+
Search

ताजा अपडेट +

पपुलर +

तेस्रो आँखा

तेस्रो आँखा
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

आफ्नो सर्खार आएसि आशा गरेका नागरिक अचाक्ली महँगीले पिल्सिएको बालेनको कालो चस्माले नदेखेसि भगवान् भरोसाबाहेक के भन्नु र खै ? दुईतिहाइको सर्खारले विद्यार्थी, कर्मचारी सङ्गठन खारेज गर्ने निर्णय कार्यान्वयन गरे-नगरे पनि आइतबार बिदा दिएकै छ क्यारे ! अब आधा-आधा महिनाको तलब नि दिने भएसि सर्खारी जागिर छाडेकामा तेस्रो आँखालाई भाउन्न भाछ भन्या ! न्वाँकोटका मालपोत र नापी कार्जेलयमा हिजोसम्म यसोउसो खर्च भन्दै हरेक सही गराएको बेलुका लेखनदासले रेकर्डसहित… बुझाउने गरेको चिया पसलमा खासखुस हुन्थ्यो । आजभोलि सेवाग्राहीले कोही कसैको सहयोगविनै सुको खर्च नगरी भटाभट काम गराउन थालेसि बिचरा कागती निचोरेको जस्तो बिचौलियाको अनुहार पनि हेर्नै नसकिने भो बा !

न्वाँकोट नयाँ वर्षको सुरुआत नै खेलमय बन्यो । झन्डै आधा करोड खर्च गरेर स्थानीय खेल स्तर उकास्ने भनिए नि पुरस्कार जिल्लाबाहिर गएसि आर्थिक लेखाजोखा कसले पो गरिदेला खै ? दुप्चेश्वर र विदुरका पहिलो पुरस्कार अन्तै हिँडेसि लगानीको सोधखोज नहोस् पनि किन ? स्थानीयस्तरमै सो रकम खर्चेको भए केही खेलाडी त उत्पादन हुन्थ्यो, केही खेल सामग्री र ड्रेस जोडिन्थ्यो भन्दै खेलकुद विकास समितिका पदाधिकारी कराउँदै हिँडेको फुट्या आँखाले देख्नै कर लाग्यो भन्या ! एक साताँमा म्यागङ, दुप्चेश्वर र विदुरले खेलका नामाँ आधा करोड स्वाहा पार्दा खेलस्तर उठ्यो कि उठेन, खेलाडी उत्पादन भयो कि भएन, जिसस प्रमुख नै जानून्, कसो ?

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह