प्रेमचन्द्र श्रेष्ठ
प्रधानाध्यापक
भैरवी माध्यमिक विद्यालय
विदुर-२, अशोकवाटिका, नुवाकोट
विसं २०१३ मा भैरवीथान परिसरमा रहेका शीतलपाटी, सेतो पाटीमा पढाइ सुरु गरी २०१९ मा हाल विद्यालय रहेको स्थानमा भवन शिलान्यास गरी २०२२ मा सारियो । विसं २०३४ मा माध्यमिक तह स्वीकृत भई २०३७ मा पहिलोपटक विद्यालय प्रवेशिका परीक्षामा सम्मिलित भएको थियो । त्यसअघि नुवाकोट जिल्लामा त्रिभुवन त्रिशूली मावि, त्रिशूली, अमरज्योति मावि, खरानीटार र क्षेत्रपाल मावि चौघडा मात्र माध्यमिक विद्यालयका रूपमा सञ्चालित थिए । स्थानीय जनता, चन्दादाता, जग्गादाता, सरकारी तथा गैरसरकारी निकायको सहयोगमा भवन बने । विसं २०४५ को भूकम्पपछि टुँडिखेलमा भूकम्पप्रतिरोधी ट्रस भवन बनाइयो । विसं २०७२ को भूकम्पले पुराना भवन भत्किएपछि जाइका, रुम टु रिड, नेपाल सरकार र विद्यालयको आन्तरिक स्रोतबाट हालका भवन बनेका हुन् । विसं २०५८ देखि विशेष शिक्षाअन्तर्गत सुस्त श्रवणका दुई स्रोतकक्षा निरन्तर सञ्चालनमा छन् । विसं २०६३ देखि साबिक उमाविको स्वीकृति लिएर पठनपाठन सुरुवात भई हाल बाल कक्षादेखि कक्षा १२ सम्मको पठनपाठन भइरहेको छ । हालसम्म कक्षा १० को ४५ ब्याचबाट एक हजार पाँच सय ५९ विद्यार्थी विद्यालयबाट उत्तीर्ण भइसकेका छन् । त्यसैगरी कक्षा १२ का १८ ब्याचबाट दुई सय ९२ विद्यार्थी उत्तीर्ण भएका छन् ।
गौरादह-५, स्कुलचौन, झापाका प्रेमचन्द्र श्रेष्ठ विद्यालयका प्रधानाध्यापक हुनुहुन्छ । धनकुटा बहुमुखी क्याम्पसबाट आइएड, बिएड उत्तीर्ण श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट एमएड गर्नुभएको हो । विसं २०६३ मा नुवाकोट प्रवेश गर्नुभएका श्रेष्ठ त्यसअघि ग्रामसेवा विद्याश्रम मावि, म्यागङ-५ सामरी, नुवाकोट (मावि राहत दरबन्दीमा नियुक्त) मा हुनुहुन्थ्यो । विसं २०७१ साउन ९ गते महेन्द्र मावि, शिवपुरी-३, काउलेमा माध्यमिक अङ्गे्रजी शिक्षकका रूपमा स्थायी सेवा प्रारम्भ गर्नुभएका उहाँ यस विद्यालयमा २०७३ फागुन १८ गते मावि अङ्ग्रेजी शिक्षकका रूपमा सरुवा हुनुभएको हो । विसं २०७६ फागुन १७ गतेदेखि हालसम्म यस विद्यालयमा प्रधानाध्यापक रहनुभएका उहाँसँग त्रिशूली प्रवाह प्रतिनिधिले गरेको कुराकानीको अंश :
विद्यालयको हालको शैक्षिक, भौतिक, जनशक्तिको अवस्था कस्तो छ ? विषय विशेषज्ञ शिक्षक कति छन् ?
विद्यालयको आफ्नै हातामा दुई पक्की, एक ट्रस र अन्य एक गरी चार भवन र १७ वटा कोठा छन् । स्रोत कक्षाका लागि एक आवासीय भवन छ । विदुर-२, टुँडिखेलमा पाँच ट्रस भवन तथा तिनधारे बनेलीमा एक हल छन् । तीन शौचालय चालू अवस्थामा छ । विद्यालयमा विज्ञान प्रयोगशाला, पुस्तकालय र कम्प्युटर ल्याब सञ्चालनमा छन् । आइसिटीको प्रयोगबाट पनि कक्षा सञ्चालनमा छन् । विद्यालयको आफ्नै खेलमैदान छैन । विद्यार्थीलाई अतिरिक्त कक्षा सञ्चालन गर्नका लागि खेलमैदानको आवश्यकता महसुस भइरहेको छ । समग्रमा नुवाकोटमा नै खानेपानीको समस्या पूर्ण रूपमा समाधान नभएकाले विद्यालयले पनि पानीको समस्या झेलिरहेको छ विशेषतः सुक्खा समयमा । कक्षा १२ को एसएलसिई, कक्षा १० को एसइई परीक्षामा विद्यालयले समग्र राष्ट्रिय, जिल्ला र स्थानीय तहको भन्दा औसत राम्रो नतिजा हासिल गरेको छ । कक्षा ८ को बिएलईमा विदुर नगरको औसतभन्दा हाम्रो विद्यालयको नतिजा राम्रो छ । विद्यालयमा हाल कम्प्युटर, गणित तथा विज्ञान विषयका शिक्षकको भने अभाव खड्किरहेको छ ।
विद्यार्थीको सङ्ख्या कस्तो छ ?
