काठमाडौँ । होटेल व्यवसायी महासङ्घ नेपालको पाँचौँ महाधिवेशन गत चैत २७ र २८ गते पोखरामा सम्पन्न भएको छ । अधिवेशनबाट महासङ्घको वरिष्ठ उपाध्यक्षमा नुवाकोटका सन्तोष उप्रेती निर्विरोध निर्वाचित हुनुभएको छ । अधिवेशनले तुलसीराम भण्डारी ‘शंकर’को नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । भण्डारी यसअघिको कार्यसमितिको महासचिव हुनुहुन्छ ।

नुवाकोट उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष, त्रिशूली यातायात प्रा.लि.का अध्यक्ष, रानीमौरी बेंक्वेट एन्ड रिसोर्ट प्रा.लि.का सञ्चालक रहनुभएका उप्रेती महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । निर्वाचनबाट उपाध्यक्षमा सैलेश कार्की, प्रशासन उपाध्यक्षमा ज्ञानबहादुर गजमेर, महासचिवमा राजेश मलहोत्रा, उपमहासचिवमा मित्र ढकाल, कोषाध्यक्षमा कृष्ण श्रेष्ठ तथा सहकोषाध्यक्षमा लक्ष्मण भण्डारी निर्वाचित हुनुभएको छ । त्यस्तै, प्रशासन सचिवमा रमेश बराल चयन हुनुभएको छ भने सदस्यमा विष्णुप्रसाद घिमिरे, शैलेन्द्रविक्रम थापा, ऋषि चौलागाईं, तिलक चापागाईं, रेनुका याक्सो लिम्बूलगायत निर्वाचित हुनुभएको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा भव्य रूपमा सम्पन्न महाधिवेशनले ६७ सदस्यीय कार्यसमिति चयन गरेको छ । नयाँ नेतृत्व चयनसँगै महासङ्घले होटेल तथा पर्यटन क्षेत्रलाई थप व्यवस्थित र प्रतिस्पर्धी बनाउने अपेक्षा गरिएको छ ।






प्रतिक्रिया