समुन्द्रटार । दुप्चेश्वर महादेवधाममा दर्शन गर्न आउने अपाङ्गता भएका श्रद्धालु तथा ज्येष्ठ नागरिकका लागि सहज र सुरक्षित यात्रा सुनिश्चित गर्न विशेष वैकल्पिक मार्गको व्यवस्था गरिएको छ ।
दुप्चेश्वर क्षेत्र विकास कोषले सार्वजनिक सूचना जारी गर्दै भक्तजनलाई वैकल्पिक मार्ग प्रयोगका लागि धाम प्रवेशद्वारनजिकै रहेको भजनमण्डली कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ । महादेवको दर्शनमा सबैको पहुँच सुनिश्चित गर्ने उद्देश्यले उक्त वैकल्पिक मार्ग सञ्चालन गरिएको हो । ‘जो जहाँबाट आए पनि दर्शनमा कुनै बाधा नहोस् भन्ने हाम्रो पवित्र प्रयास हो,’ दुप्चेश्वर क्षेत्र विकास कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले बताउनुभयो । अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा विशेष सहयोग आवश्यक परेका भक्तजनले भजनमण्डलीसँग समन्वय गरी वैकल्पिक मार्गबाट सहज रूपमा दर्शन गर्न सक्नेछन् । दुप्चेश्वर क्षेत्र विकास कोषले सबै भक्तजनको यात्रा सहज, सुरक्षित र सफल होस् भन्ने कामना गरेको छ । गत साउनको अन्तिम सातादेखि मन्दिर जाने मार्गको एक साइडमा रेलिङ थपेर अपाङ्गता भएका तथा ज्येष्ठ नागरिकका लागि वैकल्पिक मार्गको व्यवस्था गरिएको छ ।
प्रतिक्रिया