सिन्दुरे जात्रा सञ्चालनको सकस

  • त्रिशूली प्रवाह
  • ६ बैशाख २०८१, बिहीबार १३:३१
  • रामलाल श्रेष्ठ

काठमाडौं उपत्यका जात्रा, पर्व र संस्कृतिले भरिभराउ भूमि हो । काठमाडौं उपत्यकाबाहिरको भूगोललाई त्यतिखेर नेपाल भनिँदैन थियो । काठमाडौं उपत्यकामा मल्ल वंशको शासन वि.सं १३२५ वरपरदेखि भएको देखिन्छ । मल्लहरूले १८२५ सम्म शासन गरेको हामी सबै जान्दछौँ । पाँच सय वर्षको मल्ल अर्थात् नेवार वंशको शासन नै नेपालको कला, जात्रा, पर्व र संस्कृतिको उत्पादन र सिर्जनाको समय मानिन्छ ।

काठमाडौं उपत्यका जात्रामय : आजभोलि काठमाडौं जात्रामय देखिन्छ । चैतेदसैँबाट सुरु भएको सेतो मत्स्येद्रनाथको रथयात्रा सोमबार लगनटोल पुगेको छ । तीनधारा पाठशालाबाट भोटाहिटी, असन, इन्द्रचोक, मखन, वसन्तपुर, चिकंमूगल, ब्रह्मटोल हुँदै लगनसम्मको रथयात्रामा युवा÷युवतीले रथ तान्दै आफ्नो संस्कृति पर्वमा रमाइलो मानेर भाग लिइरहेको देखिन्छ । यो रथयात्राको अवलोकन गर्ने युवायुवतीको भिड थामिनसक्नु छ । आज हामीले देखेको यो मत्स्येन्द्रनाथको रथको डिजाइन आजको पुस्ताले गरेको होइन । आजभन्दा तीन–चार शताब्दीअगाडि यी माथि उल्लेख गरिएका ठाउँमा खरले छाएका साना–साना झोपडीजस्ता घर लहरै थिए । ती घरको दाँजोमा मत्स्येन्द्रनाथको रथ सयौँ गुणा अग्लो थियो । तर, आज ती स्थानका घर मत्स्येन्द्रनाथको रथभन्दा अग्ला भए । घरको झ्याल÷झ्यालबाट भगवान् मत्स्येन्द्रनाथको दर्शन गर्न सकिने समय आयो ।

संस्कृति बुझ्न त्यतिखेरको समय र उत्पादन प्रणाली बुझ्न आवश्यक : आजको २१औँ शताब्दीमा बसेर हिजोका पुर्खाले निर्माण गरेको जात्रा, पर्व र संस्कृति पछाडिको दर्शन बुझ्न सकिँदैन । कुनै पनि दर्शन बुझ्न त्यतिखेरको समय र उत्पादन प्रणाली बुझ्न जरुरी हुन्छ । आजभन्दा तीन शताब्दीअगाडिको समाज पूरै ईश्वरप्रति आस्था राख्ने समाज थियो । समाजमा कानुन, संविधानजस्ता कुनै पनि औजार उपलब्ध वा आविष्कार भएको थिएन । समाज ईश्वरले निर्माण गरेको पाप र धर्मको नियमले चल्दथ्यो । समाजको उत्पादनको मुख्य स्रोत जमिनबाट हुने उत्पादन मात्र थियो । समाजमा कुनै यान्त्रिक उपकरणको नामनिसाना थिएन । सबैभन्दा ठूलो यान्त्रिक उपकरण भनेको काठबाट निर्मित रथको पाङ्ग्रा मात्र थियो । त्यतिखेरको समाजले आविष्कार गरेको सबैभन्दा ठूलो यन्त्र पाङ्ग्रा नै हो र त्यसमाथि रथको डिजाइन नै त्यतिखेरको वैज्ञानिक उपलब्धि थियो । मानिसको आवश्यकताका वस्तु जमिनबाट उत्पादन भएका वस्तु मात्र थियो । जमिन र मानिसको श्रम मानिसको जीवन निर्वाहको मुख्य उत्पादन प्रणाली थियो । ज्याला मजदुरी नामको नामनिसाना थिएन । पुँजी वा सम्पत्ति कुन चराको नाम हो कसैलाई थाहा नै थिएन । मुद्राको अस्तित्व वा जन्म भएकै थिएन । यस्तो समयमा समाजका सबै मानिसलाई रोजगारीको रूपमा ईश्वरीय कार्यमा लगाई जात्रा, पर्व र संस्कृति निर्माण गर्ने प्रद्धतिको विकास गरियो । समाजका प्रत्येक वर्ग र समुदायलाई जात्रा तथा पर्वभित्र एउटा एउटा ईश्वरीय कार्यको जिम्मेवारी तोकियो । प्रत्येक वर्ग र समुदायलाई जात्रा पर्व सञ्चालन गर्न तोकिएको जिम्मेवारीअनुसार पारिश्रमिक वा रोजगारी वा जीवन निर्वाहका लागि वर्ष दिनभरि आफ्नो र परिवारको लालनपालनसमेतलाई पुग्नेगरी भूमि वा जमिनको व्यवस्थासमेत गरियो । प्रत्येक परिवार वा समुदायलाई उपलब्ध गराइएको जमिन ईश्वरको नाममा रहने र वर्ष दिनभरि त्यो जमिनबाट उत्पादन गरेर जीवन निर्वाहको व्यवस्था गर्नुपर्ने थिति बसालियो । जात्रा तथा पर्वमा ईश्वरको निसान वा झण्डा बोक्नेदेखि रथ निर्माण गर्नेदेखि, बोक्ने वा पूजा गर्ने पुजारीसमेतलाई कामको मात्राबमोजिम भूमि उपलब्ध गराइएको हुन्थ्यो । वर्ष दिनभरि मनाइने जात्रा पर्वमा समाजका सबै वर्ग र समुदायको अनिवार्य उपस्थिति हुने व्यवस्थासमेत गरियो ।

आजको जात्रा सञ्चालनको सकस : काठमाडौं उपत्यकाभित्र मानव बस्तीको विकासको कारणले जात्रा–पर्व सञ्चालनमा त्यति सकस देखिँदैन । जात्रा–पर्वमा युवाले रथ तान्ने कार्यमा खुसी भएर स्वयम्सेवा गरिरहेको देखिन्छ । काठमाडौं उपत्यकाबाहिर मनाइने जात्रा–पर्व सञ्चालनमा सकस देखिन थालेको धेरै समय भइसकेको छ । नुवाकोटको सिन्दुरे जात्रा सञ्चालनमा पटक–पटक सकस देखिँदै आएको छ । आज समाजको रोजगारी जमिनसँग जोडिएको छैन । हिजो जात्रा–पर्व सञ्चालनका लागि तोकिएको कार्य गर्न उपलब्ध गराइएको जमिनले आज परिवारको लालनपालन गर्न सकिँदैन । जमिनको उत्पादन क्षमता र लागतको कारण जमिनसँग रोजगारीको तार चुँडिएको थुप्रै समय भइसक्यो । हिजो भैरवीको दैनिक भुजा चढाउने खेत रोप्न गाउँभरिका मानिस सबैले स्वयम्सेवकको रूपमा जमिन जोत्ने, खन्ने, रोप्ने हरेक काममा आफूखुसी जानैपर्ने थिति थियो । आज भैरवीको पुजारी आफैँले त्यो कार्य सम्पन्न गर्नुपर्ने र ज्याला लगाएर उत्पादन गर्नुपर्ने स्थिति छ । कहीँ–कतैबाट स्वयम्सेवा भएको देखिँदैन । सिन्दुरे जात्रा सम्पन्न गर्न आमन्त्रित, लिङ्गो उठाउने, ढाल्नेदेखि रथ बोक्ने सबैलाई त्यही खेतको धानको उत्पादनले जाँड, रक्सीदेखि खाना, खाजाको व्यवस्थापन गर्नुपर्ने थिति थियो । आज भैरवीको खेतमा न कोही सित्तैमा रोप्न जान्छन् न त्यो स्तरको उत्पादन नै हुन्छ । त्यो खेतको उत्पादनले आज सिन्दुरे जात्रा सञ्चालन हुन सक्दैन ।

आजको वैकल्पिक व्यवस्था के हो त ? समाजको उत्पादन सम्बन्ध बदलिएसँगै जात्रा–पर्व सञ्चालनमा जोडिएका व्यक्ति तथा परिवार र समुदायलाई वैकल्पिक रोजगारीमा जोड्न आवश्यक हुन्छ । ईश्वरीय शक्तिसँग पौँठेजोरी खोज्ने समाज निर्माण भइसकेपछि अब ईश्वरको कार्यको नाममा कसैले पनि स्वयम्सेवा गर्न सक्दैनन् । हिजै पनि जात्रा–पर्व निर्माण गर्दा समाजका सबै वर्ग र समुदायलाई भूमिसँगको रोजगारीसँग जोडिएको थियो । ईश्वरीय कार्य सित्तैमा गर्न पर्दछ भन्ने व्यवस्था कहीँ–कतै देखिँदैन । ईश्वरीय कार्य सित्तैमा गर्नाले मोक्ष प्राप्त हुने र नगर्नाले पाप लाग्ने दर्शन जात्रा–पर्व सञ्चालन गर्दा समाजमा जबर्जस्ती निरङ्कुश ढङ्गले थोपरिएको थिएन । समाजका प्रत्येक सदस्यलाई वर्ष दिनभरिको रोजगारी र जीवन निर्वाहको परिस्थिति सिर्जना गरेर ईश्वरीय कार्य अर्थात् जात्रा–पर्व मनाइने व्यवस्था गरिएको देखिन्छ ।
भैरवीको पुजारीलाई बस्ने वासदेखि उसको वंशलाई खान–लाउन पुग्ने व्यवस्था गरेर नै पुजारीको व्यवस्था गरिएको देखिन्छ । त्यतिखेरको समयमा मुद्राको प्रचलन नै नभएको अवस्थामा ईश्वरलाई चढाएको भेटीले पुजारीको परिवार पालिने स्थिति थिएन । पुजारीदेखि समुदायको सबै सदस्यलाई एउटा न एउटा ईश्वरीय कार्यको काम गर्नुपर्ने वा रोजगारी उपलब्ध गराएको देखिन्छ । ईश्वरको आँगनमा बिहान–बेलुका आरती गर्न वा पूजा गर्ने बेलामा बाजागाजासहित पूजा गर्ने व्यवस्था गरिएको देखिन्छ । ईश्वरको पूजा गर्ने बेलामा बाजागाजा बजाउने समुदायलाई निश्चित जमिन दिइएको हुन्छ । त्यो जमिनले वर्ष दिनभरि नै त्यो परिवारको लालन–पालन हुने गर्दथ्यो । तर, आज त्यो स्थिति छैन । जसको कारण बाजा बजाउने समुदायको पछिल्लो पुस्ता रोजगारीको वैकल्पिक व्यवस्थामा जानुपर्ने बाध्यता छ ।