विद्यालयको रेकर्डअनुसार स्थापनादेखि २०५८ सम्म विद्यार्थी सङ्ख्या लगातार बढ्दै गएर सात सय ६४ पुगेको देखिन्छ । विसं २०५९ देखि सो सङ्ख्या लगातार घट्दो क्रममा छ । विसं २०८० मा २०७९ का तुलनामा केही सङ्ख्या बढे पनि पुनः घट्ने क्रम यथावत् छ । यस शैक्षिक सत्रमा विद्यार्थी सङ्ख्या दुई सय ५२ छ । हाम्रो विद्यालयको मूल चुनौती भनेको यही नै हो ।
विद्यालयको भौतिक पूर्वाधार र जनशक्तिको अवस्था के छ ? विद्यालयले उत्कृष्टता हासिल गर्न नसक्नाका कारण के होला ?
पूर्वाधारका रूपमा पर्याप्त जग्गा र भवन नहुनु हाम्रो समस्या हो । जनशक्तिका रूपमा आइसिटी, गणित र विज्ञान शिक्षकको पूर्णता हाम्रामा अझै छैन । विद्यालयको नतिजाका सन्दर्भमा हाम्रा सीमितताको बाबजुद हासिल गरेको परिणाममा धेरै प्रश्न गर्नुपर्ने देखिँदैन, जस्तो कक्षा १२ का नतिजामा गत वर्ष शतप्रतिशत र यस वर्ष ३.५७ जिपिएसहित ७५ प्रतिशत विद्यार्थी सफल भएका छन् । विसं २०८१ एसइईमा ८४.६१ प्रतिशत विद्यार्थी उत्तीर्ण भए भने कक्षा आठको बिएलईमा शतप्रतिशत उत्तीर्ण भएका छन् । यो सन्तोषको विषय भए पनि अझै धेरै गर्न बाँकी नै छ ।
एसइईमा तपाईंको विषय अङ्ग्रेजीमा कस्तो नतिजा आयो ?
सामान्यतः सरकारी विद्यालयमा अङ्ग्रेजीलाई गाह्रो विषयका रूपमा लिने गरिन्छ । आजभोलि सरकारी विद्यालयले पनि शिक्षण माध्यमका रूपमा अङ्ग्रेजी भाषाको प्रयोग गरेका कारणले यसको हाउगुजी कम हुँदै गएको छ । यस विद्यालयको एसइई परीक्षामा केन्द्रीय, जिल्लागत र स्थानीयस्तरको औसत उपलब्धिभन्दा माथि नै छ । विसं २०८१ को एसइई परीक्षामा ९२.३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
एसइईमा केही वर्षदेखि नतिजा सुधार भएको देखियो, यसको कारण के हो ?
राष्ट्रिय रूपमा गत वर्षको तुलनामा यस वर्षको नतिजामा सुधार देखियो । यसमा सबैको सामूहिक प्रयास छ । जिल्लामा गत वर्षभन्दा यस वर्ष नतिजामा सुधार आएको छ । जहाँसम्म हाम्रो विद्यालयको कुरा छ, यसमा विद्यार्थी, शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक-अभिभावक सङ्घ, समुदाय र सम्बन्धित निकाय सबैको सकारात्मक पहल नै मुख्य कारण हो ।
सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या र शैक्षिक गुणस्तर बर्सेनि घट्दै गइरहेको छ नि ?
सामुदायिक विद्यालयको विद्यार्थी सङ्ख्या देशभर घट्दो क्रममा छ । त्यसमा पनि मूलतः देशका पहाडी र हिमाली क्षेत्रमा देखिन्छ । मुलुकमा बसाइँसराइ, प्रजनन दरमा आएको कमी तथा युवा पलायन यसको कारण हो । सामुदायिक विद्यालयको शैक्षिकस्तर घटेको तथ्याङ्कबाट पुष्टि हुँदैन, तर सुधारको जरुरी भने छ ।
भैरवी माध्यमिक विद्यालय र अरू विद्यालयमा के फरक छ जसका कारण विद्यार्थीले पहिलालाई नै रोजून् ?
भैरवी माध्यमिक विद्यालय एउटा इतिहास बोकेको ७० वर्षदेखि सेवा दिँदै आएको विद्यालय हो । यस विद्यालयबाट एसइई ब्याच नै ४५ र एसएलसिई १८ ब्याचले पूरा गरिसके । विद्यालयको उत्पादनले राष्ट्रिय र अन्तर्राष्ट्रिय जगत्मा शैक्षिक, प्रशासनिक, सुरक्षा, न्यायिक, आमसञ्चार, राजनीतिक, व्यावसायिक, खेल र साहित्य-कला जगत्मा आफूलाई स्थापित गरेका छन् । भैरवीको उत्पादनभन्दा जो-कसैलाई पनि गर्वको महसुस हुने अवस्था छ । यस विद्यालयको नतिजालाई हेर्दा पनि निरन्तर राम्रो देखिन्छ । विद्यालयको हरेक कुरा पारदर्शी हुने, सामूहिकतामा आधारित भई निर्णय गरिने र विद्यार्थीको उन्नयनका लागि सधैँ लागिपर्ने भएकाले भैरवी रोज्दा राम्रो हुन्छ । मूलतः यस विद्यालयका विद्यालय प्रशासन, अभिभावक र समुदायको साझा प्रयत्न विद्यार्थीलाई सफल बनाउनेतर्फ नै लक्षित छ ।
यस वर्षको बाल कक्षादेखि कक्षा १२ सम्मको शैक्षिक नतिजाबाट सन्तुष्ट हुनुहुन्छ ?
शिक्षा क्षेत्रमा सामान्य सन्तोष लिने हो । यत्तिकैमा सन्तुष्टि भएर बस्ने नै होइन । यसमा निरन्तर सुधारका लागि लागिरहने हो । हालको नतिजामा सन्तोष मानेका छौँ, तर सुधारका लागि प्रयत्न गरिरहेका छौँ ।
विद्यालयको मुख्य समस्या के हो ? विद्यालयप्रति अभिभावकको साथ र सहयोग कस्तो पाउनुभएको छ ?
हाम्रो मूल समस्या भनेको विद्यार्थी सङ्ख्या नै हो । पहाडी भूगोलका कारण विसं २०५९ देखि घट्न थालेको विद्यार्थी सङ्ख्या विसं २०७२ को महाभूकम्पपछि तीव्र गतिमा घटिरहेको छ । हाम्रा चार फिडर विद्यालय बन्द भइसकेका छन् भने दई फिडर (वरपर) का विद्यालयमा पनि विद्यार्थी सङ्ख्या अत्यन्त न्यून छ, विद्यालयको तह घटुवा भई कक्षा ३ मा झरिसकेको छ । नतिजाको उत्कृष्टताको बाबजुद विद्यार्थी सङ्ख्या बढाउन सकिएको छैन । अभिभावकको साथ र सहयोगविना त विद्यालयमा राम्रोे गर्ने कल्पना पनि गर्न सकिँदैन । अभिभावकको प्रतिनिधित्व गरेर विद्यालय व्यवस्थापन समिति र शिक्षक-अभिभावक सङ्घ रहेका छन् जो हाम्रो विद्यालयका लागि उदाहरणीय रूपमा क्रियाशील छन् । विद्यार्थी सङ्ख्या घट्नुमा विद्यालयका लागि भूगोल नै ठुलो चुनौती भएर आएको छ । विद्यालयको सेवा क्षेत्रबाट जनसङ्ख्या विस्थापित हुनु नै मुख्य समस्या हो ।
स्थानीय सरकारको साथ र सहयोग कस्तो पाउनुभएको छ ?
विसं २०७४ को स्थानीय तहको निर्वाचनपछि हामी बिल्कुलै नयाँ अभ्यासमा गयौँ । संविधानले माध्यमिक तहसम्मको शिक्षा हेर्ने जिम्मेवारी स्थानीय तहलाई दिएको छ । त्यसैले एउटा प्रक्रियाबाट अर्कामा जाँदा स्वाभाविक रूपमा केही समस्या भए, जटिलता देखिए, कतिपय विषयमा मत बाझियो । अन्त्यमा विधि, प्रक्रिया र नियममा टेकेर नै समाधान निकालियो । स्थानीय तहसँग निरन्तर आफ्नो समस्या, चुनौती र सम्भावना राख्दै आएका छौँ । हामीले नीति, नियमभित्र रहेर स्थानीय तहको निर्देशनअनुरूप हातेमालो गर्दै आएका छौँ ।
विद्यालयको भावी योजना के छ ?
भैरवी माध्यमिकको मूल चुनौती भनेको भूगोल हो । हाम्रो सेवाक्षेत्रमा जनसङ्ख्या विस्थापन दर उच्च छ जसका कारण विद्यालयमा विद्यार्थी सङ्ख्या निरन्तर घट्दो छ । यसलाई मध्यनजर गरेर विसं २०८० मा आवासीय विद्यालयका रूपमा रूपान्तरण गर्नुपर्ने भनी प्रस्तावनापत्र तयार पारी विदुर नगरपालिकामार्फत बागमती प्रदेश सरकारसमक्ष प्रस्ताव पेस गरेका छौँ । त्यहाँबाट सकारात्मक सहयोग हुने आशामा छौँ । विद्यालयलाई आवासीय रूपमा नलगे सङ्ख्याका कारण सङ्कट सन्निकट छ भन्नेमा हामी जानकार छौँ ।
प्रतिक्रिया