+
Search

ताजा अपडेट +

पपुलर +

आजको आवश्यकता कृषिको व्यावसायिकता

आजको आवश्यकता कृषिको व्यावसायिकता
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

नेपाल सदियौँदेखि कृषिप्रधान देशको रूपमा चिनिँदै आएको छ । अर्थतन्त्रको मेरुदण्डका रूपमा कृषि क्षेत्रलाई लिइँदै आएको पनि वर्षौँ भइसक्यो । देशको भूगोल र हावापानी कृषि क्षेत्रका लागि निकै उपयुक्त हुँदा पनि उपयोग हुन सकेको छैन । कुल जनसङ्ख्याको ठुलो हिस्सा अझै प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कृषिमा निर्भर छन् । तर, विडम्बना यति ठुलो जनसङ्ख्या आबद्ध हुँदाहुँदै पनि कृषि क्षेत्र अझैसम्म पूर्ण रूपमा व्यावसायिक हुन सकेन । खाद्यान्न आयातमा निर्भरता र युवाशक्ति विदेश पलायन बढ्दो छ । नेपालको कृषि प्रणाली अझै परम्परागत प्रविधिमा आधारित छ । अधिकांश किसान अहिले पनि हलगोरु, परम्परागत बिउ र खेती प्रणालीमा निर्भर छन् । आधुनिक उपकरण, उन्नत बिउ र वैज्ञानिक प्रविधिको प्रयोग न्यून हुँदा उत्पादन कम भएको छ । व्यावसायिक कृषि हुनका लागि उत्पादन लागत कम र उत्पादन उच्च हुनुपर्छ, तर नेपालमा यसको उल्टो अवस्था छ ।

पूर्वाधारको अभावले पनि कृषि व्यवसायीकरणमा बाधा पुर्याएको छ । सिँचाइ सुविधा पर्याप्त छैन, सडक पहुँच कमजोर छ, कोल्डस्टोर र प्रशोधन केन्द्रको अभाव छ । यी सबै पूर्वाधारविना कृषि उत्पादनलाई बजारसम्म पु¥याउन र मूल्य पाउन समस्या छ । विशेषगरी दुर्गम क्षेत्रका किसान अझ पनि आधारभूत सुविधाबाट वञ्चित छन् । वित्तीय पहुँच र लगानीको कमी पनि गम्भीर समस्या हो । धेरै किसानसँग पर्याप्त पुँजी छैन । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन प्रक्रिया जटिल र धितो आवश्यक छ । यसले गर्दा किसान आधुनिक प्रविधि अपनाउन वा उत्पादन विस्तार गर्न असमर्थ छन् । कृषि बिमा प्रणाली पनि प्रभावकारी कार्यान्वयनमा छैन । नीति तथा कार्यान्वयनबिचको अन्तर ठुलो छ । सरकारले विभिन्न योजना, अनुदान र कार्यक्रम ल्याए पनि कार्यान्वयन हुन सकिरहेको छैन । कतिपय अवस्थामा अनुदान वास्तविक किसानसम्म पुग्दैन, पहुँच भएका व्यक्तिले मात्र लाभ लिन्छन् । यसले गर्दा वास्तविक कृषक निराश हुँदै जाने र व्यावसायिक बन्ने प्रेरणा हराउँदै गएको छ । यसैगरी, जनशक्ति पलायनले पनि कृषि क्षेत्रमा नकारात्मक प्रभाव पारेको छ । युवा रोजगारीका लागि विदेश जाने प्रवृत्ति बढ्दो छ । यसले गाउँमा श्रमिक अभाव हुन थालेको छ भने वृद्ध र महिला मात्र कृषि कार्यमा संलग्न छन् । जसले उत्पादन क्षमता घटाएको छ । व्यावसायिक कृषि गर्नका लागि दक्ष र ऊर्जावान् जनशक्ति आवश्यक हुन्छ, जुन अभाव बढ्दै छ ।

विभिन्न निकायले सार्वजनिक गरेको हालको तथ्याङ्क हेर्दा पनि कुल गार्हस्थ्य उत्पादनमा कृषिको योगदान करिब २४-२५ प्रतिशतको हाराहारीमा छ । करिब ६० प्रतिशतभन्दा बढी जनसङ्ख्या प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा यसै क्षेत्रमा निर्भर भए पनि उत्पादकत्व कम हुनु चिन्ताको विषय हो । नेपालमा करिब २७ लाख हेक्टर जमिन खेतीयोग्य मानिन्छ, तर त्यसको पूर्ण उपयोग हुन सकेको छैन । सिँचाइ सुविधा पुगेको क्षेत्र ५० प्रतिशतले मात्र छ । यसको अर्थ आधाभन्दा बढी खेती अझै पनि वर्षामा निर्भर छ, जसले उत्पादनमा अनिश्चितता ल्याएको छ । यस्तो अवस्थामा कृषिको आधुनिकीकरण र पूर्वाधार विकास अपरिहार्य देखिन्छ । कृषिको सदुपयोगका लागि सबैभन्दा पहिले उत्पादन प्रणालीलाई व्यावसायिक बनाउन जरुरी छ । अहिले पनि अधिकांश किसान निर्वाहमुखी खेतीमा सीमित छन् । उदाहरणका लागि धान, मकै र गहुँजस्ता मुख्य अन्नबालीको उत्पादकत्व दक्षिण एसियाका अन्य देशको तुलनामा नेपालमा कम छ । धानको औसत उत्पादन करिब ३.५ टन प्रतिहेक्टर हुँदा छिमेकी देशमा चार-पाँच टनसम्म पुग्छ । यसले स्पष्ट गर्छ-सही प्रविधि र व्यवस्थापन अपनाउँदा उत्पादन वृद्धि हुन्छ ।

नेपालले बर्सेनि अर्बौँ रुपैयाँबराबरको कृषि उपज आयात गरिरहेको छ । पछिल्ला वर्षमा मात्र करिब तीन सय ५० अर्ब रुपैयाँभन्दा बढीको खाद्यान्न, तरकारी र फलफूल आयात भएको तथ्याङ्क छ । यही स्वदेशमै उत्पादनमा वृद्धि गर्न सकियो भने यो आयात घटाएर विदेशी मुद्रा बचत गर्न सकिन्छ, जुन आर्थिक विकासका लागि महत्त्वपूर्ण कदम हुनेछ । प्रत्येक वर्ष हजारौँ युवा वैदेशिक रोजगारीका लागि बाहिरिने गरेका छन् । यदि कृषिमा प्रविधि, नवप्रवद्र्धन र लगानीको वातावरण सिर्जना गर्न सकियो भने यही क्षेत्रमै रोजगारीका प्रशस्त अवसर सिर्जना गर्न सकिन्छ । एग्रिबिजनेस, सहकारी र स्टार्टअप मोडलमार्फत युवालाई जोड्न जरुरी छ । नेपालमा कृषिको अपार सम्भावना हुँदाहुँदै पनि यसको पूर्ण सदुपयोग हुन सकेको छैन । यदि आधुनिक प्रविधि, प्रभावकारी नीति, बजार व्यवस्थापन र युवा सहभागिता सुनिश्चित गर्न सकियो भने कृषि क्षेत्रले देशको आर्थिक विकासमा निर्णायक भूमिका खेल्न सक्छ । त्यसका लागि अब नारा होइन, ठोस कार्यान्वयनको खाँचो छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह