर्खाको समेत दृश्यावलोकन गर्न सकिन्छ । चिर्केश्वर शिवलिङ्ग रहेको स्थान दुईपिपल गाविस झिल्टुङ पञ्चायतको हो । हालको वनभोज टहरो, पोखरी र सिँढी बनेको स्थान बेलकोट गाविसको हो र भ्युटावर बनेको स्थान कुमरी गाविसको हो । हाल निर्माण भएको खानी तथा भूगर्भ विभाग र नापी विभागका अनुसार ०२७ सालदेखि देशको १० स्थानमा राखिएको भूगर्भ मापन यन्त्र यहाँ राखिएको छ । यो पहाड एउटा संवेदनशील चट्टानी क्षेत्रमा रहेको अनुमान गर्न सकिन्छ ।
मौलिक, जैविक र वातावरणीय पक्ष : यो क्षेत्र समुद्री सतहबाट दुई हजार एक सय मिटरको उचाइमा रहेको जङ्गल क्षेत्र हो । यहाँ जडीबुटी, लोपोन्मुख पशुपन्छी, चराचुरुङ्गी तथा पुतली पाइन्छन् । पाँचऔँले, चिराइतो, पाषणवेदजस्ता जडीबुटी र सालक, गोहोरो, मृग, बँदेललगायतका वन्यजन्तु पाइन्छन् । यो क्षेत्रमा सेवामूलक उद्यम सञ्चालन र वातावरणीय असरको न्यूनीकरण गर्न जरुरी छ । यो एक योग साधना केन्द्रको रूपमा विकास हुन सक्छ । आज सांस्कृतिक अतिक्रमणको चपेटामा परेको छ । मौलिकतामाथि हस्तक्षेप भएको छ । हामीले जैविक पदमार्ग, शिवपुरी, ककनी हुँदै यही क्षेत्रसम्मको दिगो योजना किन सोच्न सकेनौँ । हामीले आज यो क्षेत्रलाई कङ्क्रिट सभ्यतारहित क्षेत्रको रूपमा वनवातावरणको संरक्षण र पानीका मुहान संरक्षण गर्न जरुरी छ । यो राष्ट्रिय वनक्षेत्र अतिक्रमणको मारमा परेको छ ।
पञ्चासेको सिँचाइ डबलीसम्म लैजाने योजना निकै समयसम्म विकासको नारा भयो । अहिले पञ्चासे बिसौलेकोे पानी डडुवा अच्मारासम्म पुग्दैन । बिसौले खोलाको कुलोबाट कुमरी झ्याङ्ली पोखरीसम्म कुलोमा पानी लैजाने पुस्ता नमासिँदै पानी कुलोमा बगेर त्यहाँ पुग्न सक्दैन । यसरी क्रमशः बढेको आवधिक र स्रोतको विलोपले निम्त्याउने वातावरणीय सङ्कटलाई नजरअन्दाज गर्न मिल्छ र ? सिमेन्ट र बालुवा नघसी विकास हुँदैन भन्ने मान्यता अहिलेको आममानसिकता हो । के हामीले जङ्गल, गल्ली, गोरेटोमा वातावरणमैत्री जैविक पदमार्ग निर्माण गर्न सक्छौँ ? यहाँ जनतालाई वन्यजन्तु पालन नट प्रजातिको बिरुवा तथा चिया र जडीबुटी खेतीतर्फ लैजाने हाम्रो प्राथमिकता के हो ? त्यो निर्धारण गर्न जरुरी छ । यी सबैको समाधान गर्ने अभियान नै यस क्षेत्रको पर्या–पर्यटन नै हो । देउराली, झिल्टुङ, बोर्लाङ, वरतुङ, गोपाले भञ्ज्याङ, नुनचौर डाँडा, भट्टबारी, चौर, गोठाली चौतारा, बाघखोर वैद्य वनलगायतका क्षेत्रको मौलिकतामाथिको अतिक्रमणलाई नियन्त्रण गर्न सक्छौँ । बालापनमा हामीले पानी पर्दा खुबै मच्चिएर भन्थ्यौँ, ‘हरहर महादेउ पानी देउ देउ’ त्यस्तै अहिले पनि मच्चिएर भन्न जरुरी छ ‘हे हाम्रो शिरका महादेउ : यहाँको जैविकता र मौलिकता बचाइदेऊ ।’
कानुनी जटिलता : बेलकोटगढी नगरपालिकाको पहलमा बनेको क्षेत्र विकास समिति ‘घर न घडेरी, घरबार न दरबार’ भनेजस्तो छ । यो वनक्षेत्रको पर्यावरण र जैविक विविधता नेपालको प्रचलित संविधानअनुसार तीनै तहको साझा अधिकार क्षेत्रमा पर्दछ । स्थानीय सरकारले आफ्नो अधिकार क्षेत्र नपरेको ठाउँमा कसरी एकलौटि क्षेत्र विकास समिति गठन गर्न सक्छ ? यो एकप्रकारको संस्थागत अतिक्रमण नै हो । वन ऐन, २०४९ ले राष्ट्रिय वन अतिक्रमणबारे प्रस्ट रूपमा उल्लेख गरेको छ । जसअनुसार धार्मिक, सामाजिक एवम् सांस्कृतिक उद्देश्यले गरिएको अतिक्रमणको रूपमा यस्ता गतिविधिलाई लिन सकिन्छ । यस्तै कानुनी जटिलताले र स्वामित्वको प्रश्नले हालसम्म भ्युटावरको स्वामित्व हस्तान्तरण हुन सकेको छैन । तर, निर्माणको पहल भने प्रदेशको वन तथा वातावरण मन्त्रालयले लिएको थियो । विकास समिति ऐन, २०१३ को आधारमा टेकेर नगर कार्यपालिकामा प्रस्ताव भएको चिम्टेश्वर क्षेत्र विकास समिति ऐन, २०८० को भविष्य के होला ?
संरक्षण र प्राथमिकता : पछिल्लो समय सामूहिक पहल स्थानीय सरोकारवालाको २०६८ कात्तिक २३, २४ र २५ गते महोत्सव गरेर थालनी भएको हो । यो संरक्षण हो कि अतिक्रमण हो ? बहस जरुरी देखिन्छ । संरक्षण र संवद्र्धनको नाममा अतिक्रमणको थालनी यहीँबाट भएको छ । वातावरणीय वा जैविक पक्ष होस् कि संस्कृतिको मौलिक यही नाममा अतिक्रमणको सिकार बनेको छ । विभिन्न बहानामा यहाँको मौलिकता र जैविकतामाथिको अतिक्रमण मात्रै होइन प्रदूषणसमेत उल्लेख्य मात्रामा वृद्धि भएको छ । सामरिक महत्वको यस क्षेत्रमा आर्थिक, राजनीतिक स्वार्थको रोटी सेक्ने अभियानले क्षेत्रको मौलिकतालाई ओझेल पारेको छ । प्रचारात्मक योजना पहिलो प्राथमिकतामा रहन जरुरी हुन्छ । हरेक योजनामा रहने लगानी र आम्दानीको लेखाजोखा हुनुपर्छ । यहाँको प्राथमिकता पूर्वाधार निर्माण हो । सडक, बिजुली, आवास, पदमार्ग हो यस्तो योजना, आवश्यकता र प्राथमिकताको सवाल हो । जस्तै यो दुई हजार दुई सय मिटर उचाइमा रहेको चिम्टेश्वर क्षेत्रमा दुई करोड ७४ लाख ३८ हजार सात सय ६८ रुपैयाँमा बनेको भ्युटावर । हाम्रो प्राथमिकता के हो ? हाम्रो आवश्यकता के हो ? हामीले बहस गर्ने हिम्मतै गरेनौँ । स्थानीय सरकारलाई पैसा खर्च गर्न मेलोमेसो धेरै हुन्छ । तर, आम्दानी संस्थागत कसरी हुन्छ ? त्यो महत्वपूर्ण पक्ष हो । विकास र योजनाको प्रतिफल के–कति छ ? यहाँ मान्छे १० हजार आए, तर पैसा कति आयो ? स्थानीय सरकारले कति राजस्व पायो र नागरिकले के आम्दानी पाए लेखाजोखा गर्न जरुरी छ ।