बागमती सरकारले नाम मात्रैको बजेट छुट्याएर चिउरी-चमेरा संरक्षणमा चासो

  • त्रिशूली प्रवाह
  • ७ असार २०८१, बिहीबार १३:०१

ताल्ती (धादिङ), चेपाङ समुदायसँग जोडिएर आउने चिउरी र चमेरो अब चेपाङ समुदायले मात्र रोप्न नपर्ने भएको छ । लोपोन्मुख चिउरी फल संरक्षण गर्न बागमती प्रदेश सरकारले चासो दिएको छ ।

विश्व वातावरण दिवसको अवसरमा गत हप्ता आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चेपाङ समुदायको उत्थानका लागि चिउरी र चमेरो संरक्षण अभियान कार्यक्रमको प्रकाशन विमोचन गर्दै चेपाङको संस्कृति र पहिचानसँग जोडिएको चिउरी र चमेरो प्रवद्र्धन कार्यक्रमका लागि प्रदेशले सहयोग गर्ने बताए । उनले भने, ‘यो वर्ष थोरै पैसा राख्यौँ । अर्को वर्ष हामी पैसा बढाउँछौँ ।’ चेपाङको बाक्लो बसोवास भएको मकवानपुरको राक्सिराङ गाउँपालिका, चितवनको राप्ती नगरपालिका, कालिका नगरपालिका, इच्छाकामना गाउँपालिका र धादिङको बेनीघाट–रोराङ र गजुरी गाउँपालिका हो । यी ६ पालिकालाई एउटा सर्किटमा विकास गर्न सकिन्छ । चिउरी र चमेरो बहुआयामिक कार्यक्रम हो । चमेरोले चिउरीको परासेचनमा सहयोग पु¥याउँछ । परम्परागत ढङ्गले मात्र होइन । रैथाने फलफूल बालीका रूपमा प्रवद्र्धन गर्नुपर्छ । पछिल्लो समय रैथाने बाली मासिँदै गएकाले चेपाङ, चिउरी र चमेरो कार्यक्रमलाई निरन्तरता दिँदै आवश्यकताअनुसार समयानुकूल बनाएर लाने मुख्यमन्त्री जम्कट्टेलले बताए ।

बेनीघाट–रोराङ गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलियाले चिउरीको बियाँ ५० रुपैयाँ केजीमा किन्ने गाउँपालिकाले निर्णय गरिसकेको बताए । ‘बियाँ नफाल्नु होला’ भन्दै गाउँपालिकामा सम्पर्क गर्न अनुरोध गरे । उपाध्यक्ष टापबहादुर श्रेष्ठले चेपाङ समुदायसँग जोडिएको चिउरी–चमेरो संरक्षण गर्न गाउँपालिकाले कार्यक्रम बनाएको बताए । चिउरी बहुआयामिक फलफूल भएकाले पाखा–पखेरा भरिभराउ बनाउनुपर्छ । डिभिजन अधिकृत विष्णुप्रसाद आचार्यले चिउरीलाई कल्पवृक्षको संज्ञा दिएका छन् । उनले चिउरी बहुआयामिक र बहुउपयोगी हुने बताए । ‘पातबाट दुना–टपरी, फूल चमेरो, मौरी, चराचुरुङ्गी, फुतलीको आहारका रूपमा प्रयोग हुन्छ । फल पोषिलो र गुलियो हुने भएकाले मानिसले खाने गर्दछन् । बियाँ कोलमा फेलेर घिउ बनाएर खान मिल्छ । पिना अन्नबालीको कम्पोस्ट मलका रूपमा प्रयोग गर्न सकिन्छ । बोक्रा गाईवस्तुमा लागेका किर्ना तथा जुका झार्न प्रयोग गर्न मिल्छ । चिउरीको रुखबाट काठ तथा दाउरा बनाउन सकिन्छ । यी हिसाबले चिउरीलाई प्रवद्र्धन गर्दा वातावरणीय हिसाबले पनि सहयोग पुग्छ । चिउरी पकेट क्षेत्र बनाउँदै गर्दा बजार क्षेत्रका मानिस गाउँमा चिउरी खान जान्छन् । चिउरीको फूलबाट सङ्कलन गरिएको मह असाध्यै राम्रो मानिन्छ । त्यो हिसाबले पनि चिउरी खेती गर्न आवश्यक छ,’ मुख्यमन्त्री सालिकराम जम्कटेलले बताए । चमेरो स्वास्थ्य वातावरणको सूचक हो । वातावरण संरक्षणका हिसाबले महत्वपूर्ण प्रजाति मानिन्छ । चमेरोले चिउरीको परासेचन गराउने मात्र होइन, वनस्पतिलाई एक ठाउँबाट अर्को ठाउँमा फैलाउन मद्दत गर्ने डिभिजन वन अधिकृत आचार्यले बताए । ‘स्थानीय सरकारी जागिर छाडेर वन जोगाऊँ, बिरुवा रोपौँ’ भन्ने अभियानमा ४० वर्ष बिताएका भूमिरमण नेपालले चिउरी र चमेरो संरक्षणमा सबैजना लाग्नुपर्ने बताए ।