भैरवी मन्दिर निर्माण नसकिँदै धार्मिक पर्यटकको चहल-पहल

  • त्रिशूली प्रवाह
  • २७ बैशाख २०८१, बिहीबार १२:४९

धादिङबेँसी, धादिङ जिल्लाको पुरानो सदरमुकाम सुनौलाबजारनजिक रहेको भैरवी मन्दिर निर्माण नसकिँदै धार्मिक पर्यटकको आवत–जावत बढेको छ । पहाडको चुचुरोमा कहालीलाग्दो भिरको केही समथर भागमा मन्दिर निर्माण भइरहेको छ ।

मन्दिर प्रवेश गर्ने बाटोमा चिटिक्क परेका सिँढी बनाइएको छ । स्थानीय युवा सिँढीको बाटो हुँदै भिरमा रहेको भैरवीको दर्शन गरी फोटो खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्ने प्रतिस्पर्धाले आन्तरिक पर्यटक बढेका हुन् । जिल्ला सदरमुकामसमेत रहेको नीलकण्ठ नगरपालिका–६ सुनौलाबजारमा अवस्थित ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्व बोकेको भैरवी मन्दिर आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यका रूपमा रहेको छ । मन्दिर परिसरबाट गणेश हिमाल, मनास्लु, माछापुच्छे, मानापाथीलगायत हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । हिमाललाई पृष्ठभूमिमा राखेर भैरवीसँग फोटो खिच्न सकिने भएकाले मन्दिरमा धार्मिक पर्यटकका रूपमा मानिसकोे ठूलो भिड लाग्न थालेको छ । मन्दिरका पुजारी भगवान रानामगरका अनुसार गोरखाका राजा राम शाहले १६६६ मा स्थापना गरेको आठ शक्तिपीठमध्ये भैरवी मन्दिर एक भएको शाहले स्थापना गरेको लालमोहरमा लेखिएको छ । भैरवी मन्दिर गुठी व्यवस्थापन समितिका सचिव कृष्णबहादुर श्रेष्ठले मन्दिरको इतिहास नेपालको एकीकरणसँग जोडिएको बताए । पृथ्वीनारायण शाहले नुवाकोट विजय गर्न नसकेपछि भैरवी मन्दिरमा वास बसी भाकल गरेका थिए । भाकलपछि नुवाकोट जितेको भनाइ छ ।

मन्दिरमा पूजासहित बडादसैँ र चैतेदसैँमा विशेष मेला लाग्छ । मन्दिरमा विशेष पूजा, भाकल तथा बलि चढाउने परम्परा रहिआएको छ । ‘मन्दिर पुग्न सदरमुकामबाट आठ किलोमिटर पिच र १० किलोमिटर कच्ची गरी १८ किलोमिटरको यात्रापछि पुग्न सकिन्छ । सवारीसाधनबाट मात्र नभई हाइकिङ गरेर पनि मन्दिर आइपुग्ने गरेको श्रेष्ठ बताउँछन् । ०७२ को भूकम्पले मन्दिर भत्किएपछि अहिले पुनर्निर्माण भइरहेको छ । ०७६ फागुन २३ गते मन्दिरको शिलान्यास गरिएको हो । १३ करोडको डिपिआर गरेर निर्माण कार्य सुरु गरिएको मन्दिर चार करोड रुपैयाँबराबरको खर्चले पुनर्निर्माण भइरहेको गुठीका अध्यक्ष श्रेष्ठले बताए । नीलकण्ठ नगरपालिकाले पर्यटन प्रवद्र्धनमा विशेष प्राथमिकता दिएको नगरपालिकाका उपप्रमुख दीपक विश्वकर्माले बताए । मन्दिरको पुनर्निर्माणमा नगरपालिकाले सहयोग गरिरहेको छ । मन्दिर जाने सडक निर्माण, मन्दिरवरिपरि पार्क बनाउने तयारी भइरहेको छ । होमस्टे सञ्चालन तथा विकासका लागि पनि प्रदेश सरकारसँग समन्वय भइरहेको विकले बताए ।

मन्दिरले वडा र नगरपालिकाकोे मात्र चिनारी नभई जिल्ला तहमै यसले ठूलो महत्व बोकेको नीलकण्ठ नगरपालिका–६ का वडाध्यक्ष भूपेन्द्रकुमार श्रेष्ठले बताए । ‘प्रचार–प्रसारमा लागिरहेका छौँ । ठूलो रकमको डिपिआर भएकाले पुनर्निर्माणको काममा ढिलाइ भएको हो । तर, भैरवी मन्दिरको पुनर्निर्माण सम्पन्न भएपछि पर्यटन प्रवद्र्धन र जिल्लाकै चिनारी हुने अपेक्षा गरेका छौँ,’ वडाध्यक्ष श्रेष्ठले भने । मन्दिर आइपुग्ने धार्मिक महत्वका साथै प्राकृतिक सुन्दरताले पनि लोभिने गरेको नीलकण्ठ– ७ का कार्यवाहक वडाध्यक्ष युवराज पोखरेलले बताए । ऐतिहासिक महत्व बोकेको भैरवी मन्दिरको प्रचार–प्रसार हुन सके जिल्लामा मात्र नभई राष्ट्रियस्तरमै पहिचान हुने वडाध्यक्ष पोख्रेल बताउँछन् । पछिल्लो समय आन्तरिक रूपमा घुमफिर गर्ने बानीको विकास भएको छ । अझ धार्मिक पर्यटनका हिसाबले विकास हुने मन्दिर सबै उमेर समूहका मानिसका लागि हुने भएकाले धर्मावलम्बी तथा पर्यटकलाई सुनौलाबजारमा बसोवासको प्रबन्ध गर्ने हो भने जिल्लाको पुरानो तथा ऐतिहासिक सदरमुकाबारे जानकारी हुने अपेक्षा गरिएको छ । धर्मावलम्बी तथा पर्यटकलाई बसाउन स्थानीयको लगानीमा होमस्टे कार्यक्रम सञ्चालन गर्नु उपयुक्त हुन सक्छ । यस्तो गरिएमा पुरानो सदरमुकामको साखसमेत जोगिने र त्यहाँ बसोवास गरिरहेका स्थानीयको रोजगारी तथा आय–आर्जनको बाटो खुल्ने बताइएको छ ।