समुन्द्रटार । नुवाकोट जिल्ला, दुप्चेश्वर गाउँपालिकामा पछिल्लो समय स्थानीय उद्यमशीलता र व्यावसायिक कृषिप्रति नागरिकको आकर्षण कम देखिएको छ । चालू आर्थिक वर्ष २०८२/०८३ को फागुन महिनामा पालिकाभित्र जम्मा १० वटा नयाँ व्यवसाय तथा कृषि फार्म दर्ता भएका छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु अधिकारीका अनुसार यस महिना सात व्यापारिक व्यवसाय र तीन कृषि तथा पशुपालन फार्म विधिवत् दर्ता भएका हुन् ।
स्थानीयस्तरमै स्वरोजगार बन्ने लहर चलेसँगै दर्ता हुने क्रम बढे तापनि उचित दरमा पालिकामा दर्ता नभएको बताउनुभयो । दर्ता भएकामा किराना पसल, सप्लायर्स, होटेल र कृषि तथा पशुपन्छी फर्म छन् । उहाँका अनुसार पालिकामा व्यवसाय दर्ता कम हुनुको मुख्य कारण पुँजीको सीमा र बैंकिङ प्रक्रियासँग जोडिएको पाइएको छ । रु.पाँच लाखसम्मको न्यून पुँजी भएका साना व्यवसाय मात्र स्थानीय तहमा आउने गरेका छन् । ग्रामीण अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि र पशुपालनलाई व्यावसायिक ढाँचामा लैजान स्थानीय युवा अग्रसर देखिएका छन् । तर, दर्ता भएका नयाँ फार्मको सङ्ख्यादर न्यून देखिएको छ । स्थानीयस्तरमा आर्थिक गतिविधि बढेको दाबी गरिए तापनि पालिकाको अभिलेखमा त्यसको प्रतिबिम्ब न्यून देखिनुले नीतिगत कार्यान्वयनमा प्रश्न उब्जाएको छ ।
पालिकामा दर्ता प्रक्रियामा रहेको परम्परागत कागजी प्रणाली अर्को ठुलो बाधक बनेको छ । प्रविधिको युगमा पनि फाइल बोकेर कोठाकोठा धाउनुपर्ने बाध्यताले व्यवसायी हतोत्साहित हुने गरेका छन् । डिजिटलको समयमा स्थानीय तहमा अझै पनि हस्तलिखित ढड्डा र कागजी कागजातको भर पर्नुपर्ने अवस्थाले सेवाग्राहीलाई झन्झटिलो महसुस गराएको एक सेवाग्राहीले बताउनुभयो । सङ्घीय सरकारले उद्योग दर्ताका लागि आवश्यक एकीकृत सफ्टवेयर प्रणाली उपलब्ध नगराउँदा स्थानीय तह प्राविधिक रूपमा पछि परेको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताउनुभयो । पालिकामा छुट्टै सफ्टवेयर नहुँदा तथ्याङ्क व्यवस्थापन र दर्ताको सुविधा उपलब्ध गराउन नसकिएको कर्मचारीको गुनासो छ ।






प्रतिक्रिया