Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

खनियाँवासमा ‘एक घर एक स्नातक’

खनियाँवासमा ‘एक घर एक स्नातक’
त्रिशूली प्रवाह
१ साल अगाडी
  • राजेन्द्र बस्नेत

धादिङबेँसी, धादिङ, खनियाँवास गाउँपालिकाले आफ्नो स्थानीय तहमा ‘एक घर एक स्नातक’ अभियान सञ्चालन गरेको छ । आफू दोस्रोपटक निर्वाचित भएपछि गाउँपालिका अध्यक्ष रणबहादुर तामाङले नीलकण्ठ बहुमुखी क्याम्पससँग साझेदारी गरेर स्नातक तहको पठनपाठन सुरु गरिएको बताए । स्थानीय तहबाट निर्वाचित जनप्रतिनिधि आफैँले गाउँसभाबाट ऐन–कानुन, नीति तथा कार्यक्रम र बजेट स्वीकृत गराई कार्यान्वयनका चरणमा लैजाने भएकाले गाउँपालिकाले दीर्घकालीन योजना बनाउनुपर्ने महसुस गरी शिक्षालाई प्राथमिकतामा राखेर काम गरिएको अध्यक्ष तामाङले जानकारी दिए ।

निकै पहिला कक्षा १२ उत्तीर्ण गरेर बसेका पनि अहिले पालिकाको सहयोगमा स्नातक अध्ययन गरिरहेका छन् । स्नातक अध्ययन गर्नेमध्ये केही जिल्ला सदरमुकाममै बसेर पढिरहेका छन् भने केही गाउँमै बसेर अनलाइन कक्षा लिइरहेका छन् । पालिकाका सबैलाई स्नातक शिक्षा दिने दीर्घकालीन योजनाअनुसार बच्छला माविमा पनि स्नातक कक्षा सञ्चालन गर्ने तयारी पालिकाले गरिरहेको छ । शिक्षामा कसरी सुधार गर्न सकिन्छ भनेर काठमाडौं विश्वविद्यालयका प्राध्यापकसँग परामर्श लिएर पालिकाले औपचारिक शिक्षाको प्रवेश विन्दु बालकक्षालाई सिकाइमूलक बनाउन थाइल्यान्डकोे कालोङसाम नगरपालिकासँगको सहकार्यमा १६ जनालाई ४८ दिने तालिम लिन पठाएको छ । ०७८ को जनगणनाअनुसार ५९.६ प्रतिशत साक्षरता प्रतिशतलाई अबको केही वर्षमा शतप्रतिशत बनाउन काम भइरहेको अध्यक्ष तामाङले बताए ।

जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित साबिकका तीन गाविस दार्खा, झार्लाङ र सत्यदेवीलाई गाभेर खनियाँवास गाउँपालिका बनेको हो । गाउँपालिकाका पूर्वमा नुवाकोट जिल्ला, पश्चिममा गंगाजमुना गाउँपालिका, उत्तरमा रुबिभ्याली गाउँपालिका तथा दक्षिणमा नेत्रावती गाउँपालिका र नुवाकोट जिल्ला छन् । गाउँपालिकाको केन्द्र वडा नम्बर ४ को दार्खामा छ जुन जिल्ला सदरमुकाम धादिङबेँसीबाट करिब ३६ किलोमिटर दूरीमा छ । गाउँपालिकामा तामाङ समुदायको बाहुल्य छ भने गुरुङ, मगर, ब्राह्मण, क्षेत्री, नेवार, दमाईं, कामी आदि जातजातिको समेत बसोवास छ । भौगोलिक रूपमा अति दुर्गम तथा जटिल भूबनोट भए पनि गाउँपालिकामा जिल्ला सदरमुकाम धादिङबेँसीदेखि गाउँपालिकाको केन्द्रसम्म पुग्ने गरी कच्ची सडक निर्माण हुनाका साथै गाउँपालिकाका अधिकांश बस्तीमा पुग्ने अहिले सामान्य कच्ची मार्ग खुलेका छन् ।
‘नीति तथा कार्यक्रमबाट गाउँपालिकाले गर्ने वार्षिक कार्यक्रमको प्राथमिकीकरण र बजेट व्यवस्था गरिसकेका छौँ । हाम्रो वार्षिक कार्यक्रममा प्राथमिकीकरणमा परेका कार्यक्रममा शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, पूर्वाधार निर्माण, पर्यटन प्रवद्र्धन, सामाजिक सुरक्षा, युवा तथा खेलकुद, विपत् व्यवस्थापन, सुशासन तथा सार्वजनिक सेवा, सञ्चार तथा सूचना प्रविधि, वन तथा वातारण संरक्षण छन्,’ उनले भने । स्वास्थ्य सेवालाई पनि जनस्तरसम्म सहज रूपमा पु¥याउन एक ग्रामीण अस्पताल सञ्चालन गरी एक एमबिबिएस चिकित्सक व्यवस्था गरिएको छ । दुई–दुई स्वास्थ्यचौकी र आधारभूत स्वास्थ्य केन्द्र तथा एउटा सामुदायिक स्वास्थ्य एकाइबाट स्वास्थ्य सेवा प्रवाह गरिरहेको पालिका स्वास्थ्य तथा सरसफाइमा सुधार गर्न २०८३ सम्ममा पूर्ण सरसफाइ पालिका घोषणा गर्ने कार्ययोजना बनाई कार्यान्वयनमा जुटेको छ । पूर्ण सरसफाइ पालिका घोषणा गर्न राष्ट्रिय योजना आयोगबाट रु. चार करोड ९९ लाख विशेष अनुदान प्राप्त गरी काम गरिएको उपाध्यक्ष सेक्केमान तामाङले बताए । उनले भने, ‘पालिकाले शिक्षा र स्वास्थ्यसँगै खानेपानीका लागि गाग्री बोकेर हिँड्नुपर्ने अवस्थाको अन्त्य गरेका छौँ, ‘एक घर एक धारा’ निर्माण गरी मिटर प्रणालीबाट खानेपानी वितरण गरेका छौँ ।’

