- शरणउत्सुक सापकोटा
विदुर, नेपाल सरकारको पूर्ण स्वामित्वको नेपाल मेटल कम्पनीको गणेश हिमाल सिसाखानी पुनः सञ्चालनका लागि पुँजी वृद्धि गर्ने निर्णयका पक्षमा अदालतको फैसला आएको छ । ०७२ मा सम्पन्न कम्पनीको वार्षिक साधारणसभाले सेयर वृद्धि गरेर सञ्चालन गर्ने निर्णय गरेको थियो ।
कम्पनीमा १३.५ प्रतिशत सेयर रहेको खेतान समूहअन्तर्गतको म्युचुअल ट्रेडिङ कम्पनीले साधारणसभाबाट सेयर पुँजी वृद्धि गर्ने निर्णय खारेजीको माग गर्दै ०७३ मा पुनरावेदन अदालतमा दिएको मुद्दा ०७५ मा कम्पनीका पक्षमा फैसला आएको थियो । उक्त फैसलाविरुद्ध म्युचुअल ट्रेडिङले ०७५ मा सर्वोच्च अदालतमा दिएको मुद्दा गत वैशाख १० गते कम्पनीका पक्षमा फैसला भएको हो । अदालतबाट फैसलाको पूर्णपाठ आउन बाँकी रहेको मेटल कम्पनीका लेखा प्रमुख हरिप्रसाद घिमिरेले जानकारी दिए । अदालतमा पूर्णपाठ आएपछि अब कम्पनी यथास्थितिमा नरहनेसमेत उनले बताए ।
अदालतले फैसला गरेपछि अब मेटल कम्पनीले गरिरहेको सिसा तथा जस्ताखानीको अन्वेषण–अनुसन्धान सञ्चालनको सम्भावना बढेको छ । ०६२ देखि बन्द उक्त खानी पुनः सञ्चालन गर्न सके देशका लागि राम्रो राजस्व उठ्ने तथा रसुवा, धादिङ र नुवाकोटका सयौँले रोजगारी पाउने नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य ताराबहादुर कार्कीले बताए । उनीसहित नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठ, पूर्वाध्यक्ष शरण सापकोटा, नुवाकोट निर्माण सामग्री व्यवसायी सङ्घका अध्यक्ष नवीनकृष्ण राजभण्डारीलगायत नुवाकोटका उद्योगी–व्यवसायीको जम्बो टोलीले गणेश हिमाल सिसा तथा जस्ताखानीको आधारशिविर सोमदाङ गत हप्ता अवलोकन गरेर फर्केको थियो । राष्ट्रिय महत्वको सो खानी पुनः सञ्चालन गर्न खोज्ने व्यक्तिलाई सञ्चालनका लागि सहयोग गरेर बाटो खोल्नुपर्ने धारणा उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष कुशकुमार जोशीको छ । उनको नेतृत्वमा खानी क्षेत्रभन्दा तल सोमदाङ खोलामा जलविद्युत् आयोजना निर्माण भइरहेको छ ।
धादिङ र रसुवाको सिमानामा पर्ने गणेश हिमालको फेदीमा रहेको सिसा र जस्ताखानीको अन्वेषण १८ वर्षदेखि बन्द छ । खानीस्थल धादिङको रुबीभ्याली र रसुवाको आमाछोदिङ्मो गाउँपालिकाको सीमाक्षेत्रमा पर्छ । सरकारले ०३३ देखि स्वामित्वमा लिएको मेटल कम्पनीले गणेश हिमाल फेदीमा खानी उत्खननका लागि पूर्वाधार निर्माण र अध्ययनमा अहिलेसम्म रु. १८ करोड खर्च गरिसकेको कम्पनीका पूर्वअध्यक्ष नेत्रराज पौडेलले बताए । समुद्री सतहबाट करिब तीन हजार तीन सय मिटरको उचाइमा हिमालको फेदी र खोँचमा रहेका कारण खानी क्षेत्रमा बाह्रै महिना जाडो हुन्छ । यस क्षेत्रमा चार महिना हिमपात हुने गर्छ । खानी भएका ठाउँमा सूर्यको किरण पनि बिहान ११ देखि अपराह्न २ बजेसम्म मात्रै विरलै मात्र पुग्छ । जति बेला पनि सिरेटो चल्ने खोलामा बन्द भएको कम्पनीको ३० वर्षअघि निर्माण गरिएको पुराना दुई घर छन्, जसमध्ये एक ०७२ को भूकम्पले चर्काएर जीर्ण बनाएको तथा अर्को खोलाले बगाइसकेको छ । खानी पुनः सञ्चालनमा ल्याउन भनेर कम्पनीले खानी क्षेत्रको साइट कार्यालय कुर्न कर्मचारी राखेको पनि १५ वर्ष भइसक्यो । कम्पनीले अरू कर्मचारीलाई बिदा दिएर ३० वर्षअघि भर्ना भएका सात कर्मचारीलाई मासिक रु. १७ हजारदेखि रु. ३० हजारसम्म तलबभत्ता दिएर राखेको छ । ती कर्मचारीले तलब नपाएको १० महिना भइसकेको लेखा प्रमुख घिमिरेले बताए ।
