शिक्षा दिवसमा नुवाकोटको पृथ्वीसहित बागमतीका १० उत्कृष्ट विद्यालय पुरस्कृत

  • त्रिशूली प्रवाह
  • १० आश्विन २०८१, बिहीबार १२:३४

हेटौँडा । शिक्षा दिवसका अवसरमा बागमती प्रदेश, शिक्षा विकास निर्देशनालयले प्रदेशभित्रका नुवाकोटको पृथ्वी मावि विदुरसहित १० विद्यालयलाई गत असोज २ गते सम्मान र पुरस्कृत गरेको छ ।

कार्यक्रममा २०८० सालको माध्यमिक शिक्षा परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउने पाँच–पाँच सामुदायिक र संस्थागत विद्यालयलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो । उत्कृष्ट विद्यालयलाई पुरस्कृत गर्दै बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले प्रदेश सरकारले शिक्षालाई प्रमुख महत्वका साथ हेरेको बताए । केही सामुदायिक विद्यालयले निरन्तर उत्कृष्ट नतिजा ल्याइरहेको सन्दर्भ राख्दै तामाङले भने, ‘अभिभावक, शिक्षक र विद्यार्थी सबै लागिपरेर गरेपछि सफल हुँदोरहेछ त । अब अहिले कतिपय ठाउँमा त सामुदायिकमै विद्यार्थी भर्ना गर्न पनि सोर्स लगाउनुपर्नेसम्म भइसकेको छ ।’ मुख्यमन्त्री तामाङले सबै सामुदायिक विद्यालयलाई पनि संस्थागत विद्यालयजत्तिकै सक्षम बनाउनेतर्फ सरकार अग्रसर रहेको जनाउँदै सम्भावित उत्कृष्ट विद्यालयबाट सकारात्मक ऊर्जा लिएर अरू विद्यालय अघि बढ्ने विश्वास व्यक्त गरे ।

३५ भन्दा बढी विद्यार्थी परीक्षामा सम्मिलित गराई उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालयलाई प्राप्त स्तरीकृत औसत अङ्कका आधारमा प्रथमदेखि पाँचौँ स्थानमा आउन सफल उत्कृष्ट पाँच/पाँच विद्यालय छनोट गरिएको निर्देशनालयका महानिर्देशक दीपेन्द्र सुवेदीले जानकारी दिए । सम्मानित हुनेमा सामुदायिकतर्फ भक्तपुरको मेघा माध्यमिक विद्यालय प्रथम, काठमाडौँको बलम्बु माध्यमिक विद्यालय द्वितीय, नुवाकोटको पृथ्वी माध्यमिक विद्यालय विदुर तृतीय तथा काठमाडौँको तरुण माध्यमिक विद्यालय बालाजु चौथो र श्रम राष्ट्रिय माध्यमिक विद्यालय कुमारीगाल पाँचौँ भएका छन् । यस्तै, संस्थागततर्फ ह्विज किड्स इन्टरनेसनल स्कुल बालुवाटार, रिलायन्स इन्टरनेसनल एकेडेमी कपन, गोकर्णेश्वर लाइट एकेडेमी गोकर्ण, शाङ्करी स्कुल छाउनी र माउन्ट ग्लोरी इंग्लिस बोर्डिङ हाइस्कुल चागल पहिलादेखि पाँचौँ स्थानमा पुरस्कृत भएका छन् । पुरस्कृत पाँचै संस्थागत विद्यालय काठमाडौँका हुन् । पहिलादेखि पाँचौँ स्थानमा आउने विद्यालयले क्रमशः रु. एक लाख, रु. ८० हजार, रु. ७० हजार, रु. ६० हजार र रु. ५० हजार तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

सोही कार्यक्रममा ५८औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा आयोजित माध्यमिक विद्यालयस्तरीय निबन्धलेखन प्रतियोगिताका विजेतालाई समेत पुरस्कृत गरियो । बागमती प्रदेशभित्रका माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीबिच भएको निबन्धलेखन प्रतियोगितामा बाँसबारी माध्यमिक विद्यालय काठमाडौँकी कक्षा १० की छात्रा स्मृति चौलागाईं प्रथम भएकी थिइन् । यस्तै, स्याउरीभूमे मावि शिवपुरी, नुवाकोटकी सुमना बुढाथोकी द्वितीय र भालेश्वर माध्यमिक विद्यालय पनौती, काभ्रेपलाञ्चोककी अनि कार्की तृतीय भएकी थिइन् । विजेताले क्रमशः रु। १० हजार, आठ हजार र ६ हजारसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।