माझीटार । विदुर र बेलकोटगढी नगरपालिकाका किसानलाई लक्षित गर्दै विदुर-५ को कार्यालयले माझीटारमा तरकारी सङ्कलन केन्द्रको पूर्वाधार निर्माण सुरू भएको छ । स्थानीयस्तरमा उत्पादित कृषि उपजलाई व्यवस्थित रूपमा सङ्कलन र बजारीकरण गर्ने उद्देश्यका साथ वडा कार्यालयपरिसरमा आधुनिक तरकारी सङ्कलन केन्द्रको निर्माणकार्य औपचारिक रूपमा सुरू भएको वडाध्यक्ष लीलानाथ न्यौपानेले जानकारी दिनुभयो । नगरप्रमुख राजन श्रेष्ठ र उपप्रमुख प्रभा बोगटीले सङ्कलन केन्द्रको निर्माण हुने भौतिक संरचनाको शिलान्यास अघिल्लो हप्ता गर्नुभएको थियो ।
यो केन्द्र सञ्चालनमा आएपछि यस क्षेत्रका किसानले बिचौलियाको मार खेप्नु नपर्ने र आफ्नो पसिनाको उचित मूल्य पाउने अपेक्षा लिएको वडाध्यक्ष न्यौपानेले बताउनुभयो । निर्माण व्यवसायीसँग आगामी जेठ मसान्तभित्रै निर्माण सक्ने गरी सम्झौता भएको छ । तरकारी सङ्कलन केन्द्रको निर्माणले खासगरी व्यावसायिक तरकारी खेतीमा लागेका स्थानीय किसानको जीवनस्तर उकास्न र नगरलाई कृषिमा आत्मनिर्भर बनाउन ठुलो टेवा पुग्ने अपेक्षा गरिएको छ । यसअघि उक्त तरकारी सङ्कलन केन्द्र बट्टारको हावाघरमा निर्माण गर्र्न प्रस्ताव भएको थियो । उक्त स्थानमा जग्गा प्राप्तिको समस्या भएपछि राम मन्दिरपछाडि गत वर्ष तत्कालीन उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सङ्कलन केन्द्रको शिलान्यास गर्नुभएको थियो । उपप्रधान तथा सहरी विकासमन्त्री सिंहले शिलान्यास गरेको स्थानबाट तरकारी सङ्कलन केन्द्र विदुर–५ को कार्यालयपरिसरमा स्थान्तरण गरिएको हो ।
नगरपालिकाले पछिल्लो समय पूर्वाधार विकास र कृषि प्रवद्र्धनलाई विशेष प्राथमिकतामा राख्दै आएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो । वर्षाको समयमा तरकारी कुहिने र ढुवानीमा हुने समस्यालाई मध्यनजर गर्दै यो संरचनालाई समयमै सक्ने लक्ष्य राखिएको छ । सघन सहरी तथा भवन निर्माण आयोजनामार्फत ठेक्का प्रक्रिया पूरा गरी निर्माण थालिएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो । कुल रु.एक करोड ६० लाखको लागतमा निर्माण हुन लागेको यस संरचनामा दुईवटा मुख्य भवन रहनेछन् । साथै, आवश्यक पूर्वाधार खानेपानी र शौचालयको समेत उचित प्रबन्ध गरिएको छ । चालू आवमा नगरपालिकाले सघन सहरी तथा भवन निर्माण आयोजनासँगको साझेदारीमा करिब रु.१६ करोडबराबरका विभिन्न आयोजना सञ्चालन गरिरहेको छ । आयोजनाअन्तर्गत वडा नम्बर १३ को कार्यालय भवनसम्म सडक सञ्जालको विस्तार र सार्वजनिक शौचालय निर्माणजस्ता महत्त्वपूर्ण कार्य भइरहेको छ ।






प्रतिक्रिया