स्थानीय सरकार जिम्मेवार नहुँदा गाई, देवी र सिन्दुरे जात्राको निरन्तरतामा सकस

स्थानीय जात्रा–पर्व, मेला–महोत्सवमा स्थानीयवासी मात्र नभई बाहिरका मानिस पनि उत्साहका साथ सहभागी हुन्छन् र त्यसको भरपूर आनन्द लिन्छन् । तथापि, जात्रा–पर्व सञ्चालनमा प्रत्यक्ष संलग्न हुनेहरूको दुःख, पीडा र मिहिनेतलाई कसैले दृष्टि दिँदैनन् । जनशक्ति, सामग्रीको जुटाइ, रकम आदिका अभावबीच पनि परम्परागत जात्रामात्रा, पर्व, संस्कृतिलाई जबर्जस्ती निरन्तरता दिनुपर्ने बाध्यता स्थानीय अगुवाहरूलाई छ । मूल कुरा बजेट हो । यस्ता परम्परागत जात्रामात्रालाई निरन्तरता दिई आगामी पुस्तालाई हस्तान्तरण गर्नका लागि सकभर केन्द्रीय र प्रदेश सरकार तथा नभए स्थानीय तहले नै जिम्मा लिनुपर्ने हुन्छ । दैनिक खटिने जनशक्तिलाई खाजापानी, भोजका लागि चाहिने खर्च, काठपातजस्ता सामग्री जुटाउन सक्ने गरी न्यूनतम रकम मात्र भए पनि स्थानीय तहले बजेटमा विनियोजन गर्न सकेमा अन्य खर्च स्थानीय क्लब, जात्रामात्रा समिति, नागरिक आदिले जुटाउन मिहिनेत गर्छन् । यसो भएमा स्थानीय विभिन्न जातजातिलाई सम्बोधन पनि हुन्छ । गणतन्त्रको संवद्र्धन सबै जातजातिको सहभागिताबाट नै हुने हो । होइन भने स्थानीय संस्कृति हराई एकादेशको कथा बन्न बेर लाग्दैन ।

  • त्रिशूली प्रवाह
  • १३ बैशाख २०८१, बिहीबार १३:१०
  • रामलाल श्रेष्ठ
  • शरण उत्सुक सापकोटा

काठमाडौं, उपत्यकाभित्र यतिखेर जात्रैजात्रा चलिरहेको छ । भक्तपुरको बिस्का जात्रा, ठिमीको सिन्दुरे जात्रा, टोखाको बिस्का सिन्दुरे जात्रा, बोडेको जिब्रो छेड्ने जात्रा, काठमाडौंको सेतो मत्स्येन्द्रनाथको जात्रा, सोनागोठीको सिन्दुरे जात्रा, ललितपुरको रातो मत्स्येन्द्रनाथको जात्रा आदि ।
कुनै बेला काठमाडौं उपत्यकालाई तीन सहरको नेपाल भनिन्थ्यो । उपत्यकाभित्रका प्रत्येक पुरानो बस्तीमा जात्रापर्व नभएको कुनै बस्ती नै भेटिँदैन । यी सबै जात्रा–पर्वको सुरुवात गर्ने श्रेय सबै नेवारी समुदाय र मल्ल शासकलाई जान्छ । वि.सं. १८२५ भन्दा अगाडि उपत्यकाभित्र नेवार समुदायको मात्र बसोवास थियो । पृथ्वीनारायण शाहको एकीकरण अभियानपछि उपत्यकाभित्र अन्य जातीय समुदायको बसाइँसराइ सुरू भएको देखिन्छ ।

नेवार समुदाय र संस्कृति
आज पनि उपत्यकाभित्रका नेवार समुदायमा जात्रा–पर्व धुमधामसँग मनाइने प्रचलन छ । इन्द्रजात्रा, घोडेजात्रा, मत्स्येन्द्रनाथको भोटो देखाउने रथयात्राजस्ता जात्रामा राष्ट्रप्रमुख नै उपस्थित हुनाले अन्य जातीय समुदायको पनि जात्राजस्तो देखिए पनि यिनको सञ्चालनमा सबै नेवार समुदायको वर्चस्व देखिन्छ । यसबाहेक उपत्यकाभित्रका नेवार बस्तीभित्र कुनै न कुनै देवीदेवताको मन्दिर भेटिन्छ । साँखुको बज्रयोगिनीदेखि लुभुको महालक्ष्मी, मनमैजुको मनमैजु मन्दिर, विशालनगरको टुँडालदेवीजस्ता प्रख्यात मन्दिर भेटिन्छन् । इन्द्रचोकको आकाश भैरवदेखि जनबहालको मत्स्येन्द्रनाथको मन्दिर, पाटनको कृष्ण मन्दिरदेखि बुङ्मतीको रातो मत्स्येन्द्रनाथको मन्दिर र कार्यविनायक मन्दिर प्रसिद्ध छन् ।

