विदुर । सम्बन्धित निकायको गैरजिम्मेवारीपनले बेलकोटगढी–१, २, ३, ४, १०, ११ को केन्द्रमा रहेको चिम्टेश्वर महादेवस्थान आयोजना बेवारिसे बनेको छ । आयोजना निर्माणको उद्देश्यभन्दा फरक तरिकाले बनाउन लागिएको करिब रु.तीन करोडको दृश्यावलोकन स्तम्भ अझै पनि नगरपालिकाको स्वामित्वमा आउन सकिरहेको छैन ।
प्रदेश सरकारले स्थानीय तहको पहिलो कार्यकालमा निर्माण सुरु गरे पनि ७० फिटको भ्युटावर नीतिगत रूपमा हस्तान्तरण नभएको नगर प्रमुख जगतबहादुर गुरुङले बताए । ‘प्रदेश सरकारलाई बारम्बार ताकेता गर्दा पनि भ्युटावरको स्वामित्व नगरपालिकालाई अहिलेसम्म दिन नसकिरहेको अवस्था छ,’ नगर प्रमुख गुरुङले भने, ‘नगरलाई नीतिगत रूपमा हस्तान्तरण नहुँदा भ्युटावर संरक्षण र निर्माणको निरन्तरता हुन सकेको छैन ।’ निर्माण अपूरो रहेको टावरको प्रयोग, रेखदेख एवम् सञ्चालन गर्ने निकायको अभावमा अहिले बेवारिसे अवस्थामा पुगेको बताइएको छ ।
चिम्टेश्वर विकास समिति तथा वडा नम्बर २ का वडाध्यक्ष रामचन्द्र तिमिल्सिनाले स्थानीय सरकारको क्षेत्राधिकारभित्र निर्माण भएको भ्युटावरमा चालू आवमा चिम्टेश्वर पर्यटन विकास शीर्षकमा रु. १० लाख बजेट विनियोजन भएको जानकारी दिँदै सोहीअनुसार भ्युटावरको मर्मतमा खर्च गरेर चिम्टेश्वर क्षेत्रको गरिमा बढाउन आफू लाग्ने बताए ।
‘विदेशी पर्यटकको उचाइविनाको प्रवेशद्वार, वर्षामा पानी भित्र पस्ने जोखिम, शौचालय अव्यवस्थितलगायत प्राविधिक त्रुटि यथावत् नै छ । तापनि केही मर्मतसम्भार गरी यस वर्ष सञ्चालनमा ल्याइने प्रक्रियामा लागेका छौँ,’ उनले भने ।
मदन भण्डारी भ्युटावर नामकरण दिइएको सो स्तम्भ २०७८ को जेठ मसान्तसम्ममा नै काम सम्पन्न गर्ने गरी २०७७ पुस १७ गते तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री केशवराज पाण्डे र बेलकोटगढी नगरपालिका प्रमुख राजेन्द्ररमण खनालले संयुक्त रूपमा शिलान्यास गरेका थिए ।
नामकरण र धार्मिक पक्ष : स्थानीयवासीमा चिम्टेश्वर नामकरण महादेवले चिम्टा भुलेको स्थान भएर रहेको भन्ने धारणा छ । तर, शिवले बोकेर हिँडेको चिम्टा हो कि त्रिशूल ? स्कन्द पुराणको हिमवत् खण्डमा उल्लेख भएअनुसार शङ्कर बेतको लठ्ठी टेकेर काँधमा त्रिशूल राखेर हिँडेका थिए । उसो भए महादेवले बोकेको त्यो त्रिशूल कसरी चिम्टा भयो ? वा महादेवलाई चिम्टा बोकाइदिएर यो जङ्गलमा ल्याउने पण्डित को–को हुन् ? अनि यो त चिम्टेश्वर होइन यो त्रिशूलेश्वर पो हुनुपर्ने होला, शब्द विग्रहको हिसाबले हेर्ने होे भने चिर्केश्वर शब्दको अर्थ हो । चिर्के अर्थात् चिरिक–चिरिक पारेर टेक्ने, चिरिक्क पारेर टेक्ने, चरक्क परेको भन्ने हुुन्छ । यहाँको शिवलिङ्ग चर्केको छ । अर्को शब्दार्थ हुन्छ चीर भनेको लिङ्गो गाडेर ध्वजा फहराइने वा बौद्ध भिक्षु वा योगी र मुनिहरूले लगाउने लुगालाई बुझाउँछ । यो मल्लकालपूर्वको काठमाडौँ उपत्यका राज्य र पश्चिम राज्यको सीमा क्षेत्रका रूपमा लिन सकिन्छ ।
तिल्केश्वर भन्नाले तरे वा सेतो चिह्न भएको रूपका लिने गरिन्छ । यो क्षेत्र पञ्चासेमा पर्छ भन्ने स्थानीय मान्यता छ । यसका अलावा यस क्षेत्रमा रहेका अन्य विभिन्न नामका महेश्वर रहेका छन् जस्तै कन्केश्वर कोल्पुका महादेव, गौलिङेश्वर, तल्लो महादेवखर्क, जलेश्वर, कोल्पुकिनार, कुमरी पुछारका महादेव, अनन्तेश्वर, त्रिशूलीकिनार लामासोती बगरमा रहेको महादेव, भीमेश्वर महादेव फाँटमा रहेको मन्दिर आदि । आदिम समाज जब ढुङ्गेयुगबाट पशुपालन युगमा प्रवेश गरेको थियो, त्यस समयको मानक आजको नामकरणलाई लिन सकिन्छ । जस्तै, पशुका लागि आवश्यक खर्क वा चरन प्राथमिकतामा थिए, त्यसैले आरुखर्क, महादेवखर्क तल्लो र माथिल्लो, आरुखर्क, खनियाँखर्क, चिन्नेखर्क, डाँडाखर्क थिए । दुध चढाउने र दही मथेर मोही पार्दै धुप हाल्ने चलन छ जहाँ उही चिर्केश्वरलाई पुकार गर्ने गरिन्छ । स्कन्द पुराणको हिमवत् खण्ड कामाख्या कौशिकी गण्डकी प्रकरण ४५औँ अध्यायमा नीलकण्ठ उत्पत्तिबारे व्याख्या गरिएको छ, तर त्यहाँ यस क्षेत्रको कुनै प्रसङ्ग भेटिन्न । हालको देवीघाट भैरवेश्वरमा झर्ने झर्झरावतीलाई देवदारू पर्वतबाट झरेको झरना भनी उल्लेख गरिएको छ । त्यो पर्वत तादी (सूर्यमती) नदीको दक्षिणतर्फको पर्वत हो । कतिपय विद्वान्ले चम्पकेश्वर भन्ने तर्क अगाडि सारेका छन्, तर त्यसमा सत्यता भेटिँदैन । चम्पकेश्वर ब्रह्म तीर्थ, बज्र पर्वत हालको चित्लाङमा पर्छ ।
‘(वि.सं. १९५२–२०३१) का हजुरबुबाले चिर्केश्वर महादेव भन्नुहुन्थ्यो, तर २००४ सालमा जन्मिएका माइलाबाले सिमलदीपका महादेव भन्दै धुपधुवाँर गर्ने गरेको देखेको सुनेको हो,’ अध्येता रामप्रसाद नेपालले भने । जतिबेला चिर्केश्वर क्षेत्रमा नापी सर्भे भएको थियो त्यतिवेला झिल्टुङ गाउँ पञ्चायतमा १३ वर्ष वडाध्यक्ष तथा ६ महिना कार्यवाहक प्रधानपञ्चसमेत भएका प्रेमनाथ दाहाल (हाल ९२ वर्ष) नै वडाध्यक्ष थिए । त्यो स्थान चिर्केश्वर नै भएको उनको जिकिर छ । जिल्ला पञ्चायतका पूर्वसभापति लुमणीप्रसाद गजुरेललाई पनि चिर्केश्वरलाई चिम्टेश्वर बनाइएको चित्त बुझेको छैन । उनी पनि चिर्केश्वरलाई चिम्टेश्वर भनिएकामा चिन्ता जाहेर गर्छन् ।
यस क्षेत्रको गुठी थियो वा थिएन ? त्यही नाममा गुठी खर्क थिए वा थिएनन् ? वा मासिएर गए ? यो खोजीको विषय छ । तर, न बाबुबाजेले पाइला टेके, न त छोराबुहारीले जग्गा देखे । त्यस्ता दरबारियाका नाममा सिङ्गै गाउँ बिर्ता रहनाले दरबारिया शक्तिका आडमा गुठीमाथि अतिक्रमण गरी बिर्ता कायम गरेको अनुमान गर्न सकिन्छ । यस क्षेत्रको झिल्टुङ–५ का अधिकांश जग्गा राज्यलक्ष्मी शाहको बिर्ताका रूपमा छ । महेश खोला र त्रिशूली नदीबिचको यो उच्च पहाडी क्षेत्र हो । यो शिरको देवता हो, आस्थाको केन्द्र हो । महादेवफाँट र महादेवबेँसी दुवै नदी किनार यसका साक्षी छन् । शिव आदिम समाजका जग हुन् । उनी आदिम मानव थिए कि काल्पनिक भगवान् ? खोज–अनुसन्धानको विषय मानवशास्त्र र समाजशास्त्रको क्षेत्रमा रहेको पाइन्छ ।
भौगोलिक पक्ष : चिर्केश्वर महादेवस्थान नुवाकोट जिल्लाको साबिक बेलकोट, कुमरी, जिलिङ तथा दुईपिपल गाविसको सिमानामा पर्ने ऐतिहासिक, धार्मिक, पुरातात्विक एवम् पर्यटकीय महत्वको क्षेत्र हो । उक्त स्थानबाट गणेश, लाङटाङ, जुगल, दोर्जेलाक्पा आदि हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । यहाँबाट काठमाडाँै उपत्यकाका तीनै सहर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, धादिङ, दोलखा, मकवानपुर, रसुवा, चितवन र गोरखाको समेत दृश्यावलोकन गर्न सकिन्छ । चिर्केश्वर शिवलिङ्ग रहेको स्थान दुईपिपल गाविस तत्कालीन झिल्टुङ पञ्चायतको हो । हालको वनभोज टहरो, पोखरी र सिँढी बनेको स्थान बेलकोट गाविसको हो र भ्युटावर बनेको स्थान कुमरी गाविसको हो । हाल निर्माण भएको खानी तथा भूगर्भ विभाग र नापी विभागका अनुसार २०२७ सालदेखि देशका १० स्थानमा राखिएको भूगर्भ मापन यन्त्र यहाँ पनि राखिएको छ । यो पहाड एउटा संवेदनशील चट्टानी क्षेत्रमा रहेको अनुमान गर्न सकिन्छ ।
मौलिक, जैविक र वातावरणीय पक्ष : यो क्षेत्र समुद्री सतहबाट दुई हजार एक सय मिटरको उचाइमा रहेको जङ्गल क्षेत्र हो । यहाँ जडीबुटी, लोपोन्मुख पशुपन्छी, चराचुरुङ्गी तथा पुतली पाइन्छन् । पाँचऔँले, चिराइतो, पाषणवेदजस्ता जडीबुटी तथा सालक, गोहोरो, मृग, बँदेललगायत वन्यजन्तु पाइन्छन् । यस क्षेत्रमा सेवामूलक उद्यम सञ्चालन र वातावरणीय असरको न्यूनीकरण गर्नु जरुरी छ । यो एक योग साधना केन्द्रका रूपमा विकास हुन सक्छ जुन आज सांस्कृतिक अतिक्रमणको चपेटामा परेको छ, मौलिकतामाथि हस्तक्षेप भएको छ । हामीले जैविक पदमार्ग, शिवपुरी, ककनी हुँदै यही क्षेत्रसम्मको दिगो योजना किन सोच्न सकेनौँ । हामीले आज यो क्षेत्रलाई कङ्क्रिट सभ्यतारहित क्षेत्रका रूपमा वन–वातावरणको संरक्षण र पानीका मुहान संरक्षण गर्नु जरुरी छ । यो राष्ट्रिय वनक्षेत्र अतिक्रमणका मारमा परेको छ ।
पञ्चासेको सिँचाइ डबलीसम्म लैजाने योजना निकै समयसम्म विकासको नारा भयो । अहिले पञ्चासे बिसौलेकोे पानी डडुवा अच्मारासम्म पुग्दैन । बिसौले खोलाको कुलाबाट कुमरी झ्याङ्ली पोखरीसम्म कुलामा पानी लैजाने पुस्ता नमासिँदै पानी कुलामा बगेर त्यहाँ पुग्न सक्दैन । यसरी क्रमशः बढेको आवधिक र स्रोतको विलोपले निम्त्याउने वातावरणीय सङ्कटलाई नजरअन्दाज गर्न नमिल्ने बताउँछन् सामाजिक अभियन्ता नारायण नेपाल । सिमेन्ट र बालुवा नघसी विकास हुँदैन भन्ने मान्यता अहिलेको आममानसिकता हो । के हामी जङ्गल, गल्ली, गोरेटामा वातावरणमैत्री जैविक पदमार्ग निर्माण गर्न सक्छौँ ? यहाँ जनतालाई वन्यजन्तु पालन नट प्रजातिको बिरुवा तथा चिया र जडीबुटी खेतीतर्फ लैजाने हाम्रो प्राथमिकता के हो, त्यो निर्धारण गर्नु जरुरी रहेकोसमेत उनले बताए । यी सबैको समाधान गर्ने अभियान यस क्षेत्रको पर्या–पर्यटन नै हो । उनले भने, ‘हामी देउराली, झिल्टुङ, बोर्लाङ, वरतुङ, गोपाले भञ्ज्याङ, नुनचौर डाँडा, भट्टबारी, चौर, गोठाली चौतारा, बाघखोर वैद्य वनलगायत क्षेत्रको मौलिकतामाथिको अतिक्रमणलाई नियन्त्रण गर्न सक्छौँ ।’
कानुनी जटिलता : बेलकोटगढी नगरपालिकाको पहलमा बनेको क्षेत्र विकास समिति ‘घर न घडेरी, घरबार न दरबार’ भनेजस्तो छ । यो वनक्षेत्रको पर्यावरण र जैविक विविधता नेपालको प्रचलित संविधानअनुसार तीनै तहको साझा अधिकार क्षेत्रमा पर्छ । स्थानीय सरकारले आफ्नो अधिकार क्षेत्र नपरेका ठाउँमा कसरी एकलौटी क्षेत्र विकास समिति गठन गर्न सक्छ ? यो एकप्रकारको संस्थागत अतिक्रमण नै हो । वन ऐन, २०४९ ले राष्ट्रिय वन अतिक्रमणबारे प्रस्ट रूपमा उल्लेख गरेको छ । सोअनुसार धार्मिक, सामाजिक एवम् सांस्कृतिक उद्देश्यले गरिएको अतिक्रमणका रूपमा यस्ता गतिविधिलाई लिन सकिन्छ । यस्तै, कानुनी जटिलताले र स्वामित्वको प्रश्नले हालसम्म भ्युटावरको स्वामित्व हस्तान्तरण हुन सकेको छैन । तर, निर्माणको पहल भने प्रदेशको वन तथा वातावरण मन्त्रालयले लिएको थियो । विकास समिति ऐन, २०१३ का आधारमा टेकेर नगर कार्यपालिकामा प्रस्ताव भएको चिम्टेश्वर क्षेत्र विकास समिति ऐन, २०८० को भविष्य के होला ?
संरक्षण र प्राथमिकता : पछिल्लो समय सामूहिक पहल स्थानीय सरोकारवालाबाट २०६८ कात्तिक २३, २४ र २५ गते महोत्सव गरेर थालनी भएको हो । यो संरक्षण हो कि अतिक्रमण हो ? बहस जरुरी देखिन्छ । संरक्षण र संवद्र्धनका नाममा अतिक्रमणको थालनी यहीँबाट भएको छ । वातावरणीय वा जैविक पक्ष होस् कि संस्कृति, यही नाममा अतिक्रमणको सिकार भएको छ । विभिन्न बहानामा यहाँको मौलिकता र जैविकतामाथिको अतिक्रमण मात्रै होइन, प्रदूषणसमेत उल्लेख्य मात्रामा वृद्धि भएको छ । सामरिक महत्वको यस क्षेत्रमा आर्थिक, राजनीतिक स्वार्थको रोटी सेक्ने अभियानले क्षेत्रको मौलिकतालाई ओझेल पारेको छ । प्रचारात्मक योजना पहिलो प्राथमिकतामा रहनु जरुरी हुन्छ । हरेक योजनामा रहने लगानी र आम्दानीको लेखाजोखा हुनुपर्छ । यहाँको प्राथमिकता पूर्वाधार निर्माण हो । सडक, बिजुली, आवास, पदमार्ग हो । यस्तो योजना, आवश्यकता र प्राथमिकताको सवाल हो । दुई हजार दुई सय मिटर उचाइमा रहेको चिम्टेश्वर क्षेत्रमा रु. दुई करोड ७४ लाख ३८ हजार सात सय ६८ मा बनेको भ्युटावर किन चाहियो ? हाम्रो प्राथमिकता के हो, आवश्यकता के हो, हामीले बहस गर्ने हिम्मतै गरेनौँ । स्थानीय सरकारलाई पैसा खर्च गर्न मेलोमेसो धेरै हुन्छ । तर, आम्दानी संस्थागत कसरी हुन्छ ? त्यो महत्वपूर्ण पक्ष हो । विकास र योजनाको प्रतिफल के–कति छ, यहाँ मान्छे १० हजार आए, तर पैसा कति आयो, स्थानीय सरकारले कति राजस्व पायो र नागरिकले के आम्दानी पाए, लेखाजोखा गर्नु जरुरी छ ।
प्रतिक्रिया