रसुवाको त्रिशूली किनार ग्राङ हुँदै गणेश हिमालबाट बगेको पानी परीक्षण गर्दै ०२५ तिर मैलुङखोला पसेका भारतीय बिरला कम्पनीका चक्रवर्ती थरका इन्जिनियरले सो स्थानमा जिंक (जस्तापाता बनाउने र औषधिमा मिश्रण गरिने कच्चा पदार्थ) र सिसाखानी भएको पत्ता लगाएका थिए । ०३३ मा स्थापित गणेश हिमाल मेटल कम्पनी भारतीय कम्पनी, संयुक्त राष्ट्रसङ्घीय नियोग युएनडिपीको अनुसन्धान हुँदै अहिले चिनियाँ कम्पनीको लगानीमातहत पुगेको छ । दुई हजार दुई सय मिटर सुरुङ तथा सबै पूर्वाधार एवम् उच्च मूल्यको जिंक र लिडको प्रचुर सम्भावना रहेको कम्पनीका लेखा प्रमुख घिमिरे बताउँछन् । खानी विभागमातहत हुनुपर्ने सो संस्था सरकारले कम्पनीमा परिणत गर्यो । रुबीभ्यालीको खानी, त्यहाँको प्राकृतिक सौन्दर्य र संस्कृति बेवास्तामा पर्यो । यहाँको रुबी (रातो पत्थर) बहुमूल्य छ । बेलाबखत यहाँ रुबी पाइएको हल्ला चल्छ । क्वार्ज (सेतो/दर्शन ढुङ्गा) त यत्रतत्र छरिएर रहेका अवस्थामा अहिले पनि भेटिन्छ । यही स्रोतका लागि ०३३ मा कम्पनी सुरु भयो, ०४२/४३ मा आइपिओ जारी भयो, ०४५/४६ देखि त बन्दै भयो । प्रतिनिधिसभा सदस्य बुद्धिमान तामाङ भन्छन्, ‘तिप्लिङमा गहुँको दाना जस्तै (रुबी) पाइएको सुन्छु । युएनडिपी, भारत र चीनको अनुसन्धान प्रतिवेदन खानी विभागमा थन्किएको छ । सम्भावना राम्रो छ ।’
अध्ययनपछि नेपाली सेनाले नुवाकोट, विदुर–१ ढुङ्गे (त्रिशूली) तथा रसुवाका बेत्रावती, कालिकास्थान, धुन्चे, स्याफ्रुबेँसी, गत्लाङ, पार्वतीकुण्ड, खुर्पुभञ्ज्याङ हुँदै सोमदाङसम्मको एक सय पाँच किलोमिटर सडक खन्ने जिम्मा लिएर ०४४ मा खुर्पुभञ्ज्याङसम्म र ०४६ मा सोमदाङसम्म सडक निर्माण पूरा गरी गाडी पुर्याएको छ । सडक निर्माणसँगै त्रिशूलीबाट केन्द्रीय प्रसारणको बिजुलीसमेत पुर्याइएको थियो । नपुग बिजुली त्यहीँ उत्पादनसमेत गरेको थियो । सडक खन्न तैनाथ नेपाली सेनाको गणको भग्नावशेष अझै पनि पार्वतीकुण्डमा देख्न सकिन्छ । उक्त सडक खन्न रसुवा तथा धादिङका तिप्लिङ र सेर्तुङका नागरिकले दैनिक तीन रुपैयाँ ज्यालामा काम गरेका बुढापाका बताउँछन् । बाह्रै महिना जाडो हुने भएकाले शिविर कुरेर बस्ने कर्मचारी भूकम्पले जीर्ण बनाएको घरमा एकातिर सामूहिक भान्सा र एकातिर सुत्ने कोठा बनाएर बसेका छन् । जीर्ण भवनको बाहिर रहेको पहेँलो साइनबोर्डमा नेपाल मेटल कम्पनी, गणेश हिमाल जस्ता सिसा परियोजना, आधार शिविर, सोमदाङ लेखिएको छ । उचाइ तीन हजार दुई सय ७० मिटर । यसै आधारमा शिविरबाट जस्ता र सिसाखानी पत्ता लागेको स्थान तीन घण्टाको उकालो गएपछि पुगिन्छ जुन चार हजार मिटर उचाइमा छ ।
‘१८ वर्ष आगो तापेर बस्यौ । कम्पनी फेरि सञ्चालनमा आउला भन्ने आस मरेको छैन,’ सुरुङ खन्ने उपकरण ड्रिलर चलाउने नुवाकोटका शुभराम तामाङले बताए । पाँच सय कर्मचारी तथा मजदुरले लगातार करिब २५ वर्ष काम गरेको खानी लगानी अभावमा बन्द गर्नुपर्ने कारण जनाउँदै ०६२ मा करिब तीन सय कर्मचारीलाई तलब, उपदान र सुविधा दिएर अवकाश दिइए पनि केहीलाई भने चौकीदारका रूपमा कार्यालयमै राखिएको छ ।