ईश्वरको रथयात्रा र सिन्दुरे जात्रा
उपत्यकाका प्रत्येक नेवार बस्तीमा स्थापित मन्दिरभित्रका देवदेवीलाई वर्षमा एकपटक मन्दिरबाहिर रथमा राखी घुमाएर जात्रा मनाउने चलन छ । वर्षभरि मन्दिरभित्र राखिने र वर्षका तीनदेखि पाँच दिन देवदेवीका मूर्ति मन्दिरबाहिर निकाली काठको रथमा राखेर बस्ती–बस्तीमा डुलाउने यस्ता जात्रामा लिङ्गो काट्ने, उठाउने, लडाउने र थन्क्याउने व्यवस्था देख्न सकिन्छ । प्रत्येक जात्राको सुरुवात लिङ्गो उठाउने कार्यबाट सुरु हुन्छ भने देवदेवीको रथयात्रा गर्दा सिन्दुर लगाई एक–आपसमा खुसी साटासाट गर्ने प्रचलन देखिन्छ ।

गुठी व्यवस्था
उपत्यकाभित्रका जात्रा–पर्व निकै लामो दिनसम्म मनाइने गरिन्छ । लिङ्गो काट्ने र जङ्गलबाट तान्दै ल्याउने तथा लिङ्गो उठाउने, ढाल्ने र थन्क्याउने काममा पनि ठूलै जनशक्ति चाहिन्छ । रथ निर्माणका लागि पनि कुशल कालिगढको आवश्यकता पर्छ । मत्स्येन्द्रनाथको रथ र भक्तपुरको बिस्का जात्राको रथ निर्माणमा उच्चस्तरको प्रविधिको प्रयोग भएको देखिन्छ । रथ निर्माण गर्न आवश्यक वस्तु आफ्नै उत्पादनको प्रयोग हुन्छ । रथयात्राका लागि बस्तीका सबै मानिसलाई सहभागी गराउने, भोज खाने र नजिकका आफन्तलाई समेत डाक्ने प्रचलन छ । जात्रा व्यवस्थित रूपले सञ्चालन गर्न बस्तीका सबै समुदायलाई एउटा न एउटा कामको जिम्मेवारी दिने व्यवस्था छ ।
जात्रा सुरु, सञ्चालन र सम्पन्न गर्न बस्तीका सबै समुदायको सहयोगबिना सम्भव हुँदैन । सबै समुदायको सहभागिता गराउन भिन्दाभिन्दै कामका लागि भिन्दाभिन्दै समुदायलाई जिम्मेवारी दिइन्छ । कामको जिम्मेवारी र आवश्यक कुशलताका आधारमा जीवन निर्वाहका लागि आवश्यक जमिनको समेत व्यवस्था भएको देखिन्छ । सो व्यवस्था नै गुथि (गुठी) व्यवस्था हो ।

गुथि : जात्रा–पर्वको आधार
जात्रा–पर्वमा देवदेवीको कार्य गरेबापत भूमिको व्यवस्था नै गुथि व्यवस्था हो । यस्तो भूमि जात्रामा आवश्यक कामका लागि सहभागिता भएबापत जीवन निर्वाहका लागि खनजोत गर्ने अधिकारसहित प्रदान गरिएको भूमि हो । उक्त भूमि जसले तोकिएको कार्य गर्न सक्षम हुन्छ उसैले खनजोत गर्न पाउने हुन्छ । यस्तो व्यवस्था गर्नाले जात्रा सञ्चालनका लागि आवश्यक सीप जस्तो रथ निर्माण गर्ने वा वैदिक मन्त्र पढ्ने काम परिवारभित्र सिक्नैपर्ने बाध्यताको सिर्जना हुन आयो । यदि सन्तानले जात्रा सञ्चालनको सीप नसिकेका अवस्थामा भूमिमाथिको खनजोतको अधिकार अर्कै व्यक्तिमा जाने भयो । जसको कारण उसको जीवन निर्वाहको साधनको अभाव हुने स्थिति पैदा हुने भयो । भूमिमा आफ्नो खनजोतको अधिकार स्थापित गरिराख्न जात्रा–पर्वमा आफ्नो सहभागिता राखिराख्नुपर्ने परिस्थितिको निर्माण हँुदै भयो । ईश्वरको काममा खटिँदा एकातिर आनन्द र खुसी पनि प्राप्त हुने तथा अर्को भूमिको व्यवस्थाले वर्षभरिलाई रोजगारी प्राप्त हुने र परिवारकै जीवन निर्वाहको व्यवस्थासमेत हुने परिस्थितिको निर्माण गरियो । जात्रा–पर्वमा सहभागिता हँुदा असीम आनन्द प्राप्त हुँदा एक–आपसमा सिन्दुर लगाउने प्रचलन पनि चल्यो ।

