विदुर । वि.सं. २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त नुवाकोटको साततले दरबारसहित आसपासका अन्य सात धार्मिक एवम् पुरातात्विक महत्वका सम्पदा पाँच वर्षभित्र पुनर्निर्माण गर्ने गरी चिनियाँ पक्ष कार्यक्षेत्रमा आएको छ । चीन सरकारको सहयोगमा नुवाकोट दरबारसहित अन्य सम्पदा पुनर्निर्माण हुन लागेको हो ।
यही कात्तिक १५ गते चीनको सरकारी निर्माण विभाग चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेजका प्रतिनिधिले नेपाल सरकार पुरातत्व विभागसँग काम गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । उक्त समझदारीपत्रमा पाँच वर्षभित्र साततलेसहित दरबारपरिसरमा रहेका गारदघर, रङ््गमहल आवश्यकताका आधारमा पुनर्निर्माण तथा प्रबलीकरण पहिलो चरणमा गरिने उल्लेख छ । त्यसपश्चात् दोस्रो चरणमा लिच्छविकालीन तलेजु (तुलजा) भवानी, विष्णु र नारायण मन्दिर, सेतोपाटी, लामपाटी पुनर्निर्माण गरिने समझदारीपत्रमा उल्लेख रहेको पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले बताए । नेपाल सरकार अर्थ मन्त्रालयसँग चाइनिज एकेडेमीका प्रतिनिधिले आव २०७३/०७४ मा नै नुवाकोटका दरबार क्षेत्रमा भूकम्पले क्षति भएको आठै सम्पदा पुनर्निर्माण गर्न सम्झौता गरेका थिए । सम्झौताअनुसार चिनियाँ पक्षले आफ्नै खर्चमा २०७६ जेठमा ४५ महिनाभित्रै काम सम्पन्न गर्ने उल्लेख भए पनि चिनियाँ पक्ष सम्पन्न गर्ने अवधिसम्म विभिन्न बहाना गर्दै निर्माणस्थलमा फर्केन । दरबार पुनर्निर्माणका लागि चौतर्फी दबाबपछि चिनियाँ पक्षले २०७६ पछि सबै पुनर्निर्माण गर्ने जनाउँदै सम्पदालाई थप क्षति हुन नदिन खट बनाएर जस्ताको छानो बनाई फर्केको थियो । त्यसपछि चिनियाँ पक्ष कोरोना सङ्क्रमणको कारण देखाएर फर्कन ढिलो गरेपछि पुनः निकै दबाबको सामना नेपाल सरकारले गर्नुप¥यो । स्थानीयवासीबाट र सामाजिक सञ्जालमा चीन सरकारको निकै विरोध हुन थालेपछि वि.सं. २०७९ असोजमा चिनियाँ प्राविधिक (इन्जिनियर) टोली आएर पुनर्निर्माण गर्न सम्पदाको जग, गारो, छानाको वस्तुस्थिति अध्ययन गरेर फर्कियो । वि.सं. २०७९ मा गएको चिनियाँ टोली २०८१ को भदौमा मात्र सम्पर्कमा आई काम गर्नका लागि आवश्यक तयारी गरी पुरातत्व विभागसँग दुई हप्ताअघि निर्माण गर्ने समझदारी गरेको थियो । अहिले ६ चिनियाँ प्राविधिक र १६ नेपाली कामदार सम्पदा निर्माण क्षेत्रमा शिविर खडा गरेर बसेको नुवाकोट दरबार हेरचाह तथा संरक्षण कार्यालयका प्रमुख सुनील पाण्डेले ‘त्रिशूली प्रवाह’ साप्ताहिकलाई जानकारी दिए ।
पुरातत्व विभागले गरेको समझदारीअनुसार स्थानीय तहका तर्फबाट विदुर नगरपालिकाले कार्य प्रारम्भपूर्व नै नियमित आवश्यकताअनुसार विद्युत्, पानी, सामग्री भण्डारणका लागि खुला स्थान र सवारीसाधन तथा गह्रौँ उपकरण आउजाउ गर्न पहुँचमार्गको व्यवस्था गरिसकेको नगर प्रमुख राजनलाल श्रेष्ठले बताए । अब भने पाँच वर्षभित्र कुनै दैवी विपत्ति नभए नुवाकोट दरबार बन्नेसमेत उनले जिकिर गरे । सम्पदा निर्माण अवधिभर उत्पन्न ससाना प्रकृतिका समस्या समाधानको जिम्मेवारी वडा र नगरपालिकाको हुनेछ भने चिनियाँ कर्मचारी, कामदारको प्रवेशाज्ञा थप, राजस्व छुटलगायतमा सङ्घीय सरकारको सहयोग हुने गरी नयाँ समझदारी भएको पुनर्निर्माण भइरहेको विदुर–२ का वडाध्यक्ष दीपक कायस्थले बताए । चिनियाँ पक्षलाई गर्नुपर्ने सहयोग, समन्वय वडा कार्यालयले गरिरहेको छ भने उसले गर्न नसक्ने सहयोग र समन्वयका लागि नगरपालिकालाई भन्ने गरिएको वडाध्यक्ष कायस्थले जानकारी दिए । उनका अनुसार निर्माणस्थलमा दुई हप्तादेखि चिनियाँ पक्षले प्राविधिकसहित कामदार खटाएर काम सुरु गर्नुअघिको पूर्वतयारीका लागि सूक्ष्म अध्ययन र सम्पदालाई थप स्काफोल्डिङ र निर्माण क्षेत्रको सरसफाइ भइरहेको छ ।
कान्तिपुरअन्तर्गत पर्ने नुवाकोटमाथि तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले वि.सं. १८०१ मा विजय गरेपश्चात् साततले दरबारको निर्माण गराई यहीँबाट राजकाज गरी नेपाल एकीकरण सुरुवात गरिएको इतिहासमा उल्लेख छ । वि.सं. १८१९ मा निर्मित सो दरबार क्षेत्रपरिसरमा अवस्थित तुलजा भवानी मन्दिर भने लिच्छविकालीन रहेको नुवाकोटका सामाजिक अभियानकर्मी रामलाल श्रेष्ठले बताए । उनले स्थानीयवासीको सहयोग लिई एक वर्षअघि दरबार पुनर्निर्माणमा ढिला नगर्न सरकार र काठमाडौँस्थित चिनियाँ राजदूतावासलाई दबाब दिन ज्ञापनपत्र बुझाएर काठमाडौँमा पत्रकार सम्मेलन गरेका थिए । त्यसपश्चात् नुवाकोटका जनप्रतिनिधि र राजनीतिक दल जुर्मुराएको सम्पदा रहेको यसै वडाका पूर्ववडाध्यक्ष वीरेन्द्रकुमार शाहीले बताए ।