विदुर । राष्ट्रियस्तरमा बहस र चर्चा चलेको नुवाकोट, विदुर-२ को ऐतिहासिक शेरा दरबार र त्यसले चर्चेको एक सय ६४ रोपनी जग्गा नेपाल सरकारका नाममा ल्याउने प्रक्रिया सरकारका कारण जटिल बन्दै गएको छ । तीन महिनादेखि चर्चामा रहेको अन्नपूर्ण फार्मिङका नाममा रहेको दरबार र जग्गा सरकारीकरण गर्न सरकारले केन्द्रबाट गर्नुपर्ने प्रक्रिया जिल्लामा पठाएर पन्छिएको आरोप सरोकारवालाले लगाएका छन् ।
राष्ट्रिय सरोकारको सो दरबार र जग्गा सरकारका नाममा ल्याउन नदिन राजनीतिक दबाबसमेत परेको छ । सरकार र राजनीतिक दबाब थेग्न नसकेर नुवाकोटका दुई मालपोत अधिकृत सरुवा मागेर गइसकेका छन् । एक महिनाअघि सरुवा गरिएका मालपोत अधिकृत देवीबहादुर भण्डारीले भने यसमा कानुनी प्रक्रिया अगाडि बढाएका छन् । मालपोत प्रमुखले दुई हप्ताअघि सात दिनको म्याद दिएर दरबार र जग्गा सरकारका नाममा फिर्ता ल्याउन अन्नपूर्ण फार्मिङलाई पत्राचार गरेका थिए । फार्मिङ वा कम्पनीले पत्र बुझेर कार्यालयलाई जवाफ फर्काएको छ । कम्पनीका सञ्चालकले फर्काएको जवाफमा हेलेन शाह र विजयलक्ष्मी शाहका नामको जग्गा खोज्न चुनौती दिएका छन् । शेरा दरबार र त्यसले चर्चेको जग्गा सरकारका नाममा फिर्ता ल्याउने क्रममा मालपोत कार्यालयले सोधेको स्पष्टीकरणको जवाफ दिने क्रममा उनीहरूले यस्तो चुनौती दिएका हुन् । पूर्वराजपरिवारकी सदस्य हेलेनका नाममा दर्ता गरिएको अन्नपूर्ण फार्मिङ आफूहरूले किनेकाले आफूहरूका नाममा रहेको हदबन्दीभन्दा बढी जग्गा खोज्न उनीहरूले राज्यलाई चुनौती दिएका हुन् । ‘शाह परिवारको हदबन्दीभन्दा बढी रहेको जग्गा खोजबिन होस्,’ उनीहरूले भनेका छन् ।

सरकारले दुई हप्ताअघि माडी दरबार र त्यसले चर्चेको जग्गा फिर्ता ल्याउने तयारीका क्रममा अन्नपूर्ण फार्मिङका सञ्चालकलाई स्पष्टीकरण सोधेको थियो । ‘यो जग्गा हामीले कानुनसम्मत भोगचलन गर्दै आएका छौं। हेलेन शाह र विजयलक्ष्मी शाहका नाममा रहेको कम्पनी खरिद गरिएको हो । उनीहरूका नाममा रहेको अन्य जग्गा खोजबिन होस् । यो हामीले किनेका हौँ, ’सञ्चालकहरूले दिएको स्पष्टीकरणमा उल्लेख छ । त्यस विषयमा मालपोत कार्यालय नुवाकोटले यही चैत १८ गतेसम्म तारेख तोकेको छ । साथै मन्त्रालयमा त्यसको जानकारी गराई जग्गा फिर्ता ल्याउने विषयमा केही निर्देशनसमेत माग गरिएको छ । मालपोत कार्यालयले फार्मिङका सञ्चालक विकेश श्रेष्ठलाई सरकारका नाममा हुनुपर्ने उक्त जग्गा के–कति कारणले फार्मिङका नाममा गएको हो र कसरी भोगचलन गरिएको हो भन्ने प्रश्न गर्दै स्पष्ट पार्न भूमिसुधारसम्बन्धी सङ्क्षिप्त कार्यविधिअनुसार म्याद दिएर पत्राचार गरेको थियो । उनीहरूले गत हप्ता नै जवाफ बुझाइसकेको मालपोत कार्यालयका एक कर्मचारीले नाम सार्वजनिक नगर्ने सर्तमा जनाएका छन् । ती कर्मचारीले भने, ‘शेरा दरबार र त्यसका नाममा रहेको जग्गा के–कसरी कम्पनीका नाममा भएको हो भन्नेबारेमा स्पष्ट पार्नुपर्नेमा सञ्चालकले गोलमटोल जवाफ दिएर यस प्रकरणलाई थप जटिल बनाइदिएका छन् ।’
दरबार–जग्गा प्रकरण यतिखेर केही सेलाएजस्तो देखिए पनि नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भूमि व्यवस्था विभागले थप अनुसन्धान गरिरहेको मन्त्रालयका एक अधिकृतले बताएका छन् । माथिबाट टुङ्ग्याउनुपर्ने सो प्रकरण मन्त्रालयले जिल्लातिर पठाइदिएर सामसुम पार्न खोजिरहेको आरोप नुवाकोटवासीले लगाएका छन् । मालपोत कार्यालयका कर्मचारी यस विषयमा केही बोल्ने र केही गर्न नसक्ने अवस्थामा छन् । सो विषयमा सोधखोज र चासो नराखिदिन कार्यालयका कर्मचारीले त्यहाँ पुग्ने पत्रकार र नागरिक अगुवालाई अनुरोध गर्ने गरेका छन् । शेरा दरबारको जग्गा निजी कम्पनीका नाममा बनाइएको समाचार पहिलोपटक ‘त्रिशूली प्रवाह’ साप्ताहिकले गत कात्तिक २२ गते प्रकाशन गरेको थियो । ‘माओवादीले २३ वर्षअगाडि जलाएको शेरा दरबारको स्वामित्व खोज्दै सरकार’ शीर्षकमा मुख्य समाचार बनाइएपछि यसको चर्चा र चासो बढेको थियो । गत कात्तिकको दोस्रो हप्ता सङ्घीय सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले नुवाकोट आएर शेरा दरबारको अनुगमन गरेर मालपोत र नापी कार्यालय प्रमुखसँग छलफल गरी त्यससम्बन्धी कागजपत्रको फाइल लिएर गएका थिए ।

नुवाकोट मालपोत कार्यालयका यसअघिका मालपोत अधिकृतलाई सो जग्गा सरकारका नाममा ल्याउन नदिन राजनीतिक दबाब दिइएको थियो । अहिलेका कार्यालय प्रमुखले सरकारका नाममा उक्त जग्गा ल्याउन कानुनसम्मत प्रक्रिया मन्त्रालय र विभागसँग समन्वय गरेर अगाडि बढाएका छन् । नुवाकोट मालपोत कार्यालयका प्रमुख देवीबहादुर भण्डारीले सातदिने म्याद जारी भएको स्वीकार गरेका छन् । ‘उहाँहरूले आफैँ आई पत्र लिएर जवाफ पनि पठाइसक्नुभएको छ । के भएको हो, थप बुझ्ने काम भइरहेको छ,’ मालपोत अधिकृत भण्डारीले भने । उनले यस विषयमा थप केही बताउन चाहेनन् । सरकारले उक्त जग्गा सरकारका नाममा फिर्ता ल्याउन नुवाकोट मालपोत कार्यालयलाई जिम्मा दिएको छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पूर्वस्वकीय सचिव र सोही दलका पूर्वकेन्द्रीय सदस्य विकेशका नाममा रहेको अन्नपूर्ण फार्मिङले कृषि प्रयोजनका लागि शेरा दरबारको जग्गा आफ्ना नाममा बनाएको छ । शेरा दरबार जग्गा प्रकरणमा दाहालको संलग्नतासमेत रहेको कुरा बाहिर आएपछि उनले यसमा आफ्नो संलग्नता नभएको र राज्यका नाममा फिर्ता ल्याउन सहयोग गर्ने बताएका थिए ।
स्रोतका अनुसार वि.सं. २०७९ पुसमा सिआइबीले सो जग्गाको अनुसन्धान गर्न खोज्दा दाहालले रोकेपछि प्रक्रिया अघि बढेको थिएन । त्यसवेला दाहाल प्रधानमन्त्री थिए । पछिल्लो समय सिआइबीले राष्ट्रवादी युवा समूहका नामबाट उजुरी लिएर अनुसन्धान सुरु गरेको हो । अनुसन्धानपछि सिआइबीले शेरा दरबारले चर्चेको जग्गा सरकारका नाममा ल्याउन सिफारिस गरिसकेको छ । उक्त जग्गा कम्पनीका नाममा बनाउने र किनबेच गराउने समूहको पहिचानका लागि सिआइबीले थप अनुसन्धान अघि बढाएको छ । उक्त जग्गालाई राज्यका नाममा ल्याउन नुवाकोट मालपोत कार्यालयका तत्कालीन मालपोत अधिकृतलाई दबाब दिइएपछि उनी सरुवा मागेर हिँडेका थिए । अहिले पनि अन्नपूर्ण फार्मिङलाई गरिएको पत्राचार र जवाफलाई गुपचुप राख्न खोजिएको छ । यस विषयमा मालपोत कार्यालयका कोही पनि कर्मचारी बोल्न चाहेका छैनन् । ‘यो जग्गा सरकारका नाममा ल्याउन कर्मचारी तहबाट कठिन बनाइएको अवस्था छ, कर्मचारीलाई काम गर्ने वातावरण नै छैन,’ मालपोत कार्यालयका एक अधिकृतले भने । सुरु नापीमै कैफियत गरी सरकारी जग्गा अन्नपूर्ण फार्मिङका नाममा लगिएको थियो । सुरुमा सो जग्गा गौरीशङ्कर फार्मिङका नाममा दर्ता भएको र पछि नामसारी गरी अन्नपूर्ण फार्मिङका नाममा ल्याइएको स्रोतको दाबी छ । वि.सं. २०३५ फागुन १२ गते शेरा दरबार र त्यसले चर्चेको कित्ता नम्बर ८२, ८३, ८४, ८७, ८८, ८९, ९०, ९२, ९३, ९४, ९५, ९७ र ९८ गौरीशङ्कर फार्मिङका नाममा नापी भएको थियो । हदबन्दी लागू हुनुअघि शेरा दरबार र त्यसले चर्चेको जग्गा तत्कालीन राज महेन्द्रका भाइ अधिराजकुमार वसुन्धराकी पत्नी हेलेन र विजयराज्यलक्ष्मीका अंशमा पर्न गएको थियो । हदबन्दी लागू भएपछि सो जग्गा व्यक्तिका नाममा नापी हुन नसकेर वि.सं. २०२७ फागुन २८ मा स्थापित गौरीशङ्कर फार्मिङका नाममा गराइएको थियो ।
वि.सं. २०५२ मा सो जग्गा गौरीशङ्करबाट अन्नपूर्ण फार्मिङका नाममा आएको थियो । त्यतिवेला अन्नपूर्ण फार्मिङका सञ्चालक नरेन्द्रलाल प्रधान, केदारनाथ श्रेष्ठ, सजनी श्रेष्ठ र सोहिनी श्रेष्ठ थिए । सोही फार्मिङमा वि.सं. २०७३ मा विकेश सेयर सदस्य भएका थिए । वि.सं. २०५२ मा हेलेन र जयन्तीका नाममा रहेको उक्त कम्पनीको सम्पूर्ण सेयर प्रधान, केदारनाथ, सजनी र सोहिनीका नाममा हस्तान्तरण भएको थियो । त्यसपछि वि.सं. २०७३ असार ३ मा सेयर दाखिला खारेजीको निर्णयले विकेशका नाममा पाँच लाख ६७ हजार पाँच सय कित्ता सेयर रु. पाँच करोड ६७ लाख ५० हजारमा किनबेच भएको देखिन्छ । त्यसैगरी अजयकुमार सूर्यवंशीका नाममा पनि चार लाख ६० हजार चार सय १० कित्ता सेयर रु. चार करोड ६० लाख ४१ हजारमा किनबेच भएको देखिन्छ । त्यस्तै, नुवाकोट, विदुर– ४ निवासी ध्रुवलाल श्रेष्ठका नाममा सेयर कित्ता रु. ४५ हजार ४५ लाखमा किनबेच भएको देखिन्छ । यसैगरी, काठमाडौँ, नागार्जुन-७ बस्ने सुमन पारिकका