स्थानीय सरकारको दायित्व
उपत्यकाभित्रका सबै जात्रा–पर्व सबै गुथि व्यवस्थाअन्तर्गत व्यवस्थापन गरिएको देखिन्छ । यो व्यवस्थाले भूमिको किनबेच निषेध गरिएको थियो । धर्ती किनबेचको वस्तु होइन । पृथ्वीमा मानिसले परिश्रम गरेपछि उब्जनी भएको वस्तु मात्र किनबेचको वस्तु हो । मानिसको परिश्रम नपरी सिर्जना भएको वस्तु उसको स्वामित्वको वस्तु होइन । धर्ती मानिसको परिश्रमले सिर्जना भएको होइन । यसको उब्जाउ गर्ने क्षमता पनि मानिसको परिश्रमको उपलब्धि होइन । धर्ती प्राकृतिक वस्तु हो । पूर्वीय दर्शनले धर्तीलाई ईश्वरीय सिर्जनाको वस्तुको मान्यता राख्यो । ईश्वरीय कार्य गरेका अवस्थामा मात्र खनजोतको अधिकार रहने मान्यता नेपाली समाजमा स्थापित थियो । ईश्वरीय कार्य नगरेको दिन खनजोतको अधिकारसमेत समाप्त हुने मान्यता नै गुथि व्यवस्थाको मूल दर्शन हो ।

गुथि व्यवस्थामाथि प्रहार
राजा महेन्द्रले भूमि सुधारका नाममा गुथिको यो दर्शनमाथि जसको जोत उसको पोतको नारामार्फत प्रहार गरे । वि.सं. २०२१ मा भूमिमाथिको ईश्वरको अधिकार हटाई जमिनमाथि जोत्ने मानिसको अधिकार स्थापित गरियो । यो नाराले एकातिर भूमिमाथिको ईश्वरको अधिकार जोत्ने किसानमा हस्तान्तरण हुँदै आयो र जमिनमाथि ईश्वरको अधिकार विस्थापन हुन गयो ।

भूमिको व्यापारिक कारोबार
वि.सं. २०४६ पछि बहुदलीय व्यवस्थासँगै गुठीको जमिनसमेत किसानको हुने र जमिनमा दोहोरो अधिकार विस्थापित गर्ने नीति आयो । किसानलाई आफ्नो पुस्तैनीदेखि जोत्दै आएको ईश्वरको अधिकार क्षेत्रको जमिन किसानकै अधिकारको हुने नीतिअनुसार निश्चित रकम तिरेर गुठीको जमिन जोत्नेको हुने स्थिति आयो । देशैभरिका गुठी जग्गा किसानलाई खरिद गर्न लगाइयो र तिनका नाममा जमिनको अधिकार हस्तान्तरण हँुदै आयो । किसानलाई बेचिएको जमिनबाट उठेको रकम गुठी संस्थान नामको संस्थामा जम्मा गरियो । त्यही रकमबाट आज जात्रा–पर्व सञ्चालनका लागि आवश्यक रकम उपलब्ध गराउने व्यवस्थाअन्तर्गत जात्रा–पर्व चल्दै छ ।

गुठी संस्थानको बजेट र खारेजी माग
गुठी संस्थानलाई देशभरिको गुठीको जमिन व्यवस्थापन तथा देवदेवीको अधिकार क्षेत्रको जमिनको बेचबिखन अधिकार दिइएको छ । किसानको अधिकारमा हस्तान्तरण गरिएको जमिनको पोत उसले संस्थानलाई तिर्नुपर्ने व्यवस्था गरिएको छ । देशैभरिबाट गुठीले जमिनको राजस्व उठाउँदै आएको छ । संस्थानको वार्षिक बजेट रु. ३७ करोड छ । सोमध्ये सो १५ करोड जात्रा–पर्व सञ्चालनमा र रु. २२ करोड कर्मचारीको तलबभत्ता र प्रशासनिक खर्चमा जान्छ ।
उपत्यकाभित्र मानिसको घनत्व र स्थानीय सरकारको समेत ध्यान पुगेको कारणले जात्रा–पर्व राम्रो हिसाबले सञ्चालन भइरहेको देखिन्छ । उपत्यकाभित्रको नेवार समुदायको दबाबको कारण जात्रा–पर्व सञ्चालनमा संस्थानले यथेष्ट बजेट विनियोजन गरेको देखिन्छ र जात्रा–पर्व सञ्चालनमा नेवार समुदायको समेत त्यत्तिकै चासो र सहभागिता देखिन्छ । नेवारी समुदायभित्र सम्पन्न व्यक्तिले धक फुकाएर आफ्नो संस्कृति बचाउने अभियानमा व्यक्तिगत खर्च गर्ने प्रचलन पनि बढिरहेको छ । यद्यपि, उपत्यकाबाहिर सञ्चालन हुने जात्रा–पर्वलाई आवश्यक बजेट संस्थानले उपलब्ध गराउँदैन । बजेट निकासा गराउन बारम्बार संस्थान धाइरहनुपर्ने स्थिति छ ।

स्थानीय सरकारको दायित्व
उपत्यकाबाहिरका जात्रा–पर्व इतिहासका विभिन्न कालखण्डमा राजाको निरङ्कुश चरित्रका कारण खेदिएका नेवार समुदायले चलाएको संस्कृति हो । नुवाकोटको सिन्दुरे जात्रा काठमाडौं उपत्यकाको मल्ल राजाले चलाएको उपत्यकाकै नेवारी संस्कृतिमा आधारित पर्व हो । नुवाकोट मल्ल राजाकै राज्यअन्तर्गत रहेको भूगोल हो । यहाँ चल्ने सिन्दुरे जात्रा पनि एक महिनासम्म सञ्चालन हुने उपत्यकाका मत्स्येन्द्रनाथ, बिस्का जात्रा र इन्द्रजात्रास्तरकै सांस्कृतिक पर्व हो । यो जात्रा सञ्चालनका लागि अति नै सकस परेको थुप्रै वर्ष भइसक्यो । लिङ्गो काट्ने, गाड्नेदेखि उठाउने, ढाल्ने र थन्क्याउने काममा ठूलो सङ्कट रहेको छ । त्यसैगरी, रथयात्रा गर्न वर्षैपिच्छे यथेष्ट रकमको अभावमा ठूलो कष्ट झेल्नुपरेको छ । नुवाकोटको सिन्दुरे जात्रामा तामाङ समुदायको समेत अपरिहार्य सहभागिता चाहिन्छ । जिल्लाको मुख्य समुदाय तामाङलाई रथयात्राको जिम्मेवारी दिइएको देखिन्छ । आज यो रथयात्रा गर्न यथेष्ट रकमको अभावमा आस्थाका आधारमा मात्र सहभागिता जनाउनुपर्ने बाध्यता छ ।

विदुर नगरपालिकाभित्रको महत्वपूर्ण सांस्कृतिक पर्व सिन्दुरे जात्रा सञ्चालनको जिम्मेवारी नगर कार्यालयले लिन ढिला भइसकेको छ । स्थानीय तहको हालको दोस्रो कार्यकालमा नेवार समुदायकै नगरप्रमुख निर्वाचित भएका समयमा उपत्यकाभित्रका नगरपालिकाले जस्तै स्थानीय सरकारको कार्यकारिणी अधिकार प्रयोग गर्दै सिन्दुरे जात्राका लागि आवश्यक बजेट विनियोजन गर्नुपर्ने आवश्यकताको जनमत बढ्दै गएको छ । नुवाकोट तामाङ समुदायको बाहुल्य रहेको जिल्ला हो जुन मल्लकालदेखि नै हो । यही बाहुल्यलाई देखेर नुवाकोटको सिन्दुरे जात्राको मुख्य रथयात्राको जिम्मेवारी तामाङ समुदायले लिएको देखिन्छ । यस जिल्लामा नेवार र तामाङ समुदायबाहेक ब्राह्मण–क्षेत्री समुदायको समेत उल्लेख्य बसोवास छ । सिन्दुरे जात्रामा लिङ्गोसम्बन्धी सम्पूर्ण जिम्मेवारी क्षेत्री–ब्राह्मण समुदायलाई दिइएको छ । यो जात्रा नेवार, तामाङदेखि सबै समुदायको सांस्कृतिक पर्व हो । जात्रा सञ्चालनको सकस अन्त्य गर्न र निरन्तरता दिन सबै समुदायको एकीकृत पहलकदमीबाट मात्र सम्भव हुन्छ ।