खानी अध्ययन गर्न हिमालका काखमा ल्याइएका सयौँ मेट्रिक फलामे उपकरण खानीस्थल वरपर अलपत्र छ । मेटल कम्पनीका पूर्वअध्यक्ष पौडेलका अनुसार मुलुकमा सशस्त्र द्वन्द्व सुरु भएका कारण उत्खनन अघि बढाउन नसकिने जनाई आर्थिक वर्ष ०६२/६३ देखि नेपाल सरकारले बन्द गराएको थियो । कम्पनीमा नेपाल सरकारको ७१.३१ प्रतिशत, खेतान समूहअन्तर्गतको म्युचुअल ट्रेडिङ कम्पनीको १३.५ प्रतिशत, चिनियाँ कम्पनीको १३.०८ प्रतिशत (भारतको हैदराबाद इन्डस्ट्रिजले बिक्री गरेको), राष्ट्रिय वाणिज्य बैंकको १.१६ प्रतिशत र आठ सय ४५ नेपालीको ०.९ प्रतिशत सेयर छ । उत्खननका लागि गरिएको परीक्षणमा जस्ता, सिसा र चाँदी रहेका विभिन्न ६ स्थानको पहिचान गरिए पनि कम्पनीले प्रतिफल लिन नसकेपछि तत्काललाई सरकारले द्वन्द्वको कारण देखाएर उत्खनन बन्द गरेको उद्योग वाणिज्य महासङ्घका पूर्वकेन्द्रीय सदस्य चन्द्रकान्त अधिकारीले बताए ।
धातु भएका स्थानको पहिचान गरी उत्खननका लागि पूर्वाधारसमेत बनाइसकिएको कम्पनी सञ्चालनमा आउन सकेमा मुलुकले ठूलो आर्थिक फड्को मार्न सक्ने धादिङ उद्योग वाणिज्य सङ्घका पूर्वाध्यक्ष ध्रुवबहादुर थापाको सुझाव छ । अध्ययनका क्रममा एक टन धाउ प्रशोधन गर्दा करिब एक किलो चाँदी आउने गरेको तत्काल अनुगमनमा खटिएका प्राविधिकको प्रतिवेदनमा उल्लेख गरिएको पनि थापाले बताए । गणेश हिमाल आसपासमा करिब तीन लाख टन धाउ रहेको पहिचान भइसकेको र त्यसबाट उत्पादन हुने जस्ता र सिसाले ४० वर्षसम्म नेपालको माग धान्ने अनुमान गरिएको उनको भनाइ छ । यहाँ लारी र सुप्ले गरी दुई क्षेत्रमा खनिज पाइएको थियो । प्रारम्भिक एक अध्ययनले यस क्षेत्रमा चार लाख २१ हजार टन जस्ता, ८८ हजार टन सिसा र ६० हजार किलो चाँदी उपलब्ध हुने देखाएको र यसको अन्तर्राष्ट्रिय बजारमा प्रचलित मूल्यले ६७ करोड अमेरिकी डलर अर्थात् रु. ४९ अर्ब ५८ करोड हुन आउने प्रतिवेदन केही वर्षअघि नै परियोजनाले सार्वजनिक गरेको थियो । परियोजना सुरुमा सञ्चालन गर्न ‘मिनी पाइलट’अन्तर्गत साढे नौ करोड बजेट आवश्यक पर्ने परियोजनाले प्रस्ताव राखे पनि मुलुकमा सशस्त्र द्वन्द्व सुरु भएका कारण सरकार र निजी क्षेत्र लगानी गर्न पछि हट्दा धातु उत्खनन अघि बढ्न नसकेको जिल्ला समन्वय समिति धादिङका पूर्वसमन्वय प्रमुख जगन्नाथ नेपालले बताए ।
मेटल कम्पनीले उत्खनन बन्द गरेपछि यहाँबाट गैरकानुनी उत्खनन बढ्नाका साथै अवैध ढङ्गबाट कारोबार गर्नेको चलखेल बढ्दै गएकाले सरकारले खानी उत्खनन विषयमा स्पष्ट नीति बनाएर तत्काल सञ्चालनमा ल्याउनुपर्ने कम्पनीका पूर्वअध्यक्ष पौडेलले बताए । खानी ४० वर्षभन्दा बढी समयसम्म चल्न सक्ने र सो रकमले ५० टन क्षमताको कारखाना सञ्चालन गर्न सकिने प्रतिवेदन सार्वजनिक भए पनि राज्यले चासो नदेखाएको निजी क्षेत्रका अगुवाको गुनासो छ । धादिङमा रहेको जस्ताखानी सञ्चालनमा ल्याउन सरकारसँग पटकपटक कुरा गरेको, तर सरकारले किन सञ्चालन गर्न चाहेको छैन भन्ने जानकारी नभएको पूर्वमन्त्री तामाङले बताए । जस्ताखानी चलाउन सरकारको ध्यानाकर्षण गराउने र संसद्मा सो विषयमा बोल्ने प्रतिनिधिसभाका सदस्य रामनाथ अधिकारीले ‘त्रिशूली प्रवाह’ साप्ताहिकलाई बताए ।