विदुर । नयाँ वर्ष २०८३ को अवसरमा भोलि वैशाख १ गते नुवाकोट जिल्ला, दुप्चेश्वर महादेव मन्दिर परिसरमा ‘रिङ रेस्लिङ न्यु इयर ब्लास्ट प्रतियोगिता’ सञ्चालनको तयारी भइरहेको छ । नेपाल रिङ रेस्लिङ संघको सहकार्यमा नेपाल रिङ रेस्लिङ सङ्घ नुवाकोटको आयोजनामा सञ्चालन हुने प्रतियोगितामा नुवाकोट देशभरका चर्चित १५ जना भन्दा बढी रेस्लरको सहभागिता रहने शुक्रबार विदुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
नुवाकोटको दुप्चेश्वर मन्दिर यहाँको धार्मिक, साँस्कृतिक एवं पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्दै मोफसलमा रिङ रेस्लिङ प्रतियोगिता विस्तारमा जोड दिन नुवाकोटमा प्रतियोगिता सञ्चालन गर्न लागिएको नेपाल रिङ रेस्लिङ सङ्घका महासचिव कमल तामाङ (नुवाकोटे टाइगर) ले जानकारी दिनुभयो । नुवाकोटमा यसअघि पहिलो र दोस्रो आर डब्ल समरस्ल्याम प्रतियोगिता, रेस्लिङ महाभिडन्तलगायतका प्रतियोगिता सम्पन्न भइसकेकाले ‘न्यू इयर ब्लास्ट’ प्रतियोगिता थप रोमाञ्चकसहित आकर्षक हुने दाबी गरिएको छ । रिङ रेस्लिङ प्रतियोगिताको सफल प्रतियोगिता सम्पन्न भइसकेकाले नेपाल रिङ रेस्लिङ नुवाकोटले यसपटक विभिन्न विधामा गराउने प्रतिस्पर्धाले नेपालमा रेस्लिङ खेलको महत्त्व बढाउँदै खेलप्रतिको आकर्षणमा समेत सहयोग पुग्ने विश्वास लिइएको छ । प्रतियोगितामा नेपालका उत्कृष्ट रेस्लर नुवाकोटे टाइगर, साइन, डेबिट, चट्टान, किङ–रोबर्ट, उर्गेन, ठागू, तनु, आकृती सुजल, एक्स–हिरो, सिजे–वल्डलगायतका नेपालका एक दर्जनभन्दा बढी रेस्लरको महाभिडन्त समावेश गरिएको आयोजक नेपाल रिङ रेस्लिङ संघ, नुवाकोट अध्यक्ष प्रलाद थापाले जानकारी दिनुभयो ।
प्रतियोगितामार्फत दुप्चेश्वर महादेव मन्दिरसहित सम्भावना भएर पनि प्रचारप्रसारको कारण ओझेलमा परेका नुवाकोटका धार्मिक, साँस्कृतिक एवं पर्यटकीयस्थलको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउँदै आर्थिक उपार्जनसँग जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । ‘हेभीवेट’ (पुरूष) विधाअन्तर्गत विजेताले गोल्डेन बेल्टसहित नगद रू.७५ हजार प्राप्त गर्नेछन् भने महिला च्याम्पियनसिप विधाका विजेताले बेल्टसहित रू.५० हजार प्राप्त गर्नेछन् । यस्तै, पुरूष ट्याक्टिम हार्डकोर विधामा विजेताले मेडलसहित ६० हजार र त्रिपल थ्रेट विधामा विजेताले मेडलसहित रू.२५ हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । नेपाल रिङ रेस्लिङ सङ्घ, नुवाकोटले यसअघि शिवपुरी–७ सूर्यचौरमा ‘प्रथम आरडब्लू समरस्ल्याम रिङ रेस्लिङ प्रतियोगिता’ र दुप्चेश्वर मन्दिर परिसरमा ‘दोस्रो आरडब्लु समरस्ल्याम रिङ रेस्लिङ प्रतियोगिता’ गरेको थियो । यस्तै, शिवपुरी–६ स्थित गुर्जेमा रिङ रेस्लिङ प्रतियोगिता सम्पन्न गरेको थियो ।






प्रतिक्रिया