+
Search

ताजा अपडेट +

पपुलर +

योगमा सिद्धान्त र व्यवहारको महत्त्व

योगमा सिद्धान्त र व्यवहारको महत्त्व
मीना भट्टराई
१० घण्टा अगाडी

हाम्रो जीवनको एक मात्र उद्देश्य सर्वक्लेश निवृत्ति परमात्मा प्राप्ति हो । यसका लागि हामीले चित्तलाई विकाररहित बनाउनु आवश्यक छ । योगबाट नै सारा अशुद्धि हटाई उच्च चेतनाले परोपकार गर्दा क्लेश नष्ट भई मानव पूर्णमानव बन्न सक्छ । यसका लागि आफ्नो शरीरको रक्षा गर्नु मानव धर्म हो भनिन्छ । योगको नियम र व्यवहार पालना गर्नाले शारीरिक, मानसिक वा भावनात्मक रूपमा स्वस्थ बनाउन सक्छ । योगद्वारा नै जीवनमा अलौकिक दिव्य अकल्पनीय अवस्था सिर्जना गराउन सकिन्छ । भावना जस्तोः दया, माया, करुणा, प्रेम, ममता, क्षमा यी भाव छैनन् भने मानवताको अर्थ रहँदैन । शुद्धता र स्वस्थताले मानवलाई आध्यात्मिकतातर्फ लान्छ । यी सबै प्राप्ति केवल शरीरबाट मात्र सम्भव छ । त्यसैले शास्त्र भन्छ, शरीरमाद्यं खलु धर्मसाधनम्, प्राणायामः परं तपः, योगध्यानं महायज्ञम, समाधिः मोक्षस्थितिः ।।

शरीर नै धर्मकर्म गर्ने साधन
आज दिन प्रतिदिन योगको महत्त्व हाम्रो समाज, देश र विश्वव्यापी रूपमा बढ्दो छ । शरीर स्वस्थ रहेन भने हामीले साधना र परोपकार वा निस्काम सेवा गर्न सक्दैनौँ, त्यसैले पहिला हामीले शरीरलाई स्वस्थ बनाउन लाग्नुपर्छ । हाम्रो शरीर स्थूल, सूक्ष्म र कारण यी तीनैवटा शरीरलाई एकसाथ विकास गर्दै लानका लागि योगिक जीवनशैली अपनाउनुपर्ने हुन्छ । योग कुनै कालविशेष, उमेरविशेष, लिङ्गविशेष, केहीमा पनि कुनै बन्देज रहँदैन । योग बालदेखि बुढेसकालसम्मको नजिकको साथी बन्न सक्दछ । जब उमेर पाको बनिसकेपछि जब हामी योगको जीवनशैलीमा अभ्यस्त छौँ त्यो हाम्रो लागि दैनिक योगस्थ भई कर्म गर्ने शक्तिको ऊर्जा बन्ने पक्का छ ।

सिद्धान्तविनाको योगबाट हानि
मसँग पनि लामो समय योगको अभ्यासमा समय बिताएको अनुभव छ, तर विधि-विधान नजानी अर्थात् योगको एनाटोमी, योग दर्शन नबुझी अन्धाधुन्ध गरिएका योग साधनाले झन् अहङ्कार बढाउने, रोग बढाउने, सोचेजस्तो शारीरिक स्वास्थ्य र मानसिक शान्ति नमिलेको अवस्था थियो । दिनभर झन् आलश्य, थकान, कब्जियत हुने, रिस उठ्ने गथ्र्यो । मेरो पहिलाको अवस्थामा सैद्धान्तिक ज्ञान थिएन, चेतनाको कमीले गर्दा शरीर बनाउन भनेर लहलहैमा लागेर अज्ञानताका कारण शरीरलाई चाहिनेभन्दा धेरै चलाएको र उफ्रिएको रहेछु, पसिना निकाल्नुपर्छ अनि रोग भाग्छ भन्ने भ्रममा रहेछु । जसका कारण शरीरको ऊर्जा खेर गइरहेको र बिरामी पर्ने अवस्था आउँदोरहेछ, उल्टो शरीरलाई हानि पुर्याएको रहेछु । योग नमिलेर नै झन् घुँडा, ढाड दुख्ने, पाठेघर खस्ने, रक्तचाप बढ्ने, मानसिक रोगी हुने देखेको छु ।

साधनामा तरिका मिले आनन्द
जब मैले पातञ्जल योग समिति, प्रशिक्षण विभागले सञ्चालन गरेको ६ महिने योग तथा प्राकृतिक चिकित्सा तालिममा भाग लिने अवसर पाएँ । त्यसपश्चात् कति अन्धाधुन्धमा योग अभ्यास गर्ने गरेको रहेछु भन्ने बल्ल महसुस गरेँ । मेरो शरीरले बताइरहेको छ पहिलेको अवस्था र अहिलेको अवस्था योग भनेको त यसको प्रारम्भिक लेभललाई एकदमै बुझेर, जानेर योग एनाटोमीका साथै भोजन पोषण बुझेर गर्यो भने मात्र जीवनमा परिवर्तन ल्याउन सकिँदोरहेछ । आहार, निद्रा ब्रह्मचार्यको पालना गरेर यसले शरीरमा कस्तो असर पर्दछ भन्ने कुरा बुझेर ऐन, नियमको महत्त्व, पञ्चकोष, पञ्चप्राण, उपप्राण, त्रिदोष (वात, पित्त, कफ) को प्रकृति सन्तुलनलगायत देखिने एनाटोमी हड्डी, जोर्नी, मशल, लिमेन्ट यी आधारभूत कुरा आफूले बुझ्ने अनि मात्र अरूलाई बुझाउन सक्छु भन्ने मलाई लागेर मैले पातञ्जल योग समिति नेपालले सञ्चालन गरेको योग तथा प्राकृतिक चिकित्सा तालिममा भाग लिने अवसर पाएर उक्त तालिमबाट मेरो योग साधनाप्रतिको सोच र धारणामा आकाश-जमिनको फरक महसुस गरेकी छु ।

तालिममा योग, दर्शन, एनाटोमी, भोजनपोषण प्राकृतिक चिकित्सा आयुर्वेद चिकित्सा र योग चिकित्साको विषयमा अध्यापन हुँदोरहेछ । ६ महिनाको तालिमले ममा निखारता ल्याएको छ । जसरी पहिला योग गर्दा पसिना निकाल्ने होडबाजी थियो, तर अहिले म एकदमै शान्त रहेर सूर्य चन्द्रनाडीको सन्तुलन मिलाउँदै सम्यक तवरले व्यायाम गर्न थालेँ तब अद्भुत सोचेभन्दा फरक लाभ भइरहेको छ । यो कक्षाबाट आफूलाई सहयोगअनुसारको सप्तसाधना, शरीरको सोधन, खानपान त्रयस्तम्भलाई पनि मिलाउँदै लगेमा आफूलाई पूर्ण रूपमा स्वस्थ्य राख्न सकिने रहेछ । गुरुहरूको कुरा श्रवणम मननम् निधिध्यासनम् भनिन्छ । सुनेर मात्र होइन राम्रा कुरालाई व्यवहारमा उतार्न सकिएन भनेचाहिँ लामो समय योग गरे पनि सोचेजस्तो फाइदा नपुग्न सक्छ त्यसैले म अहिले हरेक राम्रो कुरालाई व्यवहारमा लागू गर्दै र स्वास्थ्य लाभ मानसिक शान्ति आध्यात्मिक उन्नति भइरहेको छ । शरीर स्वास्थ्य भएपछि चेतना बढ्ने रहेछ ।

म पेसाले प्राकृतिक थेरापी सेन्टर सञ्चालन गरेर बसेकी छु । त्यसमा मैले गर्ने काम पहिले र अहिलेमा फरक छन् । पहिला म यो थेरापी सेन्टरलाई व्यावसायिक रूपमा हेर्थेँ भने अहिले यो मेरा लागि रोगी र दुःखीलाई सेवा गर्ने अवसर भनेर हरेक कर्म गर्छु । आउने बिरामीलाई पनि ईश्वरीय भावना राखेर कर्म गर्दै गर्ने गर्छु । यसो गर्दा आनन्दको महसुस हुने गर्दछ । कतिपय कुरा प्राकृतिक उपचारका पद्धतिमा मैले मेरो सेन्टरमा थप गर्न पाएँ र आउने बिरामीले पनि ऊर्जा मिलेको अनुभूति गर्छन् । उपचारमा नतिजा पनि राम्रोबाट झन् राम्रो हुँदै आएको छ, गुरुहरूप्रति धेरैधेरै आभार व्यक्त गर्न चाहन्छु ।

बाँकी जीवन ईश्वरमा
यसरी योगलाई बुझेर योगबाट हुने फाइदा शारीरिक स्वास्थ्य, मानसिक शान्ति, बौद्धिक विकास र आध्यात्मिक उन्नति यी योगका प्रपञ्चलाई बुझेर हरेक कर्ममा ईश्वरसँग जोडिएर गर्यो भने आफूले आफूलाई दिनदिनै सुधार्दै लगेमा परिवर्तन अवश्य आउँदोरहेछ भन्ने पूर्ण विश्वास लागेको छ । मलाई यो विशाल ज्ञान गंगामा होमिन हौसला प्रदान गर्ने आदरणीय महेश लामिछाने सर र हेमन्ती गजुरेल म्यामप्रति पनि आभार व्यक्त गर्न चाहन्छु । उहाँहरूले एकचोटि दुईचोटि होइन मलाई बारम्बार यस कक्षामा जोडिन हौसला दिनुभएको थियो, साथै यस पातञ्जल योग समिति नेपालप्रति आभार व्यक्त गर्दछु । यस कक्षामा अहोरात्र खटिएर हामीलाई ज्ञान दिनुहुने आदरणीय गुरु श्री सुवर्णलाल चित्रकार साथमा अर्जुन श्रेष्ठ गुरु साथै तीर्थरत्न कोनाजो गुरुप्रति पनि हार्दिक नमन तथा आभार व्यक्त गर्न चाहन्छु । नमोनमः

दमक-८, झापा

प्रतिक्रिया

लेखकको बारेमा

मीना भट्टराई