+
Search

ताजा अपडेट +

पपुलर +

भारतको प्रयागराजमा महाकुम्भ मेला

भारतको प्रयागराजमा महाकुम्भ मेला
त्रिशूली प्रवाह
६ महिना अगाडी

भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा गत पुस शुक्लपूर्णिमा (पुस २९ गते) देखि यही फागुन १४ गते शिवरात्रिसम्म महाकुम्भमेला लागिरहेको छ । यो विश्वकै सबैभन्दा ठुलो धार्मिक मेला हो र सन् २०१७ मा युनेस्कोले कुम्भमेलालाई ‘अभौतिक सांस्कृतिक विश्वसम्पदा’मा सूचीकृत गरेको थियो । पहिले इलाहावाद र हाल प्रयागराज भनिने ठाउँ हिन्दुको सबैभन्दा महत्वपूर्ण तीर्थस्थल मानिन्छ । परम्परागत रूपमा नदी सङ्गमलाई शुभ स्थानका रूपमा लिइन्छ, तर यसको महत्व सबैभन्दा पवित्र छ, किनभने यहाँ गङ्गा, यमुना र पौराणिक सरस्वतीको मिलन भएको छ । ती तीन नदीको सङ्गमस्थल प्रयागराज त्यो स्थान हो, जहाँ सृष्टिकर्ता ब्रह्माले धर्तीको पहिलो यज्ञ गरेका थिए । प्रयागराज तीर्थहरूमध्येको सर्वश्रेष्ठ तीर्थ हो ।

हिन्दु पौराणिक कथामा आधारित कुम्भमेला भारतका चार स्थानमा मनाइन्छ – प्रयागराज, हरिद्वार, नासिक र उज्जैन । तिनमा प्रत्येकको ठुलो धार्मिक महत्व छ । प्रत्येकको फरक आवधिकता र ज्योतिषीय महत्व छ । विभिन्न प्रकारका कुम्भ मेलामध्ये महाकुम्भमेलाले विशेष स्थान राख्छ, जसलाई प्रायः आध्यात्मिक जमघटको शिखर मानिन्छ । कुम्भमेलाका मुख्य दुई पौराणिक किंवदन्ती छन् जुन वैकुण्ठबाट अमृत हरण र समुद्र मन्थनसँग जोडिएका छन् । समुद्र मन्थनको पौराणिक कथा वा महासागर मन्थन कथा हिन्दु पौराणिक कथामध्येको एक मनमोहक कथा हो । यसले अमरताको अमृत प्राप्त गर्नका लागि देव (देवता) र असुर (दानव) हरूबिचको सङ्घर्षको वर्णन गर्छ । यो प्राप्त गर्न तिनीहरू विशाल क्षीरसागर, दुधको महासागर मन्थन गर्न सेनामा सामेल भए, मन्दरा पर्वतलाई मदानीका रूपमा र वासुकि नागलाई नेतीका रूपमा प्रयोग गरे । यस कठिन प्रक्रियाका क्रममा, देवी लक्ष्मी, देवता चन्द्र्र र दिव्य कामधेनु गाईलगायत असङ्ख्य आकाशीय वस्तु र प्राणी उत्पन्न भए । अन्ततः अमृतको उदय भयो र भगवान् विष्णुले मोहिनीका भेषमा देवताहरूलाई यसको वितरण गर्ने सुनिश्चित गरे । यस बहुमूल्य अमृतलाई लिएर देवता र दानवबिच भयङ्कर युद्ध भयो र यसका थोपा भारतका चार पवित्र स्थानमा खसेको भनिन्छ, जहाँ आज कुम्भमेला मनाइन्छ । कुम्भ वा पवित्र घडाका लागि देवता र दानवबिच चलेको युद्ध १२ दिव्य दिनसम्म चलेको थियो, जुन मानिसका लागि १२ वर्षबराबर हो । त्यसैले कुम्भमेला प्रत्येक १२ वर्षमा मात्रै आयोजना हुने गर्छ जसमा पवित्र स्थानमा भेला भई स्नान, जप, तप ध्यान हुने गर्छ । यस अवधिमा नदीहरू अमृतमा परिणत हुने र फलस्वरूप विश्वभरका तीर्थयात्री पवित्रता र अनन्तताका सारमा नुहाउन कुम्भमेलामा आउने गरेको बताइन्छ ।

महाकुम्भमेला विश्वभरका तीर्थयात्रीलाई आकर्षित गर्ने, समृद्ध इतिहास र सांस्कृतिक महत्वका साथ एक विशाल पर्व हो । यो भारतमा हरेक एक सय ४४ वर्ष अर्थात् दुई शताब्दी छोएर मनाइने हिन्दु तीर्थयात्रा र पर्व हो । सो सङ्गमस्थलमा स्नान गर्नाले पाप सफा हुन्छ र आध्यात्मिक मुक्ति पाइने विश्वास गरिन्छ । आध्यात्मिक शुद्धि र मुक्तिको सबैभन्दा ठुलो अवसर प्रदान गर्ने विश्वासका कारण अन्य कुम्भमेलाभन्दा महत्वपूर्ण मानिन्छ । महाकुम्भ मेलाका समयमा गङ्गा, यमुना र सरस्वती नदीको पवित्र पानीमा नुहाउनु विशेषगरी शुभ मानिन्छ र यसले पाप धोएर मोक्ष (पुनर्जन्मको चक्रबाट मुक्ति) प्राप्त गर्न सक्छ । सूर्य मकर राशि र वृहस्पति मेष राशिमा प्रवेश गर्दा महाकुम्भमेला आयोजना हुन्छ । यसले विशिष्ट आकाशीय अवस्थासँग पङ्क्तिबद्ध गरी आध्यात्मिक ऊर्जालाई बढाउने पनि विश्वास गरिन्छ । यी राशि एकै लाममा हुने पङ्क्तिबद्धताले मानिसमा शुद्धीकरण र पुनर्जन्म चक्रबाट मुक्तिका लागि अत्यन्त शुभ मानिन्छ ।

कुम्भमेला चार प्रकारका हुन्छन् । बाह्रौँ वर्षको मेलालाई ‘पूर्ण कुम्भ’ भनिन्छ जुन प्रयागराजमा मात्र लाग्न सक्छ । ६–६ वर्षमा लाग्ने मेलालाई ‘अर्धकुम्भ’ भनिन्छ जुन प्रयागराज र हरिद्वारमा लाग्छ । वार्षिक स्नानलाई भने कुम्भ भनिन्छ । त्यो चारै स्थानमा हुन्छ । बाह्र ‘पूर्ण कुम्भ’को चक्रलाई ‘महाकुम्भ’ भनिन्छ । यसअघिको महाकुम्भमेला सन् १८८२ मा आयोजना भएको थियो । यसपटकको कुम्भमेला अवधिमा हिन्दु धर्मावलम्बीका चार महत्वपूर्ण तिथि माघेसङ्क्रान्ति, मौनीऔँसी, वसन्तपञ्चमी र महाशिवराशि पर्छन् । यी चार दिनको विशेष स्नान समारोहलाई ‘शाही स्नान’ भन्ने गरिएकामा यसपटकदेखि ‘अमृत स्नान’ नामकरण गरिएको छ । मंगलबार माघेसङ्क्रान्तिको पहिलो ‘अमृत स्नान’ सम्पन्न भइसकेको छ भने दोस्रो ‘अमृत स्नान’ माघ १६ मा रहेकामा सोही दिन बिहान करिब १ बजे सङ्गमघाटमा भक्तजनबिच भागदौड मच्चिएर कैयौँ मानिस हताहत भएपश्चात् ‘अमृत स्नान’ केही दिनका लागि स्थगन गरिएको छ ।

महाकुम्भ मेला भारतको सबैभन्दा ठुलो धार्मिक कार्यक्रम हो, जसमा करोेडौँ मानिस सहभागी हुन्छन् । तेह्र घाट निर्माण गरी डेढ महिना लामो मेलामा कुटिर, झुपडी, प्लेटफार्म, नागरिक सुविधा, प्रशासनिक र सुरक्षा उपायसहितको विशाल तम्बु निर्माण गरी एक झकिझकाउ सहरका रूपमा सजिसजाउ गरिएको छ । यो सरकार, स्थानीय प्रशासन र प्रहरीद्वारा बेग्लाबेग्लै ढङ्गले व्यवस्थित छ । मेला विशेषगरी विभिन्न ठाउँबाट धार्मिक तपस्वी– साधु र सन्त–महन्तहरूको असाधारण उपस्थितिका लागि प्रसिद्ध छ ।

नेपाल र भारतजस्ता देशको अर्थतन्त्रमा जात्रामात्रा, मेलामहोत्सवले महत्वपूर्ण भूमिका खेल्छन् । यस्ता धार्मिक र सांस्कृतिक चाडले देशको अर्थतन्त्रमा अर्थपूर्ण योगदान गर्छ । नेपालमा तिज, बडादसैँ र तिहारजस्ता पर्वलाई उपभोग र उपभोक्ता खर्च बढाएर आर्थिक गतिविधिको प्रमुख संवाहक मानिन्छ । यस्ता अवसरमा किनमेलको ठुलो चहलपहल हुन्छ जसले अर्थतन्त्रको चक्रमा सकारात्मक प्रभाव पार्दै आर्थिक गतिविधिलाई बढावा दिन्छ । हाम्रो छिमेकी देश भारत पनि विश्वमै सांस्कृतिक र धार्मिक सम्पदाका दृष्टिले समृद्ध छ । एक प्रतिवेदनअनुसार भारतमा एक करोडभन्दा बढी मठमन्दिर छन् जुन ग्रामीणदेखि सहरी क्षेत्रमा फैलिएका छन् । प्रत्येक गाउँमा १० भन्दा बढी धार्मिकस्थल छन्, जसमा वर्षमा कम्तीमा एकपटक चाडपर्व वा मेला आयोजना गरिन्छ । भारतको धार्मिक पर्यटन बजार वृद्धि भएको र यसका पवित्रस्थलका लागि नेपालको बढ्दो पहिचानसँगै, दुवै राष्ट्रसँग दिगो र समृद्ध धार्मिक पर्यटन पारिस्थितिक प्रणाली सिर्जना गर्ने अनौठो अवसर छ ।

यस पङ्क्तिका लेखकले गत माघ १३–१९ गतेसम्म धार्मिक यात्रा गर्ने अवसर पाएको थियो । हिन्दु भएका नाताले सबैभन्दा ठुलो आध्यात्मिक जमघटको साक्षी बन्न मन चौ–चौ हुन्छ । कुम्भ सनातन धर्मको विविधताको साक्षी हो, हिन्दुको एकताको झलक हो जसमा विश्वभरका सन्त, साधु र भक्तजनको सहभागिता हुन्छ । यसको एक हिस्सा बनेपछि तपाईंले पनि यसको भव्यता महसुस गर्न सक्नुहुन्छ । यस्तो देखिन्छ, वरपरले प्लेटोनिक ऊर्जालाई प्रतिबिम्बन गर्छ जसले सबैलाई उत्साह दिनेछ । कस्तो संयोग, यो लेख प्रयागराज जाने क्रममा लेख्दै छु । गत पुस २९ देखि आयोजना भएको महाकुम्भमा सहभागी हुन पाउँदा व्यक्तिगत रूपमा म निकै उत्साहित छु । करिब ४५ दिनको धार्मिक तथा आध्यात्मिक मेलाले सबैभन्दा ठुलो भिड व्यवस्थापन, सरसफाइ अभियान र चित्रकला अभ्याससहित धेरै गिनिज वल्र्ड रेकर्डस् स्थापित गरेको छ । मकरसङ्क्रान्तिको पर्व माघ १ गते मात्र एकैदिन साढे तीन करोड भक्तजनले पवित्र त्रिवेणी सङ्गममा स्नान गरे । यस वर्षको महाकुम्भ मेला अवधिभर करिब ५० करोड भक्तजनको आगमन हुने अपेक्षा गरिएको छ ।

विदुर–१०, नुवाकोट

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह