+
Search

ताजा अपडेट +

पपुलर +

धादिङमा क्यान्सर प्रिभेन्सन एन्ड रिसर्च सेन्टर स्थापना गर्न समिति गठन

धादिङमा क्यान्सर प्रिभेन्सन एन्ड रिसर्च सेन्टर स्थापना गर्न समिति गठन
त्रिशूली प्रवाह
२ साल अगाडी
  • राजेन्द्र बस्नेत

काठमाडौं, दिनानुदिन क्यान्सर रोगीको सङ्ख्या नेपालमा वृद्धि हुँदै गइरहेको छ । क्यान्सर रोगलाई सामान्यतया जित्ने रोगीको सङ्ख्या नेपालमा निकै कम रहेको छ । क्यान्सर रोगको उपचार गर्ने क्रममा धेरै परिवारको धन र जन एकैसाथ सकिने गरेका थुप्रै घटना छन् । यस किसिमको रोगको उपचार र अनुसन्धानका लागि धादिङ जिल्लाको थाक्रेमा ‘हाइवे क्यान्सर प्रिभेन्सन एन्ड रिसर्च सेन्टर’ स्थापना गर्न समिति गठन गरिएको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

धादिङ जिल्लाको क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य एवम् पूर्वमुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको पहलमा पृथ्वी राजमार्गको थाक्रे गाउँपालिका–१ बिर्ताचौरमा हाइवे क्यान्सर प्रिभेन्सन एन्ड रिसर्च सेन्टर स्थापना गर्ने तयारी भइरहेको हो । शनिबार काठमाडौंमा आयोजना गरिएको अन्तक्र्रिया कार्यक्रममा धादिङ जिल्लालगायत विभिन्न जिल्लाका व्यक्तिको उपस्थिति रहेको थियो । पछिल्लो समय तरकारी, खाद्यान्न र फलफूलजस्ता कृषिजन्य उपजको उत्पादनका क्रममा रासायनिक मल र विषादीको अत्यधिक प्रयोग, खाद्य सामग्रीमा अखाद्य वस्तुको मिसावट, निम्न गुणस्तरका औषधिको प्रयोगका कारण क्यान्सर (अर्बुद) रोगका पीडितको सङ्ख्या दिन प्रतिदिन बढ्दै गर्दा सो सेन्टरको निर्माण गर्न लागिएको प्रतिनिधिसभा सदस्य पाण्डेले बताए । क्यान्सर रोग सम्बन्धमा अध्ययन, अनुसन्धान, उपचार, पुनस्र्थापना कार्य र क्यान्सर रोकथामसम्बन्धी अध्यापन गराउने शैक्षिक संस्था स्थापना गरी जनचेतना अभिवृद्धि गर्ने र प्राणघातक क्यान्सर रोगबाट बढीभन्दा बढी मानिसलाई बचाउने उद्देश्यले काठमाडौं जिल्लाबाट ४० किलोमिटर पश्चिम पृथ्वी राजमार्गको किनार धादिङ जिल्ला थाक्रे गाउँपालिका–१, बिर्ताचौरमा ‘हाइवे क्यान्सर प्रिभेन्सन एन्ड रिसर्च सेन्टर’ संस्था स्थापना गर्ने उद्देश्यका साथ विभिन्न क्षेत्रका व्यक्तिलाई समेटेर अन्तक्र्रिया तथा भेला आयोजना गरिएको प्रतिनिधिसभा सदस्य पाण्डेले बताए ।

भेलामा बोल्दै धादिङ–२ का प्रतिनिधिसभा सदस्य एवम् नेपाली काङ्ग्रेसका नेता रामनाथ अधिकारीले पछिल्लो समय क्यान्सर रोगी बढिरहँदा राजमार्गमा बन्न लागेको क्यान्सर रिसर्च सेन्टर महत्वपूर्ण रहने बताए । पाण्डेलाई समयानुसार गतिशील व्यक्तिको रूपमा व्याख्या गर्दै आफू पनि सामाजिक कार्यका लागि पाण्डेबाट प्रेरित भएको प्रतिनिधिसभा सदस्य अधिकारीले सो कार्यक्रममा बताएका थिए । क्यान्सर रिसर्च सेन्टर स्थापना गर्न आफ्नो पूर्ण सहयोग रहने बताउँदै त्यसका लागि आगामी आर्थिक वर्षमा सङ्घ, प्रदेश र स्थानीय तहबाट बजेट विनियोजन गर्न पहल गर्ने प्रतिनिधिसभा सदस्य अधिकारीले प्रतिबद्धता जनाए । भेलामा बागमती प्रदेशका सांसद मधुकुमार श्रेष्ठले क्यान्सर रिसर्च सेन्टर धादिङको मात्रै आवश्यकता नभई देशकै आवश्यकता भएकाले यसका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताए । श्रेष्ठले सबै दलका नेता एक ठाउँमा उभिन सके मात्रै विकासका काम अघि बढ्न सक्ने बताउँदै क्यान्सर रिसर्च सेन्टरको स्थापनाका लागि आफूले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए ।
भेलामा धुनीबेँसी नगरपालिका प्रमुख बालकृष्ण आचार्यले पछिल्लो समय दैनिक रूपमा अर्बुद रोगका बिरामीको चाप गाउँघरमा बढ्दै गइरहेकाले यसको रोकथामका लागि सबै मिलेर अघि बढ्नुको विकल्प नभएको बताए । उनले देशकै समस्याको रूपमा फैलिँदै गरेको क्यान्सर रोगको निदान र रोकथामका लागि धादिङमा रिसर्च सेन्टर स्थापना गर्न पहल गर्ने राजेन्द्र पाण्डेलाई धन्यवाद दिँदै नगरपालिका र व्यक्तिगत तर्फबाट पूर्ण सहयोग गर्ने बताए । नगरप्रमुख आचार्यले क्यान्सर रिसर्च सेन्टर स्थापना भए धादिङले मात्रै नभई देशभरका नागरिकले सेवा पाउने र त्यसका लागि राज्यले समेत सहयोग र साथ दिनुपर्ने बताए । भेलामा भक्तपुर क्यान्सर अस्पतालका पूर्वनिर्देशक डा. विष्णुदत्त पौडेल, डा. विनोद अर्याल, ई. विष्णु पन्थी, बेनीघाट–रोराङ गाउँपालिका उपाध्यक्ष टापबहादुर श्रेष्ठ, सिद्धलेक गाउँपालिका उपाध्यक्ष सबिता अर्याल, थाक्रे गाउँपालिकाका वडाध्यक्षहरू, व्यवसायी कुमार पाण्डे, शिवहरि आचार्यलगायतको उपस्थिति रहेको थियो ।

रिसर्च सेन्टर स्थापनाका लागि संस्थाकै नाममा थाक्रे–१ मा ०५८ सालमै १० रोपनी जग्गा खरिद गरिसकिएको छ । गत वर्ष मात्रै उक्त जग्गालाई सम्याउने र जग्गा संरक्षणका लागि वाल लगाउने काम सम्पन्न भइसकेको छ । रिसर्च सेन्टर निर्माण गर्न पृथ्वी राजमार्गबाट सात सय मिटर लामो सडकसमेत निर्माण भइसकेको छ । शनिबारको भेलाले तदर्थ समिति र सल्लाहकार समिति गठन गरेको छ । तदर्थ समितिको अध्यक्षमा प्रतिनिधिसभा सदस्य तथा पूर्वमुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, उपाध्यक्षमा निमानुरू शेर्पा र डा. विष्णुदत्त पौडेल, सचिवमा कृष्णबहादुर थापा, सहसचिवमा निरू खरेल, कोषाध्यक्षमा रामहरि पाठक, सदस्यमा राजेन्द्रप्रसाद खनाल, शिवहरि आचार्य, यादव खकुरेल, ताजमहमद मियाँ, टिबी कार्की, डा. विनोद अर्याल, इन्जियिर विष्णु पन्थी, रेशम तामाङ, शान्ता हमाल ठकुरी रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह