विदुर । यसपटकको माध्यमिक शिक्षा परीक्षाको ग्रेडवृद्धि परीक्षामा देशभरिबाट सहभागी परीक्षार्थीमध्ये ५६.७८ र नुवाकोट जिल्लाबाट ४७.५६ प्रतिशत उत्तीर्ण भएका छन् । वि.सं.२०८० को एसइईमा कम विद्यार्थी उत्तीर्ण भएपछि शिक्षा मन्त्रालयले अनुत्तीर्ण सबैलाई ग्रेडवृद्धि परीक्षा दिने मौका दिएको थियो ।
राष्ट्रिय परीक्षा बोर्डले सोमबार उक्त परीक्षाको नतिजा सार्वजनिक गरेको थियो । नुवाकोटबाट एक हजार नौ सय ५१ परीक्षार्थी सहभागी भएकामध्ये नौ सय २८ जना उत्तीर्ण भएको जिल्ला विकास तथा समन्वय एकाइ नुवाकोट, परीक्षा शाखा प्रमुख सम्झना थपलियाले बताइन् । एसइईमा दुई हजार एक सय ९९ अनुत्तीर्ण भई ग्रेडवृद्धि परीक्षामा सहभागी हुनुपर्ने भए पनि दुई सय ४८ जनाले फर्म नभरेका र केहीले फर्म भरेर पनि परीक्षामा सहभागी नभएको बताइएको छ । बोर्डका अनुसार परीक्षामा देशभरिबाट दुई लाख एक हजार तीन सय २१ जना सहभागी भएकामध्ये एक लाख १९ हजार चार सय २५ जना मात्र उत्तीर्ण भएका छन् । परीक्षामा सहभागीमध्ये ५६.७८ प्रतिशत उत्तीर्ण हुँदा ९० हजार आठ सय ८८ परीक्षार्थी ननग्रेड (एनजी) अर्थात् अनुत्तीर्ण भएका छन् ।
अघिल्लो वर्ष एसइईमा नियमित परीक्षार्थीका रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका परीक्षार्थी ग्रेडवृद्धि परीक्षामा सहभागी भएका थिए । यसअघि असारमा सार्वजनिक भएको एसइईको नतिजामा ४८ प्रतिशत मात्र उत्तीर्ण भएका थिए । एसइईमा कम उत्तीर्ण भएपछि चौतर्फी आलोचना हुँदा तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको निर्देशनमा अनुत्तीर्ण सबैलाई ग्रेडवृद्धि परीक्षामा सहभागी हुन दिने निर्णय भएको थियो ।
ग्रेडिङ निर्देशिका २०६८ मा दुई विषयमा एनजी आएका विद्यार्थीले मात्र ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था थियो । उक्त व्यवस्थालाई शिक्षामन्त्री श्रेष्ठको निर्देशनपछि यसपटक उक्त निर्देशिका संशोधन गरेर परीक्षामा अनुपस्थित र ननग्रेड सबैलाई परीक्षामा सामेल हुने अवसर दिइएको थियो । नुवाकोटमा २०८० को एसइईमा सहभागीमध्ये ४२.७ प्रतिशत मात्र उत्तीर्ण भएका थिए । जिल्लाका उत्तीर्ण विद्यार्थीले दसैँअघि नै कक्षा ११ मा भर्ना हुने मौका पाएका छन् । विद्यार्थी कम उत्तीर्ण हुँदा जिल्लाका अधिकांश प्लस टु सञ्चालन भएका विद्यालयमा विद्यार्थीको अभाव थियो । एसइईको ग्रेडवृद्धि परीक्षामा करिब ४७ प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा जिल्लामा सञ्चालित प्लस टु विद्यालयलाई राहत मिलेको छ ।