स्वरोजगार सिर्जना गरी युवामार्फत गाउँमै रोक्न नगदे बालीको प्रवद्र्धन गर्न पालिकाले सुरु गरेको छ । चिया तथा कफी विकास बोर्डसँग निरन्तर छलफल गरी केही काम अघि बढेको निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज श्रेष्ठले बताए । उनले भने, ‘अहिले दुई हजार कफीका बोटबाट उत्पादन भइरहेको छ, ७० हजार बिरुवा नर्सरीमा छन् ।’ हेफर इन्टरनेसनलसँगको सहकार्यमा अकबरे खुर्सानी खेती गर्न थालिएको छ । उत्पादनशील युवालाई गाउँमै आयआर्जन र रोजगारीमा लगाउने काम पालिकाले सुरु गरेको छ । अलि धेरै लगानी गर्नुपर्ने क्षेत्र पर्यटनको सम्भावना देखेर कुरी र राउतेमा घरवास परियोजना बनाउने काम सुरु गरिएका निमित्त प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले बताए । पालिकाको तातोपानी कुण्डलाई व्यवस्थित बनाउन प्रतीक्षालय, शौचालय, कपडा फेर्ने कक्ष बनाउने योजना पनि छ ।

सडक पूर्वाधार अलि खर्चिलो क्षेत्र हो, तर अनिवार्य गर्नुपर्ने काम भएकाले सबैसँग हारगुहार गरेर पालिकाले किन्ताङफेदीमा नेपाली सेनाका सहयोगमा बेलिब्रिज निर्माण गरी सञ्चालन भएपछि धादिङबेँसीबाट पालिका कार्यालयसम्म यसपालिदेखि बर्खायाममा सडकमार्गबाट पुग्न सकिन्छ । पालिकाका सबै वडाका बस्तीमा कच्ची सडक पुगेको तथा वडा नम्बर २ को चुङमा आउँदो फागुनसम्ममा सडक पु¥याउन काम भइरहेको छ । पालिका कार्यालयसम्म सङ्घीय सरकारले कालोपत्रे गर्ने भने पनि काम भएको छैन । कृषि विकास तथा पशुपालन क्षेत्रमा समेत पालिकाले योजनाबद्ध ढङ्गले काम गरिरहेको छ । पशुपालनलाई व्यावसायिक बनाउन भेडापालन गर्ने किसानलाई खर्कमा चाहिने त्रिपाल उपलब्ध गराइएको छ । भेडापालन व्यवसायलाई दर्ता प्रक्रियामा ल्याउने र कृषि बालीतर्फ पनि किसानलाई अनुदान र प्राविधिक सेवा पालिकाले दिइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह