
धादिङ । बाइसे–चौबिसे राज्यमध्येका गोरखाका राजा राम शाहले वि.सं. १६६६ मा स्थापना गरेको आठ शक्तिपीठमध्ये धादिङको पुरानो सदरमुकाम सुनौलोबजारमा रहेको भैरवी मन्दिर पनि एक हो । शाहले मन्दिर स्थापना गरेको कुरा लालमोहरमा लेखिएको छ । तर, स्पष्ट बुझिने गरी छैन । भैरवी मन्दिरको इतिहास नेपालको एकीकरण अभियानसँग समेत जोडिएको छ ।
पृथ्वीनारायण शाहले नुवाकोट विजय हासिल गर्न नसकेपछि भैरवी मन्दिरमा वास बसी भाकल गरेका थिए । भाकलपछि नुवाकोट जिते । त्यसपछि पुजारी र बाजा बजाउनेलाई शाहले गुठीको नाममा ९० रोपनी ११ आना २ पैसा जग्गा र पूजा व्यवस्थापनका लागि रकम दिने गरेको इतिहासकारहरूले बताउने गरेका छन् । अहिले पनि जिल्ला प्रशासन कार्यालयबाट पूजा सञ्चालनका लागि हरेक वर्ष रु. ६ हजार सात सय ३२ रुपैपाँ ५० पैसा आउने गरेको भैरवी मन्दिर गुठी व्यवस्थापन समितिका सचिव कृष्णबहादुर श्रेष्ठले बताए । पहाडको चुचुरोमा मन्दिर पूर्व–पश्चिमतिर कहालीलाग्दो भिर । उत्तर–दक्षिणतिर सामान्य रूपमा भिरालो जमिन । मन्दिरको दुवै ठाउँबाट प्रवेश गर्ने सिँढी । धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको पहाडको चुचुरोमा रहेको भैरवी मन्दिर पछिल्लो पाँच वर्षयता धार्मिक पर्यटकको आकर्षक गन्तव्यको केन्द्र बनेको छ ।
नीलकण्ठ नगरपालिका– ६ मा अवस्थित भैरवी मन्दिर धार्मिक पर्यटक होइन, मनोरम दृश्यावलोकन र आनन्दका लागि घुमफिर गर्ने आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बनेको छ । मन्दिरबाट गणेश हिमाल, मनास्लु, मानापाथीलगायत आधा दर्जन हिमाल दृश्यावलोकन गर्न सकिन्छ । दसैँ, तिहार तथा अन्य पर्व र बिदामा मन्दिरको दर्शन र अवलोकन गर्न आउनेको सङ्ख्या उल्लेख्य रहेको स्थानीयले बताउने गरेका छन् । मन्दिरमा बडादसैँ र चैतेदसैँमा विशेष पूजा हुँदै आएको छ । बडादसैँको नवमीको दिन सुँगुरको बलि दिँदै आएको सचिव श्रेष्ठले बताए । सदरमुकाम धादिङबेँसीबाट करिब आठ किलोमिटर पिच र १० किलोमिटर कच्ची गरी करिब १८ किलोमिटरको यात्रापछि र पुरानो बाटोबाटो हुँदै भैरवी मन्दिर पुग्न सकिन्छ । सवारीसाधनबाट मात्र नभई हाइकिङ गर्दै भैरवी मन्दिर पुग्न सकिन्छ ।
भगवान् भैरवकी श्रीमती भैरवीलाई सुत्केरी भएको अवस्थामा मासु खान मन लाग्यो । बाघको रूप धारण गरेर भैरव मासु लिन जङ्गल गए । सुँगुरको सिकार गरेर फर्किए । सुँगुर भन्ने थाहा पाएपछि भैरवी डराएर त्यहीँ घोप्टो परेर बसिन् । भैरवलाई भित्र पस्न दिएनन् । प्रसव पीडाको अवस्थामा भैरवीलाई छाडेर भैरव पनि टाढा जान नसकेपछि नजिकै तल्लोपट्टि बसे । त्यसैले भैरवी र भैरव दुईवटा मन्दिर बनेको पौराणिक भनाइ र किंवदन्ती रहेको पुजारी भगवान रानामगरले सुनाए । २०७२ सालको भूकम्पले थलिएको मन्दिरको पुनर्निर्माण गरिएपछि घुम्न तथा दर्शन गर्न आउनेले नै थप प्रचार–प्रसार गरिरहेका छन् । स्थानीय सरकारको पहलमा सङ्घीय सरकारले मन्दिर पुनर्निर्माण गरिएको हो । रणनीति योजनाका साथ प्रचार–प्रसार र संरक्षण गर्न सके धादिङमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन महत्वपुर्ण गन्तव्य हुनेमा दुईमत छैन ।