- राजेन्द्र बस्नेत
गजुरी, धादिङ जिल्ला गजुरी गाउँपालिका-६ आदमघाटबाट किराञ्चोक हुँदै चौतारा (मकवानपुर) जोड्ने सडकको मिलनटारदेखि पर्खालेसम्मको ४.२ किलोमिटर सडक कालोपत्रे गर्ने काम सम्पन्न भएको छ । नाना कन्स्ट्रक्सन प्रा.लि. धादिङले गजुरी गाउँपालिका–६ मिलनटार चोकदेखि वडा नम्बर ७ पर्खालेसम्मको ४.२ किलोमिटर सडक कालोपत्रे गर्ने काम जेठ ३२ गते शुक्रबारबाट सुरु गरेको थियो ।
भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत प्रदेशिक सडक डिभिजन कार्यालय धादिङले ०८१ पुस १८ गते कार्य सम्पन्न गर्ने गरी २० करोड ४९ लाख ८१ हजार १० रुपैयाँमा ०८० असार १३ गते नाना कन्स्ट्रक्सन धादिङसँग सम्झौता गरेको थियो । बागमती प्रदेश सरकार तत्कालीन मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे र आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेल हुँदा आदमघाटदेखि चौतारासम्म करिब ३५ किलोमिटर सडक रहेकोमा मिलनटारदेखि कालोपत्र गर्न बागमती प्रदेश सरकारले आर्थिक वर्ष ०७९÷८० मा बहुवर्षे योजनामा राखी बजेट विनियोजन भएको हो । उनीहरू दुवै धादिङ गजुरीकै हुन् । तत्कालीन योजनामन्त्री शालिकराम जम्कटेल हाल मुख्यमन्त्री छन् । उनी यो सडकको उपभोक्ता अर्थात् किराञ्चोकका स्थानीयसमेत हुन् । नाना कन्स्ट्रक्सनले तोकिएको समयभन्दा ६ महिनाअघि काम सम्पन्न गरी जनतालाई सडक उपभोग गर्न दिएर जनता र कार्यालयको मन जितेको गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले बताए । कालोपत्रे गरेको अनुगमन गर्न गाउँपालिका अध्यक्ष श्रेष्ठ, उपाध्यक्ष शर्मिला बिसुराल, ६ नम्बर वडाध्यक्ष भक्तबहादुर तामाङ, ७ नम्बर वडाध्यक्ष बद्रीप्रसाद जम्कट्टेल, ८ नम्बर वडाध्यक्ष देवराज ओझा र स्थानीय निरन्तर खटिएका थिए ।
साबिकको किराञ्चोक गाविसलाई मुख्य राजमार्गसँग जोड्न ०४८ सालबाट पृथ्वी राजमार्गकोे आदमघाटदेखि दक्षिणपट्टि महाभारत लेकसँग जोड्ने निर्माण सुरु गरिएको थियो । सडक निर्माण सुरु गर्दा आदमघाट–लामाचिरा भनेर सुरु गरेको भए पनि अहिले आदमघाट, पर्खाले, बरभञ्ज्याङ, मजुवा, थुम्कीडाँडा, चौतारासम्म पुगेको छ । अर्को पर्खाले रिष्ठाबोटे सागरभञ्ज्याङ पुगेको छ । यस सडकको उपभोक्ता गजुरी गाउँपालिका– ७ र ८ का करिब एक हजार तीन सय परिवार, वडा नम्बर ६ का करिब दुई सय परिवार, वडा नम्बर ४ का करिब दुई सय परिवार र गल्छी गाउँपालिकाका करिब दुई सय परिवार रहेका छन् । यसैगरी, मकवानपुर जिल्लाको कैलाश गाउँपालिका र थाहा नगरपालिकाका मानिसले समेत यस सडकबाट सुविधा पाउनेछन् । आदमघाट–चौतारा सडक सडकको लम्बाइ करिब ३५ किलोमिटर रहेको छ । यस सडक स्तरोन्नति तथा कालोपत्र पूरा भएमा महाभारत लेकमा बसोवास गर्ने किसानलाई धेरै ठूलो राहत मिल्नेछ । महाभारत लेकका किसानको आर्थिक समृद्धिको मुहान फुट्नेछ ।
प्रतिक्रिया