+
Search

ताजा अपडेट +

पपुलर +

गृहमन्त्री गुरूङको २६ दिनमै पद चैट्

गृहमन्त्री गुरूङको २६ दिनमै पद चैट्
त्रिशूली प्रवाह
२ घण्टा अगाडी

काठमाडौँ । गृहमन्त्री सुधन गुरूङले प्रधानमन्त्री बालेन शाहलाई आज दिउँसो राजीनामा बुझाउनुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर उहाँले राजीनामा बुझाउनुभएको हो ।

‘‘तत्काललाई गृहमन्त्रालय प्रधानमन्त्री मातहत हुनेछ’’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार दीपा दाहालले भन्नुभयो । विवादास्पद व्यापारी दीपक भट्टसँग लगानी साझेदारी देखिएपछि नैतिकताका आधारमा गुरूङले राजीनामा दिनुभएको हो । उहाँ बालेन सरकारको मन्त्रीमण्डलमा गत चैत १३ गतेदेखि गृहमन्त्रीको जिम्मेवारी पाउनुभएको थियो । पछिल्लो समय लगानीका विषयमा विवाद उत्पन्न भइरहेका बेला उहाँको राजीनामा आएको हो । गृहमन्त्री गुरूङले सामाजिक सञ्जालबाट राजीनामा दिएको घोषणा गर्नुभएको थियो । उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘‘मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ नदेखियोस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले बुधबारदेखि लागू हुने गरी गृहमन्त्री पदबाट राजीनामा दिएको छु ।’’ सम्पत्ति शुद्धिकरणसम्बन्धी कसुरको अनुसन्धानमा तानिएका व्यवसायी दीपक भट्टसँग व्यावसायिक साझेदारी रहेको विवरण सार्वजनिक भएपछि गृहमन्त्री गुरूङमाथि पनि प्रश्न उठेको थियो । उहाँले सञ्जालमा पोष्ट गर्दै भन्नुभएको छ, ‘‘आम नेपाली दाजुभाई, दिदीबहिनी र युवा, यदि हामी साँच्चै परिवर्तन चाहन्छौँ भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ । कति मिडियाकर्मी साथीको कहाँकहाँ स्वीट शेयर छ बिस्तारै आउँला, रामराज्यको चाहना राख्नेले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ ।’’

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह