बट्टार । अर्किड एकेडेमी नुवाकोटको २१ औंँ वार्षिकोत्सव सम्पन्न भएको छ । यही कात्तिक १३ र १४ गते कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाइएको जानकारी प्रधानाध्यापक रामहरि रिमालले दिनुभयो ।
दुईदिने कार्यक्रममा खेलकुद प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो भने कक्षागत वार्षिक परीक्षामा उत्तीर्ण भएका र माध्यमिक शिक्षा परीक्षा-२०८० का विद्यार्थीलाई सम्मान गरिएको थियो । गत वर्षको एसइई परीक्षामा अर्किडले सबैभन्दा बढी विद्यार्थी सहभागी गराई सबैभन्दा बढी विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ । कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयलाई समान प्राथमिकता दिएको बताउँदै जिल्लाको शैक्षिक गुणस्तर उच्च राख्ने अर्किडको योगदानप्रति सन्तोष व्यक्त गर्नुभयो । अर्किडले आगामी वर्षदेखि कक्षा ११ मा अध्ययनअध्यापन सुरू गर्ने तयारी गरेको छ । विद्यालयका प्रधानाध्यापक रामहरि रिमालले वार्षिक रू तिन करोड २६ लाखको आम्दानी र खर्च विवरण पेस गर्दै एकेडेमीमा एक हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको तथा ५८ शिक्षक र कर्मचारीले प्रत्यक्ष रोजगारी पाएको जानकारी दिनुभयो ।
कार्यक्रममा विदुर-४ का वडाध्यक्ष निलमबाबु ढुङ्गेल, २ का वडाध्यक्ष दीपक कायस्थ, सल्लाहकार द्वारिकाप्रसाद पाण्डे, विद्यालयका संस्थापक विन्दु शर्मालगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रमको पहिलो दिन कात्तिक १३ गते विदुर-४ का पूर्वाध्यक्ष एवं औषधि व्यवसायी सङ्घ नुवाकोटका अध्यक्ष टलकमान श्रेष्ठ प्रमुख अतिथि हुनुहुन्थ्यो ।
प्रतिक्रिया