+
Search

ताजा अपडेट +

पपुलर +

धादिङका अर्याल सभामुखमा निर्वाचित

धादिङका अर्याल सभामुखमा निर्वाचित
राजेन्द्र बस्नेत
१ हप्ता अगाडी

धादिङबेँसी । नेपालको दशौँ सभामुखमा प्रतिनिधिसभा सदस्य डोलप्रसाद अर्याल निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकबाट उहाँ सभामुख पदमा निर्विरोध निर्वाचित हुनुभएको हो ।

धादिङनिवासी अर्याल फागुन २१ को निर्वाचनमा काठमाडौँ ९ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको हो । उहाँलाई पार्टीको दुईतिहाइ बहुमतको बलमा निर्विरोध सभामुख निर्वाचित हुने अवसर मिलेको छ । यसअघि उहाँले विभिन्न व्यवसाय गर्दै आउनुभएको थियो । सभापति रवि लामिछानेको चिनजानका आधारमा अर्याल विसं २०७९ असार ७ मा राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना हुँदा औपचारिक रूपमा राजनीतिमा होमिनुभएको हो । पार्टीमा उहाँ लामिछानेपछि दोस्रो वरीयतामा उपसभापति हुनुहुन्थ्यो । सभापति लामिछाने जेल पर्दा अर्यालले कार्यवाहक भएर पार्टी सम्हाल्नुभएको थियो । विसं २०७९ मङ्सिरको निर्वाचनमा रास्वपाले २० सिट प्राप्त गर्दा अर्याल खसआर्यबाट समानुपातिक सांसद बन्नुभएको थियो । उहाँसँग दुईपटक श्रममन्त्री बनेर काम गरेको अनुभव छ । विसं २०३१ भदौ ६ गते धादिङ ज्वालामुखी गाउँपालिकाको मैदीमा जन्मिनुभएका अर्याल २०४९ तिर काठमाडौँ कामको खोजीमा पस्नुभएको थियो । राजनीतिमा प्रवेशअघि उहाँ व्यवसायीका रूपमा परिचित हुनुहुन्थ्यो । यसपटकको निर्वाचनमा उहाँ काठमाडौं ९ बाट ३५ हजार ९३ मत ल्याएर निर्वाचित हुनुभएको हो । सभामुखमा चयन भएसँगै उहाँको भूमिका फेरिनेछ । उहाँ सुधारमुखी र जनमुखी राजनीतिका पक्षधर मानिनुहुन्छ । सभामुखको भूमिकामा संसद् सञ्चालन, विधेयकको प्रक्रिया, दलहरूबिच समन्वय तथा लोकतान्त्रिक अभ्यासलाई सन्तुलित ढङ्गले अघि बढाउनेलगायत जिम्मेवारी वहन गर्नुपर्नेछ । आइतबार नै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अर्यालले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

नवनिर्वाचित सभामुख अर्यालसँग जापानलगायत विभिन्न देशमा अध्ययन, अनुसन्धानका साथै रोजगारी तथा व्यवसाय सञ्चालन गर्नुभएको अनुभव छ । स्वदेशमै केही गर्न सकिन्छ भन्ने विश्वासका साथ विगत २५ वर्षदेखि पर्यटन, शिक्षा र वित्तीय क्षेत्रमा उहाँ क्रियाशील हुनुहुन्थ्यो । फागुन २१ को निर्वाचन अघिसम्म व्यवसाय र राजनीतिलाई सँगसँगै अघि बढाउनुभएका अर्यालले दलीय दबाब र व्यक्तिगत राजनीतिक हितभन्दा पर रही निष्पक्ष निर्णय लिनुपर्ने अवस्था छ । रास्वपा अहिले प्रतिनिधिसभामा सबैभन्दा ठुलो दल बनेको छ । २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाका १८२ सांसद छन्, जुन दुईतिहाइ नजिकको सङ्ख्या हो । सत्तापक्षको स्पष्ट बहुमतका कारण प्रतिपक्षी दलहरूले सभामुख पदमा प्रतिस्पर्धा गर्ने आँटै गरेनन् । प्रतिनिधिसभामा नेपाली काङ्ग्रेसका ३८, एमालेका २५, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का १७, श्रम संस्कृति पार्टीका सात र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पाँच सांसद र स्वतन्त्रबाट एक सांसद छन् ।

संसदीय इतिहास केलाउँदा नेपालको पहिलो सभामुख कृष्णप्रसाद भट्टराई हुनुभएको थियो, उहाँ २०१५ सालको पहिलो आमनिर्वाचनपछि सभामुख बन्नुभएको थियो । उहाँ वि.सं. २०१६ असार १९ देखि तत्कालीन राजा महेन्द्रले ‘कु’ नगर्दासम्म सभामुख रहनुभएको थियो । तत्कालीन राजा महेन्द्रले विसं २०१७ पुस १ गते ‘कु’ गर्दै नेपालमा निर्दलीय पञ्चायती व्यवस्था लागू गर्नुभएको थियो । वि.सं. २०४६ मा प्रजातन्त्रको पुनस्र्थापना भएपछि २०४८ मा भएको आमनिर्वाचनपछि दमननाथ ढुङ्गाना सभामुख हुनुभयो । उहाँ विसं २०५१ असोज १५ सम्म सभामुख रहनुभएको थियो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसद् विघटन गरेर मध्यावधि निर्वाचन गराएपछि उहाँको कार्यकाल सकिएको थियो । विसं २०५१ पुस ३ देखि २०५५ चैत ९ सम्म अहिलेका राष्ट्रपति रामचन्द्र पौडेलले सभामुखको भूमिका निर्वाह गर्नुभएको थियो । विसं २०५६ असार ९ देखि २०६३ पुस १५ सम्म तारानाथ रानाभाट सभामुख रहनुभयो । त्यसपछि सुवासचन्द्र नेम्वाङ भने चार कार्यकाल सभामुख हुनुभयो । नेम्वाङ विसं २०६३ वैशाख ३० देखि २०६३ माघ १ सम्म अन्तरिम संसद्को सभामुख हुनुभएको थियो । त्यस्तै, दोस्रो कार्यकाल विसं २०६३ माघ ३ देखि २०६५ जेठ १४ सम्म, तेस्रो कार्यकाल २०६५ साउन १२ देखि २०६९ जेठ १४ सम्म र चौथो कार्यकाल २०७० फागुन ६ देखि २०७२ असोज २७ सम्म उहाँ सभामुख हुनुभयो । उहाँ संविधानसभाको अध्यक्ष पनि बन्नुभयो । त्यसपछि ओनसरी घर्तीमगर पहिलो महिला सभामुख हुनुभयो । उहाँले विसं २०७२ असोज २९ देखि २०७४ असोज २९ सम्म सभामुखको भूमिका निर्वाह गर्नुभयो । त्यसपछि कृष्णबहादुर महरा सभामुख बन्नुभयो । उहाँ वि.सं. २०७४ फागुन २७ देखि २०७६ असोज १४ सम्म सभामुख रहनुभएको थियो । उहाँले राजीनामा दिएपछि अग्निप्रसाद सापकोटा सभामुख हुनुभयो । उहाँ वि.सं. २०७६ माघ १२ देखि २०७९ असोज २२ सम्म सभामुख रहनुभएको थियो । विसं २०७९ माघ ६ देखि २०८२ माघ ५ सम्म देवराज घिमिरे सभामुख बन्नुभएको थियो ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

राजेन्द्र बस्नेत