भैरवीको रथ नुवाकोट दरबार क्षेत्रबाट जालपादेवीपरिसरसम्म बोकेर लान आज कठिन छ । रथ बोक्ने जिम्मेवारी पाएको समुदायका पछिल्लो पुस्ता वैकल्पिक रोजगारीको सिलसिलामा मलेसिया, दुबई, कतारतिर पुगेका छन् । घरमा अघिल्लो पुस्ताका बुढाबुढी मात्र छन् । अघिल्लो पुस्तालाई ईश्वरको रथ बोक्ने जिम्मेवारी पूरा नगर्दा पाप लग्छ वा घरपरिवारमा दैवी विपत्ति आइलादग्छ भन्ने ईश्वरीय नियमको त्रास छ भने घरको छोरो वैदेशिक रोजगारीबाट छुट्टी लिएर आउन सक्ने परिस्थितिसमेत छैन । जात्रा–पर्व सञ्चालन विधि छोट्याउन पनि नमिल्ने विधिपूर्वक सञ्चालन गर्न पनि सकस हुने स्थिति छ । नेपालको जात्रा–पर्व र संस्कृति नेपालका मौलिक पहिचान हुन् । संसारभरका मानिस नेपालको संस्कृति र दरबार क्षेत्र हेर्न आउने हुन् । योबिना नेपाली समाज खल्लो र खोक्रो समाजमा बदलिन्छ । नेपालको राजनीतिले, नेपालका तीनै तहका सरकारले नेपालको जात्रा–पर्व तथा संस्कृति जोगाउन आवश्यक रकम र समाजलाई संस्कृतिसँग हिजोको पुस्ताले रोजगारीसँग जोडेजसरी वैकल्पिक रोजगारीसँग जोड्न ढिलो भइसकेको छ ।

नुवाकोटको माथिल्लो भेगमा बसोवास गर्ने तामाङ समुदाय र नुवाकोट दरबार क्षेत्रदेखि तल्लो भेगमा रहने देवीघाटसम्मका नेवारदेखि कुमाल तथा अन्य जनजाति समुदायको सिन्दुरे जात्रामा प्रत्यक्ष सहभागिता हुन्छ । तामाङ तथा कुमाल समुदायबाट रथ बोक्ने, नेवार तथा अन्य समुदायबाट बाजागाजा बजाउने र निसान बोक्ने कामको भागबन्डा लगाएको देखिन्छ । बाहुन तथा क्षेत्रीय समुदायबाट लिङ्गो गाड्ने र ढाल्ने कामको जिम्मेवारी दिइएको देखिन्छ । समाजमा छरिएका विभिन्न समुदायलाई एकीकृत गरेर ईश्वरीय कार्यमा लगाउने र त्यसबापत जमिनमा रोजगारीको अवसर सिर्जना गर्नु जात्रा–पर्वको उद्देश्य देखिन्छ । वर्षमा एकपटक ईश्वरीय काममा संलग्न भएबापत वर्ष दिनभरिलाई खान पुग्ने जमिनको व्यवस्था गरिएको देखिन्छ । समाजका सबै समुदायलाई जात्रा–पर्वमा संलग्न हुने प्रणालीको व्यवस्था गरिएको देखिन्छ । नुवाकोटको सिन्दुरे जात्रा तामाङदेखि नेवार समुदाय र नुवाकोटको भूगोलमा बसोवास गर्ने सबैखाले जातीय समुदायको सांस्कृतिक पर्व हो । यो सांस्कृतिक पर्व सञ्चालनमा देखिएको सकस समाधान गर्न नुवाकोट जिल्लाभरि बसोवास गर्ने सबै समुदायको उत्तिकै दायित्व छ । नुवाकोट जिल्लाभरिकै स्थानीय निकायको सहयोग र दायित्व पनि उत्तिकै छ । विदुर नगरपालिकादेखि अन्य गाउँपालिकाको सानो सहयोग नुवाकोट सिन्दुरे जात्राको सञ्चालनमा ठूलो सहयोग हुन सक्दछ ।