- रमेश सिलवाल
धादिङबेँसी, ०८० को माध्यमिक शिक्षा परीक्षामा धादिङबाट परीक्षा दिएका चार हजार आठ सय ८६ मध्ये दुई हजार तीन सय ५६ विद्यार्थी मात्र उत्तीर्ण भएका छन् । गत चैत १५ गतेदेखि सुरु भएको एसइईको नतिजा अघिल्लो हप्ता सार्वजनिक भएको थियो । जिल्लाका सामुदायिक र संस्थागत गरी एक सय ६० विद्यालयबाट एसइईमा सहभागी भए पनि पाँच विद्यालयको नतिजा शून्य आएको छ । शून्य नतिजा आउनेमा एक संस्थागत र चार सामुदायिक विद्यालय रहेको शिक्षा विकास तथा समन्वय इकाइ धादिङका निमित्त प्रमुख कृष्णकुमार श्रेष्ठले जानकारी दिए ।
परीक्षामा सहभागी कुल विद्यार्थीको ४८.२२ प्रतिशत मात्रै उत्तीर्ण तथा ५१.७८ प्रतिशत अर्थात् २५ सय ३४ ननग्रेड (अनुत्तीर्ण) भएका छन् ।
जिल्लाका १३ पालिकामध्ये प्रवेशिका परीक्षामा सबैभन्दा बढी नेत्रावती–डबजोङ र सबैभन्दा कम रुबीभ्याली गाउँपालिकाका विद्यार्थी उत्तीर्ण भएका छन् । नेत्रावती–डबजोङबाट एक सय ५७ एसइईमा सहभागीमध्ये एक सय ६ जना उत्तीर्ण भई ६७.५२ प्रतिशत ल्याएको छ । त्यसैगरी सबैभन्दा कम विद्यार्थी उत्तीर्ण गराउने रुबीभ्यालीबाट एक सय पाँचजना एसइईमा सहभागी भएकामध्ये आठजना मात्र उत्तीर्ण हुँदा कुल प्रतिशत आठ मात्र छ । जिल्लाबाट एसइईमा सहभागी चार हजार आठ सय ९० मध्ये चार जिपिए न्यु किबो बोर्डिङ स्कुल धादिङकी छात्रा शिल्पा श्रेष्ठले प्राप्त गरेकी छिन् । उनी जिल्ला प्रथम भएकी छिन् । समन्वय इकाइले जिल्ला प्रथम, द्वितीय, तृतीय र चतुर्थसम्म स्थान प्राप्त गर्ने विद्यालय र विद्यार्थीको नाम सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार द्वितीय स्थान एडभान्स एकेडेमीकै एन्जिल बसौला र विकास लम्साल, तृतीय स्थान नीलकण्ठ माविकी अनुष्का अधिकारी, ब्राइट फ्युचर बोर्डिङ स्कुलकी समृद्धि सिलवाल, चिल्ड्रेन पार्क आवासीय माविका सुहाना श्रेष्ठ, धुनीबेँसी बोर्डिङ स्कुलकी सोना भण्डारी, द राइजिङ भिलेज स्कुलका गृष्मा दाहाल र कृपा खतिवडा, न्यु किबोकै दिवस्पति अधिकारी र शिवसम्राट् अर्याल र चतुर्थ स्थान शान्तिदीप एकेडेमीका दिवान गिरीले प्राप्त गरेका छन् ।
०७३ देखि एसइईमा सहभागी सबै विद्यार्थी उत्तीर्ण हुने गरेकामा यसपटक परीक्षा नियन्त्रण कार्यालयले अक्षराङ्क प्रणालीअनुसार नतिजा प्रकाशन गरेकाले थोरै विद्यार्थी उत्तीर्ण भएका छन् भने केही विद्यालयको नतिजा शून्य आएको छ । यस वर्षदेखि उत्तीर्ण हुन सैद्धान्तिकमा ३५ र आन्तरिकतर्फ ४० प्रतिशत अङ्क ल्याउनुपर्ने नियम बनाइएको छ । विगतमा दुवैखाले अङ्क जोडेर उत्तीर्णाङ्क ल्याउन पाउने व्यवस्था थियो । गत वर्ष धादिङका पाँच विद्यालयको नतिजा शून्य आएको छ । नतिजा शून्य आउनेमा संस्थागत (बोर्डिङ स्कुल) विद्यालय सुपरक्याटलिस्ट इङ्लिस स्कुल नौबिसे र सामुदायिक विद्यालयतर्फ पञ्चकन्या मावि धुषा, च्याम्रादेवी मावि सेर्तुङ, सुन्दरी मावि कुम्पुर र बाँसखर्क मावि बेनीघाट–रोराङ छन् ।