नाममा सेयर कित्ता रु. ४५ हजार ४५ लाखमा किनबेच भएको देखिन्छ । यी चारजनाका नाममा ११ करोड १७ लाख ९१ हजार सेयर खरिद–बिक्री भई जग्गा कम्पनीका नाममा लगेको देखिन्छ । गत वर्ष मङ्सिर १० गतेसम्म उनीहरूमध्ये विकेश र अजय यथावत् रही विकेशका छोरा मनोबल श्रेष्ठका नाममा रु. ९० लाखमा ९० लाख सेयर कित्ता बनाएर उनलाई नयाँ सेयरधनी बनाइएको थियो । हाल यसका सेयरधनी तीनजना मात्र छन् । वि.सं. २०२१ मा भूमिसुधार ऐन आएपछि हदबन्दीका कारण व्यक्तिका नाममा नापी हुन नसकेपछि सो जग्गा गौरीशङ्कर फार्मिङको नाममा नापी गराइएको थियो । सुरुमै सरकारका नाममा रहेको जग्गा किन गौरीशङ्कर वा अन्नपूर्ण फार्मिङका नाममा पुग्यो भन्नेबारे भूमि मन्त्रालय र सिआइबीले खोतलेको थियो । शेरा दरबारको जग्गा गौरीशङ्कर फार्मिङका नाममा नापी भए पनि त्यसका सञ्चालक र सेयरधनी हेलेन र विजयाराज्यलक्ष्मी नै थिए । गौरीशङ्कर फार्मिङ नामक संस्था वि.सं. २०३६ असार १ को निर्णयपछि अन्नपूर्ण फार्मिङमा परिणत भएको देखिन्छ । वि.सं. २०४४ असार ११ गतेको तोकआदेशले मालपोत कार्यालयको स्रेस्तामा गौरीशङ्करलाई काटेर अन्नपूर्ण फार्मिङ उल्लेख गरिएको थियो । वि.सं. २०५२ सम्म विजयाराज्यलक्ष्मीका नाममा रहेको उक्त कम्पनीको सेयर जयन्तीका नाममा गएको देखिन्छ ।
सरकारले शेरा दरबारको जग्गा कम्पनी र व्यक्तिका नाममा गएको पाइएपछि अनुसन्धान सुरु गरेको थियो । सिआइबीले थप अनुसन्धान प्रक्रियाका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि पत्राचार गरिसकेको छ । पृथ्वीनारायण शाहका समयमा राजा गर्मी महिनामा नुवाकोट डाँडास्थित साततले दरबार र जाडो महिनामा तादी किनारमा रहेको शेराबेँसी दरबारमा बस्ने गरेको इतिहास छ । पृथ्वीनारायणको मृत्युपछि बेलायती राजदूत कर्क प्याट्रिक नुवाकोट भ्रमणमा जाँदा पनि बहादुर शाहसँग यसै दरबारमा भेट गरेका थिए । वि.सं. १८९७/०९८ तिर राजा राजेन्द्र तथा रानी साम्राज्यलक्ष्मी नुवाकोट भ्रमणमा जाँदा यसै दरबारमा बसेको बताइन्छ । वि.सं. १९०३ मा शीतकालीन दरबार भत्किएको थियो । त्यसको धेरै वर्षपछि नुवाकोट भ्रमणमा जाँदा जुद्धशमशेरले भग्नावशेषका रूपमा रहेको दरबारबारे बुझ्न खोजेको इतिहासकार बताउँछन् । तत्कालीन श्री ३ जुद्धले राजा पृथ्वीनारायणको शीतकालीन दरबारको भग्नावशेष हो भनेर जानकारी पाएपछि तत्कालै पुरानो दरबारजस्तै दरबार बनाउन आदेश दिएका थिए । त्यसवेला पुरानो दरबार देख्ने कोही नभेटेको र पुरानो दरबारको कुनै चित्र पनि नभएकाले शेराफाँटको भव्यता तथा दरबारपरिसरबाट मोहित जुद्धले आफ्नै अनुमानमा दरबार बनाएको इतिहासकारको जिकिर छ । दरबार बनाउँदा सोही पुरानो दरबारको भग्नावशेषमा रहेका इँटाको उपयोग गरिएको थियो ।
प्रतिक्रिया